रसुवागढी नाकाबाट दैनिक १४ कन्टेनर नेपाल भित्रिने
नेपालतर्फको निर्यात सहज बनाउन चीन सहमत, मंगलबारदेखि दैनिक १४ कन्टेनर भित्रिने

काठमाडौँ । नेपाल–चीन वैदेशिक ब्यापारमा प्रयोग हुँदै आएको रसुवागढी नाकाबाट हुने नेपालतर्फको आयात सहज बनाउने विषयमा नेपाल र चीनका अधिकारीहरु सहमत भएका छन् । शुक्रबार भएको भर्चुअल छलफलमा यसतो सहमति भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले मकालु खबरलाई बताए ।
‘नेपालतर्फ भइरहेको आयात सहज बनाउने सहमति उक्त छलफलमा भएको छ,’ प्रजिअ जैसीले भने । उनका अनुसार हाल उक्त नाकाबाट दैनिक ९ ओटा कन्टेनर नेपालतर्फ भित्रिने गरेको छ । तर, सहमतिपछि १५ मार्च अर्थात् आउँदो मंगलबारदेखि दैनिक १४ ओटासम्म कन्टेनर नेपाल भित्रिन सहयोग गर्न चिनियाँ पक्ष सहमत भएको छ ।
वातामा चीनतर्फ ची लोङ काउन्टिका मेयर ता छोनको नेतृत्वको टोली बसेको प्रजिअ जैसीले जाककारी दिए । ‘यो नियमित छलपल नै हो लामो समयदेखि हुन नसकेकोले अहिले भएको हो,’ उनले भने, ‘कोभिड–१९ को प्रभाव नेपाल र चीनमा न्युन भएको र विश्वभर नै यसको प्रभाव कम भइसकेकोले अब नाका सुचारु गर्न हामीले आग्रह गरेका थियौँ ।’
नेपाली पक्षले दैनिक २५ ओटा कन्टेनरमा सामान ल्याउन दिन आग्रह गरेको थियो । तर, चिनियाँ पक्षले दैनिक १४ कन्टेनर मात्र आउन दिने बताएको छ । तर, नेपाली पक्षको माग अनुसार निर्यात बढाउन तथा व्यापार नाका सहज गर्न चीन सरकार तयार रहेको काउन्टी मेयरले वार्तामा बताएका थिए ।
बैठकका नेपाली सामानको चीन निर्यात खुलाउनु पर्ने, केरुङमा व्यापार गर्ने नेपालीले कोभिडका कारण भोगेको समस्या समाधान गर्न सहजीकरण गर्नुपर्ने, २५ हजार मेट्रिक टन रासायनिक मल आयातको व्यवस्था मिलाउनु पर्ने, टिमुरे सुख्खा बन्दरगाह निर्माणको कामलाई तीव्रता दिनुपर्ने जस्ता एजेन्डा नेपाली पक्षले प्रस्तुत गरेको र यी विषयमा छलफल भएको उनले बताए । त्यस्तै, रसुवागढी स्याफ्रुबेसी सडक स्तरोन्नती, चोरी तरस्करी तथा अपराध नियन्त्रण जस्ता विषयमा समेत छलफल भएको छ ।
कोभिड–१९ को महामारकिा कारण २०७६ माघ १५ देखि २०७७ जेठ २२ सम्म बन्द गरिएको नाका त्यसपछि भने चीनले एकतर्फी रुपमा नेपालतर्फ केही कन्टेनर मात्रै निर्यात गर्ने गरी सञ्चालन गर्दै आएको थियो ।









