माओवादी केन्द्रीय समिति बैठक : आइतबार पुन: बस्ने, आज के-के भयाे ?

काठमाडाैँ । शुक्रबारबाट शुरू भएकाे माओवादी केन्द्रीय समिति बैठक सकिएकाे छ । अब पुन: आइतबार बस्ने केन्द्रीय सदस्य अन्जना विशङ्खेले बताइन् । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा शुरू भएकाे बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले आफ्नाे धारणा राखेका थिए ।

बैठकमा विशेषगरी फागुन १५ मा माओवादीकाे समर्थनसहित पारित भएकाे एमसीसीबारे छलफल भएकाे थियाे । छलफलका क्रममा प्रचण्डले आफूले साेचविचार गरेर एमसीसीबारे निर्णय लिएकाे जिकिर गरेका थिए भने नारायणकाजीले त्यसकाे विपक्षमा आफ्नाे धारणा राखेका थिए ।

केन्द्रीय सदस्य विशङ्खेकीअनुसार प्रचण्डले तत्कालीन प्रधान सेनापति रूकमाङ्गद कटुवाल प्रकरणमा आफूले अरूको कुरा सुन्दा फसेको बताएका थिए । ‘विगतमा मलाई दायाँबायाँ बस्नेले रूकमाङ्गद कटुवाललाई कारबाही गर भने, मैले कारबाही गरेँ । अब म यस्तो आत्महत्या र मूर्ख हुने बाटो रोज्दिनँ। मैले जे गरेँ ठिक गरेँ’, प्रचण्डले भनेका थिए ।

नेता श्रेष्ठले भने पार्टीकाे नेतृत्व चरम् व्यक्तिवादी भएकाे र त्यसले समग्र पार्टीलाई नै बिगारेकाे बताए । ‘अध्यक्षले नै मलाई पार्टी छाेड भन्नुभयाे,’ धारणा राख्ने क्रममा नेता श्रेष्ठले भने— ‘यसपछि पार्टीमा रहन गाह्राे हुन्छ भनेर हामीले भनेका हाैँ । पार्टी नेतृत्वमा चरम् व्यक्तिवादी देखा पर्‍याे । यसले समग्र पार्टीलाई नै बिगार्‍याे ।’

यस्तै नेता श्रेष्ठले अमेरिका साम्राज्यवादी शक्ति भएकाे दाेहाेर्‍याएका थिए । ‘विकास भनेकाे आफ्नाे बलबुताले गर्ने हाे,’ नेता श्रेष्ठले भनेका थिए, ‘यसबारे अझै साेचाैँ । अमेरिका साम्राज्यवादी शक्ति हाे । यसतर्फ साेचाैँ ।’

शनिवार बैठककेन्द्रित गृहकार्य गर्ने

शनिवार भने बैठकका लागि गृहकार्य गर्ने माओवादी केन्द्रले जनाएकाे छ । बैठकमा प्रस्तुत हुने राजनीतिक, साङ्गठनिक प्रस्तावहरू तयार गरिने केन्द्रीय सदस्य देवप्रसाद गुरुङले बताए । ‘शनिवार बैठक स्थगित गरेर केही गृहकार्य गर्ने तयारी छ,’ गुरुङले भने, ‘बैठकमा पेश हुने प्रस्तावहरू पनि तयार गर्नुपर्ने छ ।’

याे बैठकले केन्द्रीय पदाधिकारीसमेत टुङ्ग्याउने भनिएकाे छ । यसकाे समेत गृहकार्य गर्ने बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =