सभामुख सापकोटा र फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

काठमाडौँ । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेराेनिक रिटाेन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच ७३ वर्ष देखिको कुटनीतिक सम्बन्ध सुमधुर र उदाहरणीय रहेको बताए । उनले कोभिड १९ विरुद्ध लड्न फ्रान्सले चिकित्सा क्षेत्रमा र कोभ्याक्स अन्तरगतको सहयोगका लागि फ्रान्स सरकार र फ्रान्सेली जनतालाई धन्यवाद ज्ञापन गरे । सभामुख सापकोटाले नेपालको आर्थिक र सामाजिक विकासमा फ्रान्सको सहयोगका लागि आभार व्यक्त गर्दै कोभिड पछिको आर्थिक पुनरुत्थानमा सहयोग रहने विश्वास व्यक्त गरे ।

सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच पर्यटन, कृषि र व्यापारको क्षेत्रमा थप सहकार्यको सम्भावना रहेको चर्चा गरे । उनले नेपालले सन् २०२६ मा कम विकसित राष्ट्रको स्थितिबाट स्तरोन्नतिका लागि दुई देशबीचको साझेदारी महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । स्वतन्त्रता, समानता र भातृत्वका विषयमा नेपाल र फ्रान्सको समान दृष्टिकोण रहेको बताउँदै उनले दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म पुर्याउनु पर्नेमा जोड दिए ।

जलवायु परिवर्तनका कारण सृजित समस्या सम्बोधनका लागि फ्रान्सको भूमिका महत्वपूर्ण हुने बताउँदै सभामुख सापकोटाले सन् २०१५ को पेरीस सम्झौता स्मरणीय रहने बताए । शान्तिका लागि सहकार्य र समझदारी आवश्यक रहेको बताउँदै उनले भन्नु भयो ‘बुद्धको देशको सभामुखको हैसियतले भन्छु, विश्व शान्तिका लागि सबैले आ–आफ्नो स्थानबाट पहल गरौं ।’

भेटमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेराेनिक रिटाेनले आफ्नो टिमलाई नेपालमा गरिएको आतिथ्यताका लागि आभार व्यक्त गर्दै सम्मानित महसुस गरिरहेको बताए । दुई देशबीच आपसी सहयोग र सहकार्यका लागि छलफल गरेर क्षेत्र छनौट गर्न सकिने उनकाे भनाई थियो ।

प्रतिनिधिमण्डलमा सहभागी अन्य सदस्यहरूले फ्रान्सको तल्लो सदन नेसनल एसेम्ब्लीले गरेका अभ्यासहरूबारे जानकारी गराउँदै दुई पक्षीय भ्रमण आदान प्रदानबाट दुबै संसदका लागि सिकाइको अवसर हुने धारणा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =