मोरङ व्यापार संघले ‘ट्रेड एक्स्पो’ आयोजना गर्ने

काठमाडौँ । मोरङ व्यापार संघ यो वर्ष ‘मोरंग व्यापार संघ ट्रेड एक्स्पो २०२२’को आयोजना गर्ने जनाएको छ । संघले बुधबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो ।
मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजालले उक्त मेला विराटनगरको विराट नर्सिङ होमको पूर्व पट्टिको खाली जग्गामा सञ्चालन गर्ने जानकारी गराएका हुन् । संघका कार्यसमिति सदस्य आशिष जाजू र दिपेश सुवेदी सह–संयोजक रहेको उक्त एक्सपोको आयोजना २०७८ चैत्र १८ गतेदेखि २६ गतेसम्म गर्न लागेको उनले जानकारी दिए ।
कोरोना महामारीको लामो प्रभावपछि पूर्वी नेपालमा सबैभन्दा ठूलो प्रदर्शनी र सम्मेलनको रुपमा सञ्चालन हुन लागेको यस वृहत अन्तर्राष्ट्रिय व्यापार मेला, ‘मोरंग व्यापार संघ ट्रेड एक्स्पो २०२२’ ले नयाँ र विद्यमान उत्पादन र सेवाहरु प्रदर्शन गर्न, स्वदेशी र विदेशी उत्पादनहरु प्रदर्शन गर्न, बिक्री गर्न र व्यापार र लगानीको सम्भावनाबारे छलफल गर्ने उत्कृष्ट थलो हुनुका साथै उत्पादक तथा वितरकलाई आफ्ना उत्पादन र सेवाको प्रदर्शनी एवं देश र विदेशमा आफ्नो बजार विस्तार र विविधीकरणमा सघाउने संघले जनाएको छ ।
साथै, मोरङ–सुनसरी आर्थिक करिडोरको प्रवर्द्धन, विकास, वृद्धि र अर्थतन्त्रलाई पुनः प्राप्ति गर्ने मुख्य उद्देश्यले आयोजना गरिने उक्त मेलामा सुविधा सम्पन्न प्रविधियुक्त एसी, कुलर आदि सहितका करीब २७५ स्टल मार्फत नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त मुलुकभरीका सबै प्रदेशका महत्व झल्किने कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, खनीजजन्य, कृषिजन्य तथा औद्योगिक उत्पादनहरुको प्रदर्शनीका अलावा छिमेकी राष्ट्र भारत लगायत बंगलादेश, पाकिस्तान आदि देशका उत्पादित वस्तुहरुको उत्पादनकर्ता र उपभोक्ताबीच सुमधुर सम्बन्ध कायम गराइने बताइएको छ ।
मेलामा दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु समेटिनुका साथै अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सम्पदाका नमुनाहरु (लण्डन व्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल आदि) मुख्य आकर्षणहरुको प्रदर्शनी गरिनुका साथै नेपालको मेला इतिहास मै पहिलो पटक जिप लाईन, रिभर्स बन्जी, जिप साईकलिङ लगायतका साहसिक खेलकुदको अनुभव प्रदान गरिने जनाइएको छ । मेलामा स्वदेश र छिमेकी मुलुकबाट करिब तीन लाख दर्शकको आगमन हुने अपेक्षा लिएका छौँ ।









