पालिकाका कामले गर्दा जनताले प्रदेश र संघीय सरकार बिर्सिसके : अध्यक्ष राई (भिडिओसहित)

पालिकामा गर्न सकिने धेरै छ

काठमाडौँ । मुलुक संघात्मक शासन प्रणालीमा गएपछिको पहिलो स्थानीय निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरूको कार्यकाल जेठ ५ मा सकिँदै छ । उनीहरूसँग अब जम्माजम्मी ३ महिनाको समय बाँकी छ । निर्वाचन आयोगले वैशाख ३० गते एकै चरणमा गर्नेगरी स्थानीय निर्वाचनको घोषणासमेत गरिसकेको छ ।

झन्डै ५ वर्षको यो अवधिमा उनीहरूले संघीय नेपालको पहिलो संविधानले दिएका धेरै क्षेत्राधिकारको प्रयोग गरे । स्थानीय सरकारप्रति नागरिकका आशा र भरोसा के कति पूरा भए वा पूरा हुने दिशातर्फ अघि बढे भन्ने मूल्याङ्कन बाँकी नै छ । सम्भवतः आगामी चुनावमा त्यसको लेखाजोखा हुने नै छ ।

जनप्रतिनिधिहरुसँग भने यो अवधिको मिश्रित अनुभव छ । कतिपयले यो अवधिलाई ‘ट्रायल टाईम’ भनेका छन् भने कतिपयले घोषणापत्रअनुरूप नै धेरै काम गरेको दाबी गर्ने गरेका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राई पनि आफूले उम्मेदवारी दिँदै गर्दा चुनावी घोषणापत्रमार्फत गरेका प्रतिबद्धताहरू पूरा गरेकाे बताउँछन् । ‘मलाई लाग्छ सम्भवत: घाेषणापत्रमार्फत गरिएकाे प्रतिबद्धताभन्दा बढी पनि काम गरियाे,’ अध्यक्ष राईले भनेका छन् ।

वर्षाैँ कर्मचारीको भरमा रहेका स्थानीय निकाय र तहमा संघीयता लागू भएसँगै जनप्रतिनिधि पुगे । यसक्रममा उनीहरूलाई एकातिर भौतिक पूर्वाधारदेखि विभिन्न संरचनाको अभाव त थियो नै, अर्कोतिर संविधानले पहिलोपटक दिएका अधिकार र सेवाको लामो सूची कार्यान्वयन गर्नुपर्ने चुनौती पनि थियो । पछिल्ला वर्षमा अर्थात् कोरोनाकालमा जनप्रतिनिधिको भूमिका र दायित्व अझ थपियो । योबेला धेरै जनप्रतिनिधिले आफूले चढ्ने गरेकाे गाडीलाई ‘एम्बुलेन्स’काे रूपमा प्रयाेग गरे । त्योबेला संक्रमितलाई पिठ्युँमा बोकेर अस्पताल पठाइरहेका अध्यक्ष राई जनतासँग नजाेडिकन नेता नभइने दृष्टान्त सुनाउँछन् । अनेकाै‌ं अप्ठ्याराहरूका बीच पालिकाहरूले धेरै काम गरेकाे उनको दाबी छ, भन्छन्— ‘यस्तो लाग्छ कि स्थानीय तहकाे कामले जनताहरूले प्रदेश र संघीय सरकार नै बिर्सिसके ।’

नेपाली कांग्रेस प्रदेश नं. १ का महामन्त्रीसमेत रहेका राई संघीयता कार्यान्वयनका क्रममा भने केही चुनौती रहेको स्वीकार्छन् । तीन तहको निर्वाचन हुनु र जनप्रतिनिधिहरू चुनिनु आफैँमा संघीयताको एक तहको कार्यान्वयन ठान्ने राई भन्छन्, ‘हामी स्थानीय तहको प्रमुखका रूपमा रहँदै गर्दाखेरि पनि धेरैखाले चुनौतीहरू थिए, खासगरी संघीयताको कार्यान्वयनको विषयमा । हामी निर्वाचित हुँदैगर्दा हामीसँग कानून तथा ऐनहरू नै पनि थिएनन् । त्यसपछि कानूनहरू बने, त्यहीअनुसार हामी चल्ने कोसिस गरेपनि कहीँ न कहीँ गाह्रो भने भयो । संघीयताको मर्मअनुरूप चल्नलाई गाह्रो नभएको होइन । यसको कार्यान्वयको पाटोलाई हेर्ने हो भने त अझै चुनौतीहरू थुप्रै छन् ।’

राजनीतिसँगै कृषि

राई राजनीतिमात्रै गर्दैनन्, उनी आर्थिक उपार्जनका श्रोतहरू पनि खोज्नुपर्ने बताउँछन् । त्यसकै सिलसिलामा आफूले कागती खेती गरिरहेको उनी सुनाउँछन् । ‘राजनीति मात्रै एउटा सेवा हो,’ राईले भनेका छन्, ‘सेवाबाट कमाइ हुन्छ भन्ने विश्वास लाग्दैन । त्यसैले पनि आत्मनिर्भरका लागि पनि म कृषि गर्छु । आर्थिक उपार्जन त्यहीबाट पनि गर्छु ।’

जनप्रतिनिधि बनेपछि झन्डै ८ रोपनी जग्गामा कागती खेती लगाएका राई यसबाट अरुले पनि प्रेरणा लिन सक्ने सम्झाउँछन् । ‘यस वर्षमात्रै एक हजार किलो उत्पादन गरेँ,’ राई भन्छन्, ‘यसले जनतालाई पनि केही प्रेरणा दिएको छ । म राजनीतिलाई पनि उत्पादनसँग जोड्नुपर्छ भन्छु । आफूले नगरीकन अरुलाई गर्नुस् भन्दाखेरि वैज्ञानिक हुँदैन । यसैले पनि मैले नगदेबालीको सुरुवात गरेका हुँ ।’

भाषण गरेर मात्रै जीविकाेपार्जन नहुने स्मरण गराउँदै राई थप्छन्— ‘हामीले भाषण मात्रै गरेर जीविकाेपार्जन हुँदैन । भाषण मात्रै गरेर पैसा आउँदैन । नेताले कृषि गर्नुहुँदैन भन्ने हुँदैन । जीवनलाई सदैव उत्पादनसँग जाेडियाे भने सहज हुन्छ ।’

पालिकामा नदोहोरिने

अध्यक्ष राई अब वैशाखमा हुने निर्वाचनबाट पालिकामा नदोहोरिने बताउँछन् । ‘राजनीतिमा रहिसकेपछि त्यही रूपमै अगाडि बढौँ लागिहाल्छ,’ राईले भने ‘यसर्थ अब पुनः म नदोहोरिने सोचमा छु । अब कि प्रदेश कि संघतिरै अघि बढ्छु ।’

जनताहरू फेरि तपाईं नै दोहोरिनुपर्छ भन्ने चाहँदैनन् र ? भन्ने जिज्ञासामा उनी भन्छन्— ‘धेरैले त्यस्तो चाहना राख्नुभएको छ । राजनीतिक रूपमा स्वाभाविक रूपमा पुनः नदोहोरिए हुन्थ्यो भन्ने छँदै छैनन् भन्ने पनि भएन । यद्यपि मैले बुझ्दासम्म दोहोरिदिए हुन्थ्यो भन्ने नै धेरै हुनुहुन्छ । तर, मैले नदोहोरिने भनेर निर्णय गरिसकेको छु ।’

भर्खरै सम्पन्न नेपाली कांग्रेसको प्रदेश महाधिवेशनका क्रममा प्रदेश न. १ को महामन्त्रीमा निर्वाचित भएका राई यही जिम्मेवारीका कारण पनि अब पालिकामा समय दिन नसक्ने सुनाउँछन् । यसअघिको निर्वाचनमा पालिकामा आउन धेरैले नचाहेको तर, अब यसअघि माथिल्लो पाेर्टफाेलियाेमा रहेका व्यक्ति पनि पालिकाको अध्यक्ष वा मेयरमा दोहोरिन खोजिरहेको भन्दै यसले स्थानीय तहको आकर्षण बढाएको विश्लेषण राईकाे छ । ‘हामीले चुनाव लड्दै गर्दा धेरैले आँट गर्नुभएन, मलाई नै पनि कतिपयले काठमाडौँमा बसिरहेको मान्छे के गाउँमा फर्किने पनि भन्नुभयो, तर अहिले त्यस्तो छैन, गाउँपालिका वा नगरपालिकाले धेरै काम गर्न सक्ने रहेछ भन्ने भएको छ । हाम्रो कार्यकालको यो ठूलो उपलब्धि हो,’ उनले भनेका छन् ।

यो पाँचवर्षे अवधिमा पालिकाले गर्न चाहे धेरै काम गर्न सकिने रहेछ भन्ने प्रमाण आफूले काम गरेरै देखाएकाे उनी सुनाउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *