मासिँदै मल्लकालीन शैलीका घर

काठमाडौँ । काठमाडौँको चर्चित र महत्त्वपूर्ण ठाउँ वसन्तपुरको पछाडिपट्टी प्याफलमा एउटा चोकको संरचना धमाधम भत्काइँदै छ । नयाँ निर्माणका लागि भत्काइएको भनिएपनि यो दृश्यले धेरैजसो स्थानीय बासिन्दा र मौलिकताप्रेमीलाई भने चसक्क घोचिरहेको रहेछ । त्यसमध्ये एक हुन् प्याफलकी गीता जोशी ।

‘हेर्नुस् न मल्लकालमा बनेका ८ वटा घर भएको यो चोक यसरी भत्काए । यसमा प्रयोग भएको कलाकौशल, घरको शैली सबै भत्काइएका इँट र माटोसँगै नष्ट भएर गए । ‘धेरै दुःख लागेको छ’, गीताले दुःख व्यक्त गरिन् ।

भत्काउँदै गरेको चोकको एकापट्टिको भित्तामा ढुङ्गामा कुदिएको सुन्दर मूर्ति पनि देख्न सकिन्छ । प्याफलमा रहेको यो चोक निजी स्वामित्व रहेको चोक भएकाले त्यसमा प्रयोग भएका पुरातात्त्विक महत्त्वका सामग्री पनि आर्थिक लाभका लागि नष्ट गरियो ।

यो विनाशको एक नमुना मात्र हो । काठमाडौँमा मल्लकालमा बनेका संरचनाहरू अब खोजेर हिँड्दा औँलामा गन्न सकिने जति मात्र भेटिने सम्पदा संरक्षणमा आवाज उठाउनेहरूले बताउँदै आएका छन् । यसमा दुःखको कुरा के छ भने ती भौतिक संरचनासँगै त्यसमा प्रयोग भएको सीप, शैली सबै नष्ट हुँदै गएको छ ।

मल्लकालीन भवन तथा संरचना भनेको ३ सय वर्ष पुरानो भौतिक संरचना हो । काठमाडौँमा विसं १५४१ मा रत्न मल्लको पालादेखि सुरु भएको मल्लकाल विसं १८२५ मा जयप्रकाश मल्लको पालामा सकिएको थियो ।

मल्लहरूले काठमाडौँमा झण्डै ४ सय वर्ष शासन चलाउँदा निर्माण भएको भौतिक संरचना जुन अहिले पनि बाँकी छन् ती कम्तीमा ३ सय वर्ष पुरानो रहेको अनुमान गरिन्छ । एउटा इतिहासको कालखण्ड बोकेको संरचनाको अस्तित्व नै मेटिने गरी भत्काइनुले त्यसको निर्माणको वास्तुकला हराएर जाने निश्चित जस्तै छ ।

मल्लकालीन वास्तुकला र यसको संरक्षणमा उठेका सवाल

अहिले काठमाडौँ उपत्यकामा रहेका घरहरूलाई तीन कालखण्डमा राखेर अध्ययन गर्न सकिन्छ । मल्लकालीन घर, राणाकालीन घर र आधुनिक घर । अहिले भएकामध्ये सबैभन्दा पुरानो वास्तुशालीमै निर्माण भएका घर मल्लकालीन घर हुन् ।

यसमा नेपाली मौलिक र कलात्मक शैली मात्र भेटिन्छ । त्यसपछि राणाकालमा बनेका घरमा आधुनिकीकरणको धेरै मात्रा पाइने सम्पदा संरक्षणकर्मी आलोकसिद्धी तुलाधर बताउँछन् ।

मल्लकाल सकिएपछि राणाकालका शासकलाई मात्र विदेशमा भ्रमणका लागि जाने अवसर जुरेको थियो । विसं १९०६ मा तत्कालीन प्रधान मन्त्री जङ्गबहादुर राणा युरोप भ्रमणबाट फर्किएपछि राणाकालीन भौतिक संरचनामा बिस्तारै मल्लकालीन वास्तुकला विस्थापन हुँदै युरोपेली शैलीको प्रभाव बढ्दै गएको विज्ञहरू बताउँछन् । त्यसअघि नेपालमा बनेका संरचनामा आफ्नै निजी बगैँचाका काठपात र यहीँका निर्माण सामग्री मात्र प्रयोग गर्ने चलन रहेको तुलाधार बताउँछन् ।

काठमाडौँको मल्लकालीन घरको आफ्नै छुट्टै डिजाइन थियो । मल्लकालीन घरहरू धेरै अग्ला हुँदैनथे । ढोका पनि अग्लो राखिएको हुँदैनथ्यो । काठमाडौँका आदिवासी नेवार समुदायका मानिसले मल्लकालको वास्तुकलालाई आफ्नो संस्कृति र परम्परासँग जोडेर हेर्ने गरेका थिए ।

अहिले बचेका केही घरमा पनि हामी यी कुरा देख्न सकिन्छ । त्यसैले मल्लकालीन शैलीलाई संसारकै ‘यूनिक’ शैली भनिने इन्जिनियर तुलाधर बताउँछन् । यस्ता घरहरू विश्वभरि कतै पनि नपाइएको विज्ञहरू बताउँछन् । मल्लकालीन घरको सबैभन्दा ठूलो फाइदा नै यसमा रहेको दिगोपना हो ।

मल्लकालीन शैलीमा सानो घर बनाउँदा त्यसमा थोरै र स्थानीय सामानहरू मात्र प्रयोग गरेर घर निर्माण गर्ने गरिन्थ्यो । घर बनाउँदा प्रयोग गरिने पोलेको इँटाको आयु हजारौँ वर्ष हुने सम्पदा संरक्षणकर्मी तुलाधारले बताए । महेन्जोदडो सभ्यतामा पनि पोलेको माटो प्रयोग गरेको तथ्य फेला परेको सभ्यताविद्हरू बताउँछन् ।

त्यसरी पोलेको इँटालाई माटोले जोडेर मल्लकालीन घरको निर्माण गरिन्थ्यो । घरको पहिलो तल्लामा नकुहिने र ठोस सामान मात्र राख्ने चलन थियो । छिँडीमा चिसो बढी हुने भएकाले त्यहाँ सुत्ने र अन्न राखिँदैनथ्यो । दोस्रो तल्लामा आँखीझ्याल राखिएको हुन्थ्यो । त्यो आँखीझ्याललाई पनि विशेष कलाअनुसार बनाइएको हुन्थ्यो ।

आँखीझ्याल राखिएको तल्लालाई सुत्ने कोठाको रूपमा प्रयोग गरिन्थ्यो । किनभने आँखीझ्यालभित्रबाट बाहिरको दृश्य देख्न सकिन्छ भने बाहिरबाट भित्रको दृश्य देखिँदैन ।

गोपनीयताको लागि आँखीझ्याल प्रयोग गरिएको हुन्थ्यो । तेस्रो तल्लामा बुट्टावाला झ्याल राखिएको हुन्थ्यो । उक्त तल्लालाई बैठक कोठाको रूपमा प्रयोग गरिन्थ्यो ।

धनीहरूले धेरै बुट्टा भएको झ्याल प्रयोग गर्थे भने आर्थिक स्थिति कमजोर भएकाहरूले सामान्य झ्याल प्रयोग गर्थे । चौथो तल्ला अर्थात् बुइँगलमा भान्छा र पूजा कोठा रहेको हुन्थ्यो । छुवाछुत र केही संस्कारले गर्दा सबैभन्दा माथिल्लो तल्लामा भान्छा राखिएको हुन्थ्यो भान्छामा सबैलाई प्रवेश गर्न दिइँदैनथ्यो ।

इँटलाई जोड्ने माटोमा भुस मिसाइएको हुन्थ्यो यसले घरलाई लचिलो बनाउन मद्दत गर्थ्यो । यस्ता घरमा किलाकाँटीको प्रयोग नगरी काठको भर्‍याङ, बार र चुकुलहरू प्रयोग गरिन्थ्यो । जसले गर्दा घर बलियो पनि हुन्थ्यो भने सुन्दर पनि देखिन्थ्यो ।

मल्लकालीन घर बनाउँदा काठ जडान गर्दा, दलिन राख्दा राखिने स–साना चुकुलहरूले घरलाई लचिलो बनाउने हुन्छ भूकम्प आउँदा पनि बललाई सञ्चित गर्ने काम गर्छ र संरचना ढल्दैन । त्यसैले गर्दा विसं २०७२ को भूकम्पमा उपत्यकाका मल्लकालीन घरभन्दा राणाकालीन घर बढी भत्किएको सम्पदा संरक्षणकर्मी तुलाधरले बताए ।

मल्लकालीन घरलाई प्रत्येक २०/३० वर्षको फरकमा मर्मत सम्भार गर्दै जाँदा ती घरको आयु नै कहिल्यै नघट्ने उनी बताउँछन् । त्यस्तै बालुवा, सिमेन्ट र कङ्क्रिटको घरमा गर्मीमा बढी गर्मी र जाडोमा बढी जाडो हुन्छ भने मल्लकालीन घर जाडोमा न्यानो र गर्मीमा शीतल हुने खालका हुन्छन् ।

तर युरोप, अमेरिका जस्ता विकसित देशमा सिमेन्टले बनेको घरको आयु भने ४० देखि ५० वर्षसम्म मात्रै हुने र त्यति समयपछि ती संरचना भत्काउनैपर्ने नियम हुने तुलाधारले बताए । काठमाडौँ महानगरले सिङ्गो इतिहास नै बोकेको संरचनाको मर्मत सम्भार र पुनः निर्माणमा चासो नदिएकोमा पनि सभ्यता र सम्पदाका क्षेत्रमा आवाज उठाइरहनेहरू बताउँछन् ।

महानगरले मल्लकालीन वास्तुकला सम्बन्धी पढाई र बाँकी संरचनाको संरक्षणमा पनि कुनै ठोस कदम नचालेको भनेर महानगरको चर्को आलोचना हुने गरेको छ । मल्लकालीन र राणाकालीन घर भत्काएर बनाएका अधिकांश भौतिक संरचना सिमेन्ट, बालुवा र कङ्क्रिटबाट नै बनाएको पाइन्छ । यसरी मल्लकालको संरचना भत्काएर ठड्याइएका यी आधुनिक घरहरू पुराना संरचनाहरूभन्दा खतरनाक हुने इन्जिनियर तुलाधर बताउँछन् ।

मल्लकालीन वास्तुकलाको फाइदा

मल्लकालीन भौतिक संरचना र यसबाट सर्वसाधारणलाई हुनसक्ने फाइदाबारे पटक्कै चेतना नभएर पनि सम्पदा विनाशको बाटोतिर लागेको प्याफलकी बासिन्दा गीता जोशी बताउँछिन् । गीताले आफ्नो २ सय वर्षभन्दा पुरानो घर भएको ठाउँमा पुरानै शैलीमा नयाँ घर बनाएकी छन् । देख्दा आकर्षक लाग्ने उक्त घर प्याफल चोकमै छ ।

सबै पुरानो घरको सामग्री प्रयोग गरेर बनाएको उक्त घर बनाउँदा ५५ लाख रुपैयाँ लागेको उनले बताइन् । उनले त्यो घर पर्यटकहरूलाई ‘बेड एण्ड ब्रेकफास्ट’ को लागि दिन तयार पारेकी हुन् । गीता भन्छिन्, ‘यस्ता पुरानो शैलीमा बनाएको घरमा बस्नको लागि विदेशीहरूले १ रातकै ३ सय डलरसम्म तिर्छन् ।

यसले आर्थिक लाभ पनि भयो हाम्रो मौलिकता पनि मासिएन ।’ तर चेतनाको अभावमा एकछिनको फाइदा हेरेर निजी र पुरातात्त्विक सम्पदा मास्ने क्रम बढ्नु चिन्ताको विषय भएको जोशी बताउँछिन् ।

संघीय वा प्रदेश सरकारले त बेवास्ता गर्‍यो नै स्थानीय सरकारले समेत मौलिक सभ्यता र सम्पदा संरक्षणमा जोड नदिनु दुःखद भएको जोशी र तुलाधर बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.