पुँजीगत खर्च प्रक्रिया परिवर्तन गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पुँजीगत खर्च बढाउन अहिलेको खर्च प्रक्रियालाई परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।
लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १७औँ लेखनाथ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले पुँजीगत खर्च समयमै गर्न सकियो भने समग्र आर्थिक गतिविधिमा यसको सकारात्मक प्रभाव रहने बताए ।
‘निजी क्षेत्रले दशकौँँदेखि उठाउँदै आएको हो तर अझै पनि यसमा सुधार हुन सकेको छैन,’ उनले भने, ‘पुँजीगत खर्चको खर्च प्रक्रिया परम्परागत छ । फागुनसम्म जम्मा १९ प्रतिशत पुँजीगत खर्च भएको तथ्याङ्क छ । यसलाई सुधार नगरी आर्थिक विकास र सम्मृद्धि हासिल हुन सक्दैन ।’
कोभिडपछि आर्थिक गतिविधि बढाउन, वैदेशिक लगानी भित्र्याउन, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न, आयात प्रतिस्थापन गर्न के के उपाय हुन सक्छन् भनेर नेपाल उद्योग वाणिज्य महासंघ लागिरहेको बताउँदै, वरिष्ठ उपाध्यक्ष ढकालले वैदेशिक लगानीको सहजीकरणका लागि लगानी बोर्डसँग सम्झौता गरी महासंघ अगाडि बढ्न खोजेको जानकारी गराए ।
उनले गैर आवासीय नेपालीहरुले नेपालमा लगानी गर्ने क्रम बढ्दै गएको र यसलाई थप प्रोत्साहन गर्न एउटा थ्रेसहोल्ड राखेर सिमित अवधिको लागि कर छुट तथा अन्य सुविधा दिन सकेमा थप वैदेशिक लगानी आकर्षित गर्न सकिने कुरा बताए ।
‘पर्यटन पूर्वाधारको विकास तथा अन्य परियोजनाहरुमा ५० करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी भित्र्याउने गैर आवासीय नेपालीहरुलाई कुनै निश्चित समयको सिमा राखेर कर छुट तथा अन्य सुविधाहरु दिन सकेमा यसबाट पर्यटन पूर्वाधारको विकास, पर्यटन प्रवद्र्धन, आन्तरिक रोजगारी, सरकारलाई थप कर तथा राजश्व संकलन लगायत बहुआयामिक फाइदाहरु लिन सकिन्छ,’ उनले भने ।
उनले राज्यले निजी क्षेत्रलाई सहजीकरण गरेर लगानीको वातावरण बनाउन सक्यो भने राज्यले त्यहाँबाट हुने रोजगारी सृजना, कर तथा राजश्व संकलन तथा अन्य भौतिक पूर्वाधारको निर्माणबाट पर्याप्त फाइदा लिन सक्ने बताए ।
‘केही वर्ष अगाडि मलेसियाका पूर्व प्रधानमन्त्री डा. महाथिर मोहम्मद नेपाल आउनु भएको थियो,’ उनले भने, ‘त्यसबेला मैले उहाँलाई काठमाडौका केही स्थानहरु घुमाउने अवसर पाएको थिए । त्यसबेला मैले उहाँलाई सोधेको थिएँ – प्रधानमन्त्रीज्यू छोटो समयमै मलेसियाले गरेको विकासको रहस्य के हो ? उहाँको जवाफ थियो– राज्यले निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण मात्र गर्दियो भने विकास गर्न समय लाग्दैन । उहाँको थप भनाइ थियो – राज्य लगानी विनाको साझेदार हो ।’
नेपालको पहिलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडका अध्यक्षसमेत रहेका ढकालले रेमिट्यान्सलाई औपचारिक रुपमा नेपाल ल्याउन वैदेशिक रोजगारमा रहेका श्रमिकलाई नगद प्रोत्साहन तथा इन्सेन्टिभ दिनुपर्ने बताए ।
पोखरा आन्तरिक पर्यटनको हब बन्दै गएको बताउँदै कोभिडपछि पोखराको आर्थिक गतिविधि पुन लयमा फर्किन लागेको बताए ।
‘मुलुकका प्रायजसो सबै ठूला शहरबाट पोखरामा प्रत्यक्ष हवाई सम्बन्ध विस्तारसँगै पोखरा आन्तरिक पर्यटकको हव बन्न गएको छ । यसले विगत २ वर्षको कोभिडको प्रभावलाई विस्तारै कम गर्दै गएको महसुस मैले गरेको छु । यसले हामी व्यवसायीहरुलाई नयाँ उत्साह प्रदान गरेको छ,’ उनले भने ।
लेखनाथ महोत्सवले आन्तरिक उत्पादनलाई प्रवर्द्धनमा सहयोग पुग्ने बताउँदै उनले लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्ने लेखनाथ महोत्सव सबै जिल्ला/नगर उद्योग वाणिज्य संघहरुलाई प्रेरणाको श्रोत भएको समेत बताए ।









