कच्चा वस्तु उत्पादनमा प्रयोग हुने वस्तुमा कर कटौती गर्न माग

काठमाडौँ । उद्योग संगठन मोरङले कच्चा पदार्थ उत्पादनमा प्रयोग हुँदै आएका वस्तुमा लगाउँदै आएको कर कटौती गर्न आग्रह गरेको छ । बजारमा उपभोग्य वस्तुको मूल्य बढ्न नदिई उपभोक्तालाई राहत दिन वस्तु उत्पादनका लागि प्रयोग हुने कच्चा वस्तुको उत्पादनमा कर कटौती गर्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको भन्दै संगठनले सरकारसँग यस्तो आग्रह गरेको हो ।

उत्पादन र आपूर्ति ऋङ्खलालाई निरन्तरता दिई आपूर्ति व्यवस्था सहज नहुन्जेलसम्मका लागि त्यस्ता करमा कटौती गर्नुपर्ने संगठनले बताएको छ ।

दैनिक उपभोग्य विदेशी वस्तुसँग प्रतिस्पर्धाका लागि समेत सरकारले त्यस्तो छुटको नीतिगत व्यवस्था तत्काल ल्याउन संगठनले माग गरेको छ ।

रुस र युक्रेनबीच जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य उकालो लागिरहेको डलरको बढ्दो विनियम दरका कारण खानेतेल, उपभोग्य वस्तु, खाद्यसामाग्री, निर्माण सामाग्री लगायतको अन्य वस्तुको मुल्य निरन्तर उकालो लागिरहेको भन्दै संगठनले यस्ता वस्तुमा कर छुटको व्यवस्था गर्न माग गरेको हो ।

संगठनले जारी गरेको विज्ञप्तीमा भनिएको छ– ‘खाने तेल उत्पादन गर्ने उद्योगहरुको मुख्य कच्चा पदार्थका रुपमा रहेको क्रुड सोयावीन तेल, क्रुड सनफलावर तेल, क्रुड पाम आयल र तोरिको दाना ब्राजिल, अर्जेन्टिना, क्यानाडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुबाट यसअघि जनवरी २०२२ मा यु. एस. डलर १५२५ मा प्रति मेट्रिकटनमा आयात भइरहेकोमा हाल आएर यु.एस. डलर २१२५ सम्म खर्च गर्नुपरिरहेको छ । ईन्धनमा भइरहेको मूल्य वृद्धिले तेश्रो मुलुकदेखि उद्योग परिसरसम्मको ढुवानी भाडाका साथै वढदो वैंक व्याज दरले उद्योगहरुको वस्तु उत्पादन लागत निरन्तर वृद्धि भइरहेको छ ।’

देशका अधिकांश स्वदेशी उद्योगहरु विदेशी कच्चा पदार्थ निर्भर रहेकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा उतार चढाव आउँदा त्यसको प्रत्यक्ष प्रभाव स्वदेशी उद्योगको उत्पादनमा पर्ने गरेको संगठनको भनाइ छ ।

‘कच्चा पदार्थको आयातमा वढ्दो लजिस्टिक कष्ट, ब्याजदरमा भइरहेको वृद्धि, चालु पूँजीको अभावबाट उत्पादनमूलक उद्योगहरुमा सिर्जित समस्या र हरेक क्षेत्रलाई महगाईले पिरोलेको समयमा केवल एक क्षत्रलाई मात्र दोषारोपण गर्नु न्यासंगत देखिँदैन,’ संगठनले भनेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *