माओवादी बैठक : एमसीसीबारे तीन नेताले बुझाए फरक मत, छलफल हुनुपर्ने माग

काठमाडाैँ । माओवादी केन्द्रका तीन नेताले एमसीसीबारे फरक धारणा राखेका छन् । नेताहरू देवप्रसाद गुरुङ, लीलामणि पाेखरेल र कृष्णबहादुर महराले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लिखित रूपमै फरक मत बुझाएका हुन् । माओवादी केन्द्रकाे शुक्रबार [आज] बाट केन्द्रीय बैठक शुरू भएकाे छ । तर, तीन नेताहरूले बिहीबार साँझ नै प्रचण्डलाई उक्त मत बुझाएका हुन् । केन्द्रीय समिति बैठकमा छलफल हुनेगरी आफूहरूले प्रचण्डलाई लिखित फरक मत बुझाएकाे नेता लीलामणि पाेखरेलले बताए । ‘हिजै हामीले बुझाइसकेका छाैँ,’ नेता पाेखरेलले भने, ‘यसबारे केन्द्रीय बैठकमा छलफल हुन्छ भन्ने विश्वास छ ।’

‘आफूहरूले पार्टीकाे निर्णय मान्ने तर, फरक धारणालाई पार्टीले दस्तावेजका रूपमा दर्ज गर्नुपर्ने’ शर्तमा आफूहरूले फरक मत प्रचण्डलाई बुझाएकाे नेता पाेखरेलले बताए । ‘फरक मतलाई पार्टीले सम्मान गर्नुपर्छ भनेका छाैँ हामीले,’ उनले भने, ‘यसाे भयाे भनेचाहिँ स-समान रूपमा जान सकिन्छ भनेर हामीले यसाे गरेका हाैँ/भनेका हाैँ ।’

♦याे पनि:
  माओवादी केन्द्रीय समिति बैठक : आइतबार पुन: बस्ने, आज के-के भयाे ?

उनीहरूले यसअघि केन्द्रीय कार्यालयकाे विस्तारित बैठकमा पनि एमसीसीबारे माैखिक फरक मत राखेका थिए । ‘व्याख्यात्मक घाेषणा’सहित एमसीसी पारित गर्नुपर्ने प्रचण्डकाे प्रस्तावमाथि उल्लिखित तीन नेताहरूसँगै नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पाेखरेलले फरक मत जाहेर गरेका थिए । एमसीसी भने फागुन १५ मै १२ बुँदे व्याख्यात्मक घाेषणासहित नेपालकाे संसद्‌बाट पारित भइसकेकाे छ । माओवादीमा भने एमसीसीकै कारण संकट निम्तिँदाे छ । आजकाे बैठकमा प्रचण्डसहित नारायणकाजी श्रेष्ठले आ-आफ्नाे धारणा राखेका थिए । उनीहरू पुरानै आ-आफ्नाे अडान र भनाइमा कायम रहेका थिए ।

अब अर्काे बैठक आइतबार बिहान ११ बजे राष्ट्रिय सभागृहमै बस्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *