प्रकाश सपूतलाई लेखक संघको बधाई, धम्की दिनेलाई चेतावनी

काठमाडौँ । नेपाली लेखक संघले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आह्वान गरेको छ । सर्जक प्रकाश सपूतको गीतलाई लिएर भइरहेको तर्क वितर्कबारे ध्यानाकर्षण भएको जनाउँदै संघले यस्तो आह्वान गरेको हो ।

संघले आज विज्ञप्ति जारी गर्दै समकालीन नेपाली समाजको यथार्थ चित्रलाई समाजबोध्य हुने गरी ‘पिर’मार्फत प्रस्तुत गरेकोमा सपूत तथा सिङ्गो उत्पादन समूहलाई बधाई ज्ञापन गरेको छ । ‘नेपाली लेखक संघ अभिव्यक्ति, विचार तथा लेखकीय स्वतन्त्रता पक्षधर सर्जकहरूको मूल तथा साझा संस्था भएका कारण सर्जकका हरेक सिर्जनाहरू मूल्यवान् हुन्छन्,’ संघका संयोजक डा. रत्नमणि नेपाल र सदस्य-सचिव नवीनचन्द्र घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सिर्जनाका माध्यमबाट आफ्ना तथा समाजका विषयलाई चित्रित गर्न पाउनु हरेक सर्जकका लागि संविधान प्रदत्त हक छ भन्ने मान्यता राख्दछ ।’

गीतलाई निषेध गर्न खोजिएकोप्रति भर्त्सना गर्दै संघले निषेधात्मक व्यवहार नगर्न आव्हान गरेको छ । ‘गीत सिर्जना तथा गीतभित्र भएका कथा तथा यथार्थतालाई आधार मानेर गायक तथा कलाकार प्रकाश सपूत, कलाकार तथा सम्बद्ध उत्पादन समूहमाथि गर्न खोजिएको यस्ता किसिमका निषेध प्रयासको हामी घोर भर्त्सना गर्दै आगामी दिनमा यस्ता किसिमका निषेधात्मक व्यवहार नगर्न आव्हान गर्दै थप निषेध नगर्न चेतावनी समेत दिन चाहन्छौँ,’ विज्ञप्तिमा अगाडि भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 13 =