यस्ताे छ एमसीसीबारे तीन माओवादी नेताले राखेकाे फरक मत (पूर्णपाठ)

काठमाडाैँ । माओवादी केन्द्रका तीन नेताहरूले एमसीसीबारे राखेकाे फरक मत केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेका छन् । यसअघि नेताहरू देवप्रसाद गुरुङ, कृष्णबहादुर महरा र कृष्णबहादुर महराले फागुन १८ गते १५ गते संसद्बाट पारित भएकाे एमसीसीका सन्दर्भमा फरक मत राखेका थिए ।
फरक मतमा नेताहरूले फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घाेषणासहित पारित भएकाे एमसीसीबारे आफ्नाे असहमति रहेकाे बताएका छन् । ‘उक्त दिन बिहान अध्यक्षको निवास खुमलटारमा पूर्वस्थायी समितिका सदस्य तथा उपलब्ध प्रदेश इन्चार्जहरू बीच भएको अनौपचारिक छलफलमा अध्यक्ष कमरेडले राख्नुभएको उक्त प्रस्तावमा हामीले असहमति प्रकट गरेका थियौँ’, त्यहाँ भनिएकाे छ, ‘उक्त छलफल कुनै निश्चित पार्टी कमिटीको औपचारिक बैठक नभएकोले निर्णय पुस्तिका पठाउने र नोट अफ डिसेन्ट लेख्ने व्यवस्था भएन । अतः एमसीसी अनुमोदनसम्बन्धी हाम्रो असहमति लिखित रूपमा पार्टी केन्द्रीय कार्यालयमा दर्ज गरियोस् र आउँदो केन्द्रीय समितिको बैठकमा यस विषयमा गम्भीरतापूर्वक समीक्षा गरियोस् भनी अनुरोध गर्दछौँ ।’
एमसीसी सम्झौता आर्थिक सहायताको सम्झौता भनिएको भएतापनि पछिल्लो समयमा अमेरिकी अधिकारीहरूले यस सम्झौतालाई हिन्द प्रशान्त महासागरीय रणनैतिक साझेदारीको अंग भनेको तीन नेताले जनाएका छन् । अमेरिकी अधिकारीले नै सम्झौतालाई संसद्बाट अनुमोदन गराउनका लागि नेपालको आन्तरिक मामिलामा हस्तक्षेपको तहसम्म उठेर बारम्बार दवाव दिनुले यो सम्झौताको पछाडिको सामरिक उद्देश्यअनरुप अन्तर्निहित रहेको यथार्थता प्रष्ट भएको तीन नेताहरूले जिकिर गरेका छन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने यस विषयमा अर्काे केन्द्रीय समिति बैठकमा छलफल गर्ने प्रस्ताव गरेका छन् । बैठकमा सहभागी एक केन्द्रीय सदस्यकाअनुसार प्रचण्डले यस्ताे प्रस्ताव गरेका हुन् ।








