चैतमा बैंकको ब्याजदर यथावत् रहने

काठमाडौँ । चैत महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर यथावत् रहने भएको छ । नेपाल बैंकर्स संघले चैत महिनाका लागि ब्याजदर यथावत् राख्ने निर्णय गरेको हो । संघले फागुन महिनाकै ब्याजदरलाई चैतमा निरन्तरता दिने भएको हाे । अघिल्लो महिनाको ब्याजदर चालू महिनाको मसान्तभित्रै सार्वजनिक गर्नुपर्ने राष्ट्र बैंकको प्रावधान अनुसार बैंकहरुले उक्त निर्णय सार्वजनिक गरेका हुन् ।
फागुनमा बैंकहरुले साधारण मुद्दती निक्षेपमा अधिकतम ब्याज ११.०३ प्रतिशत र संस्थागत मुद्दती निक्षेपकर्ताका लागि १०.०३ प्रतिशत तोकेका थिए । रेमिटेन्स पठाउनेले भने १२.०३ प्रतिशत ब्याज पाउने गरी ब्याजदर कायम गरिएको थियो । सोही व्याजदर चैत महिनाका लागि पनि लागु गर्ने संघले निर्णय गरेको हो ।
निक्षेपको ब्याजदर बढाउँदा आधारदरमा वृद्धि हुन्छ । यसले कर्जाको व्याजदर समेत सोही अनुपातमा बढ्ने गर्छ । यसले बैंकबाट ऋण लिने ऋणीहरुलाई मर्का पार्छ । हरेक ३÷३ महिनामा आधार दर सार्वजनिक गर्नुपर्ने नियम छ ।
फागुन महिनामै ब्याजदरको उच्च वृद्धि गरिएको भन्दै यसको चौतर्फी विरोध भएको थियो । बैंकहरुले भने सो ब्याजदर घटाएका छैनन् । चर्को विरोधका कारण ब्याजदर नबढाउने निर्णय गरेका हुन् ।
बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी(तरलता) अभाव चुलिएपछि राष्ट्र बैंकले नै बैंकहरुलाई ब्याजदर बढाउन निर्देशन दिएको थियो । त्यसपछि बैंकहरुले संस्थागत निर्णय गरेर नै ब्याजदरको अधिकतम सीमा निर्धारण गरेका थिए ।
विकास बैंक र फाइनान्स कम्पनीहरुको संगठनले पनि ब्याजदर नबढाउने र यथावत् राख्ने निर्णय गरेका छन् ।
निक्षेप संकलनको तुलनामा बैंकहरुले अत्यधिक कर्जा वृद्धि गरेपछि गत असोजदेखि नै बैंकमा तरलता अभाव चुलिएको हो । यसले हाल बैंकहरु सानो ऋण दिन समेत हिचकिचाइरहेको अवस्था छ ।
बैंकिङ प्रणालीमा तरलता अभावकै कारण राष्ट्र बैंकले मार्जिन लेन्डिङ जस्ता कर्जा प्रवाह, आयातमा हुने कर्जा प्रवाहलगायतमा कडाइ गरिरहेको छ ।









