लगानी बोर्ड आफैंले पुँजी जुटाएर ठूला परियोजना बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले लगानी बोर्डलाई आफैंले पुँजी निर्माण गरी ठूलो परियोजना अघि बढाउन निर्देशन दिएका छन् । बुधबार दिउँसो बोर्ड अन्तर्गत अनुगमन तथा सहजीकरण समितिको सातौं बैठकमा सहभागी हुँदै मन्त्री शर्माले लगानी बोर्ड पुँजी निर्माणमा अघि बढे मन्त्रालयले आवश्यक सहयोग गर्ने पनि बताए ।

‘बोर्डको कार्य प्रकृति कस्तो छ भने कोही आउँला र उसले भनेअनुसारको काम गरिदिउँला भनेर पर्खेर बस्ने किसिमको छ । अब सधैं यसरी मात्रै चल्दैन,’ उनले भने, ‘लगाानी बोर्ड आफैंले पुँजी निर्माण गरी ठूला परियोजनामा लगानी गर्नेतर्फ ध्यान दिनुपर्छ । बरु यस्तो कोष बनाउने भए हामी पनि के कस्तो सहयोग गर्न सक्छौँ, त्यसमा छलफल गरौँला ।’

बोर्ड उपाध्यक्षसमेत रहेका अर्थमन्त्री शर्माले निजी क्षेत्रसँग छलफल गरी निर्यातमा आधारित परियोजनाका लागि पुँजी कोषको निर्माण गर्न बोर्डलाई सुझाव दिएका थिए । कुल ग्राहस्थ उत्पादन (जिडिपी) र पुँजी निर्माणमा महत्वपूर्ण योगदान गर्ने परियोजनाहरु परिकल्पना गरी लगाानीका लागि अग्रसरता लिन उनले बोर्डलाई आग्रह गरे ।

‘कसले आएर के भन्छ भनी प्रोजेक्ट पर्खेर बस्ने होइन, लगानी बोर्ड आफैंले प्रोजेक्ट जन्माउनुपर्यो,’ उनले भने ।

समिति बैठकमा लगानी बोर्डले अरुण तेस्रो जलविद्युत आयोजना र मातहतका परियोजना, लजिस्टिक परियोजना, खप्तड एकिकृत पर्यटन विकास कार्यक्रम, तमोर जलाशययुक्त जलविद्युत परियोजना, माथिल्लो मस्र्याङ्दी जलविद्युत परियोजना, प्लान्ट भेहिकल म्यानुफ्याक्चरिङ एन्ड एसेम्ब्लिङ प्लान्ट र हुवासिन समेन्ट परियोजनाको कार्य प्रगतिबारे प्रस्तुतीकरण दिएको थियो ।

सो प्रस्तुतीकरणपछि बोल्दै अर्थमन्त्री शर्माले ठूला बिदेशी लगानीकर्तालाई बोर्डबाट एकल बिन्दु सेवा दिने दिने निर्णय भएपनि कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाए ।
‘हामीले बैदेशिक लगाानीलाई सहजीकरण गर्न बोर्डमार्फत एकल बिन्दु सेवा दिने भनेका थियौँ, त्यो प्रक्रिया कहाँ पुग्यो भन्ने बारे सजग हुनुपर्छ’ उनले भने ।

उनले विदेशी लगाानीकर्ताहरु आफैं परियोजना छनौट गरेर वा नेपालको परियोजनामा लगानी साझेदार भई आउने गरेका कारण सबैलाई समान व्यवहार गरी सहजीकरण गर्नुपर्ने बताए । उनले परपम्परागत विकासको संस्कृतिलाई बदलेर अगाडी बढ्नुपर्ने धारणा राखे ।

लगानी बोर्डमा आउने परियोजनालाई अध्ययनका लागि भन्दै लामो समयसम्म फाइल अड्काउने प्रवृत्ति ठीक नभएको उनको भनाइ छ ।

‘यहाँ आउने परियोजनाबारे अध्ययनका लागि लामो समय लगाइन्छ, यो ठीक होइन’ उहाँले भन्नुभयो, ‘विभिन्न विज्ञको रोस्टर तयार गर्ने र परियोजना अनुसार विज्ञमार्फत छिटो छरितो ढङ्गले अध्ययन गराईहाल्नुपर्छ । अध्ययनका लागि किन लामो समय लगाउने ? किन धेरै छलफल गर्ने ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =