नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त

काठमाडौँ । नेपाल आयाल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले थानीलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
थानीले ४ वर्षका लागि निगमको नेतृत्व सम्हाल्ने भएका छन् । निगममा थानीको नियुक्ती भने अन्तर्राष्ट्रिय बजारमा नै तेलको भाउ उच्च भएको र नेपालमा समेत त्यसको नराम्रो असर परेका बेला भएको छ । निगमको वित्तीयदेखि संस्थागत सुधारसम्म गर्ने जिम्मेवारी थानीको काँधमा आएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्राललयले गठन गरेको कार्यकारी निर्देशक छनोट समितिले इन्जिनियर उमेशप्रसाद थानी, चण्डिकाप्रसाद भट्ट र जीवनप्रकाश सिटौलाको नाम मन्त्रालयलाई सिफारिस गरेको थियो ।
आफ्नो ३ वर्षे कार्यकाल पूरा गरी २२ पुसमा निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल बिदा भएपछि २ महिनादेखि निगम कार्यकारी निर्देशकविहीन बनेको थियो ।
पौडेल बिदा भएपछि निगमले पदपूर्तिका लागि सूचना जारी गरेको थियो । उक्त सूचना अनुसार निकगमको कार्यकारी निर्देशक बन्न १८ जनाले आवेदन हालेका थिए ।
छनोटमा परेका थानी यसअघि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्य अर्थात् सञ्चालक भइसकेका छन् । उनी नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल(सिडेन)का अध्यक्ष हुन् ।









