विभेद उन्मुलनका गीत गाउन दलित गायक नै किन ? शिव परियार

काठमाडाैँ । गायक शिव परियारले जातिय विभेद उन्मुनल तथा जातिय समताका गीत गाउन दलित गायक नै खाेज्नु विभेदकै सुषुप्त नमुना भएकाे बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्ता गीतकाे स्वरांकन गर्नका लागि परियार, नेपाली, विश्वकर्मा थर भएका गायक, गायिका खाेज्ने चलन जातिय विभेद भएकाे बताएका हुन् ।

उनले लेखेका छन्, ‘जातिय विभेद उन्मुलन तथा जातिय समताका लागि दुई शब्द कोरिनेबित्तिकै त्यसलाई स्वरांकन गर्नका लागि परियार, नेपाली, विश्वकर्मा नै थर भएका गायकगायिका मात्र खोजी गरी हिँड्नु र गायनका लागि प्रस्ताव गर्नु वा यस विषय सम्बद्ध गायनमा उनीहरूलाई मात्र संलग्न गराउने सोच राख्नु पनि जातिय विभेदकै एउटा शुषुप्त नमुना हो ।’

त्यस्तै उनले यस्ता गीत गैर-उत्पीडितले गाउँदा अझै जनचेतना फैलिने समेत बताएका छन् । जातिय विभेद एक सम्प्रदाय वा जातिकाे मात्रै समस्या नभएकाे बताउँदै उनले यसले समाज विकासमा नै बाधा हालेकाे बताएका छन् ।

‘जातिय समताका लागि जनचेतना जगाउने गीत गैर-उत्पीडित भनेर चिनिएका सम्प्रदाय सम्बद्ध गायक गायिकाले गाउँदा झन यो विषयमा अझ जनचेतना फैलिन सक्दछ । जातिय विभेद केवल एक सम्प्रदाय या जातिको मात्र समस्या नभई यो समग्र देशकै चेतनाको विकासको बाधक बनेको समस्या हो’, उनले भनेका छन्, ‘यो समग्र नेपाल देशकै विकासको बाधक समस्या हो । सबैले बुझौँ र सबैले यो निर्मूल पार्ने प्रेमिल अभियानमा आफूलाई आजै देखि सामेल गरौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *