कोही किन आत्महत्या गर्ने निर्णयमा पुग्छ ?

दोषी व्यक्ति वा सोच मात्र कि समाज पनि ?

काठमाडाैँ । सन् २०१८ को जुलाई १ मा भारतको नयाँ दिल्लीस्थित बुरारीमा ११ जनाले सामूहिक आत्महत्या गरे । यो सुन्दै आङ सिरिङ्ग गर्ने अनि घोत्लिन बाध्य बनाउने घटनाले संसारभरिका मानिसको ध्यान तान्यो । यस घटनामा १० जनाको शव झुण्डिएको अवस्थामा र एक जनाको भुईँमा लडिरहेको अवस्थामा भेटिएको थियो ।

हत्या की आत्महत्या भन्ने प्रमाणित गर्न ३ वर्षसम्म अनुसन्धान गरेपछि सन् २०२१ को जून ११ मा अदालतले उक्त घटना सामूहिक आत्महत्या भएको फैसला गर्दै ‘केस क्लोज’ गरेको थियो । कारण खोज्दै जाँदा परिवारको जेठो छोरा ललितको मानसिक अवस्थाको कारण सामूहिक आत्महत्या भएको खुलेको थियो ।

नेपालमा पनि पछिल्लो सामूहिक आत्महत्या वा आत्महत्याका प्रयासका घटनाहरू बाक्लै सुनिन थालेका छन् । गतवर्ष दैलेखको आठबिस नगरपालिका–३ निमाइलकी सुकी बडुवाल ४ जना नाबालक सन्तानसहित २०७७ फागुन २३ गते नदीमा हाम फालिन् । जसमध्ये ५ वर्षीया रजनी बडुवालको शव १० दिनपछि कर्णाली नदीमा भेटियो । अनुसन्धानको क्रममा पारिवारिक कलह र मदिराकै कारण सुकी छोराछोरीसहित नदीमा हाम फाल्ने निष्कर्षमा पुगेको खुलेको थियो ।

त्यसअघि २०७५ चैतमा २१ मा भरतपुर महानगरपालिका १८ चनौलीमा ३२ वर्षीय माया आलेले आफ्नो १४ वर्षीय छोरी विनीता राना र १२ वर्षीय छोरा विवेकसहित एकै ठाउँमा झुण्डिएर सामूहिक आत्महत्या गरेकी थिइन् ।

यसै वर्ष पुस ३० गते डोटीमा दम्पती मृत फेला परे । शिखर नगरपालिका १ का २२ वर्षीय डिल्लीराज भट्ट र उनकी श्रीमती २० वर्षीया पशुपति भट्ट एकै ठाउँमा मृत फेला परेका थिए । अनुसन्धानको क्रममा दम्पतीले नै आत्महत्या गरेको पुष्टि भएको थियो । ती दम्पतीले प्रेम विवाह गरेको २ वर्ष मात्रै भएको थियो ।

गएको सोमबार राती काठमाडौँको नागार्जुन नगरपालिका–६ डाडापौवामा डेरामा बस्दै आएको परिवारका ५ जनाले सामूहिक आत्महत्याको प्रयास गरे । काठमाडौँको डल्लुबाट डाडापौवामा सरेका एक परिवारले सामूहिक आत्महत्याको प्रयास गरेको हो ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रहरी नायव उपरीक्षक मिलन केसीका अनुसार सामूहिक आत्महत्याको प्रयास गर्नेमा ६२ वर्षीय महिला, ३८ वर्षीय पुरुष, ३५ वर्षीया महिला, ३३ वर्षीय पुरुष र ११ वर्षीया बालिका छन् ।

डेरामा अचेत अवस्थामा भेटिएका उनीहरूमध्ये एकजनाको मृत्यु भइसकेको छ भने चारजना मनमोहन मेमोरियल अस्पतालमा उपचाररत छन् । ११ वर्षीय बालिकाको अवस्था जटिल रहेको र अन्यको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । उनीहरूले विष सेवन गरेर आत्महत्याको प्रयास गरेको डीएसपी केसीले बताए । सुसाइड नोटमा उल्लेख गरे अनुसार आर्थिक संकटको कारण सामूहिक आत्महत्याको प्रयास गरेको जस्तो देखिने र थप अनुसन्धान भइरहेको डीएसपी केसीले मकालुखबरलाई बताए ।

अनुसन्धानका क्रममा ज्यान गुमाएका व्यक्तिले डिप्रेसनको औषधी खाइरहेको, महिला क्यान्सर रोगबाट पीडित भएको र एकजना सुस्त मनस्थितिको भएको खुलेको छ ।

कोही कसरी आत्महत्या गर्ने निष्कर्षमा पुग्छ ?
९० देखि ९५ प्रतिशत आत्महत्याको प्रयास र आत्महत्याका घटना मानसिक रोगको कारणले हुने मनोविद् गोपाल ढकाल बताउँछन् । त्यसमा पनि ८० प्रतिशत आत्महत्या र आत्महत्याको प्रयास डिप्रेसनको कारणले हुने गरेको पाइएको उनको भनाइ छ ।

‘यो घटनामा पनि एकजनाको आत्महत्याको मनोविज्ञानले सबैजना आत्महत्या गर्ने स्थितिमा पुगेको देखिन्छ । किनभने विष सेवन गर्नेमध्ये एक जना बालिका छिन् । उनीमा त्यो सोच आउने कुरा सम्भव हुँदैन । एकजना आमा बुढी छिन् उनको योजना पनि होइन भन्ने धेरै ठाउँ छ । एक जना सुस्तमनस्थितिका छन् उनले यो योजना पक्कै बनाएनन् । भनेपछि डिप्रेसनको उपचार गरिरहेका व्यक्तिकै योजना हुन सक्ने सम्भावना उच्च हुन्छ ।’

डिप्रेसनले मानिसलाई मर्न प्रेरित गर्ने उनी बताउँछन् । मृतककी श्रीमती पनि चरम आर्थिक संकटको कारण तनावमा भएको कुरा सुसाइड नोटमा उल्लेख हुनुले पनि यो योजना मृतकले नै बनाएको र त्यसमा श्रीमतीलाई हामी नभएपछि आमा, छोरी र हाम्रै संरक्षणमा रहेको सुस्तमनस्थितिको मान्छेको झनै समस्या हुन्छ भन्ने हिसाबले मनाएर विष सेवन गरेको जस्तो देखिने मनोविद् ढकाल बताउँछन् । ‘यसै पनि मानसिक बिरामी मान्छे त्यसमाथि आर्थिक संकट, घरमा दीर्घरोगी जस्ता कारणले मर्न प्रेरित गरेको हो भन्न सकिने ठाउँ धेरै देखिन्छ’, उनले भने ।

मनोविश्लेषक वासु आचार्य मानिस जब कुनै मानसिक समस्यासँग जुधिरहेको हुन्छ त्यसपछि उसले कि आफू सिद्धिने भनेर सोच्छ की आफू पनि सकिन्छु यो दुःख झेल्न अरूले पनि किन बाँच्नु भन्ने भावनाले प्रेरित हुने भन्दै यो घटनामा पनि त्यही भएको बताउँछन् । सबै जनाको आत्महत्याको प्रयास भन्दा पनि एक जनाले गर्दा अरूलाई पनि समूहमा समावेश गर्ने प्रवृत्ति हुने आचार्यले बताए ।

समाज पनि दोषी छ ?
समाजशास्त्री इमाइल बुर्खाइनले आत्महत्या गर्न मानिस सामाजिक कारणबाट प्रेरित हुने आफ्नो किताब ‘सुसाइड’ मा उल्लेख गरेका छन् । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक समाजशास्त्री दिपेश घिमिरे आफू त्यो कुरासँग पूर्ण त सहमत भएको बताउँछन् । मकालुखबरसँग उनले भने, ‘मानिसलाई आत्महत्याको स्थितिमा पुर्‍याउने भनेकै सामाजिक तत्त्वहरूले हो । मानिस मानसिक समस्यामा पुग्ने भनेको पनि सामाजिक कारणले हो ।’

उनले थपे ‘मानिस आर्थिक रूपमा विपन्न हुनु वा गरिब हुने भनेकै नीतिको असफलताको कारणले हो । यहाँ सामाजिक नीति पनि जोडिएर आउँछ । कोही गरिबीको कारण आत्महत्या गर्छ भने त्यसको पहिलो जिम्मेवार उ बसेको समाज र राज्य पनि हो ।’

एउटा व्यक्तिले आफ्नो चाहना, आशा र अपेक्षाहरू पुरा होउन् र त्यसलाई समाजले स्वीकार गरोस् भन्ने चाहने र समाजले नस्विकारे ऊ आत्महत्या गर्ने स्थितिमा पुग्ने उनको भनाइ छ । काठमाडौँमा भर्खरैको सामूहिक आत्महत्याको प्रयास गरिएको घटनामा पनि आर्थिक अवस्था मुख्य कारक भएको देखिने उनले बताए ।

त्यसैले समाजमा रहेको गरिबी, विभेद जस्ता कुराले मानिस मर्ने अवस्थामा पुग्ने र तिरस्कार तथा अपमान पनि आत्महत्याको सामाजिक कारणका रूपमा रहने गरेको छ । अनेकौँ प्रयासहरू असफल हुँदा वा कतैबाट कुनै उपाय नलाग्ने देखेपछि पनि मानिसले जिन्दगीसँग हार खाने र आत्महत्या गर्ने सोचमा पुग्ने गरेको कुरा पटक पटक उठेपनि राज्यले यसलाई रोक्न खासै ध्यान दिएको देखिँदैन ।

देशको राजधानी सहरमै गरिएको यो सामूहिक आत्महत्याको प्रयास र यसका कारण केलाउन सरकारले देखाएको उदासीनता यसको एक प्रमाण हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *