‘अर्ली ईलेक्सनकाे सम्भावना नै छैन’

काठमाडाैँ । माओवादी केन्द्रका नेता वर्षमान पुनले ‘अर्ली ईलेक्सन’काे सम्भावना नरहेकाे बताएका छन् । संसद् बैठकपछि बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता पुनले यस्ताे बताएका हुन् । ‘सामान्यतया: हाम्राे नेपालमा २ सिजनमा निर्वाचन हुने गरेकाे छ । कात्तिक, मंसिर र चैत्र, वैशाख र जेठसम्म । हरेक ५ वर्षमा संघीय, प्रदेश र स्थानीय चुनावहरू हुने गर्छ, संवैधानिक व्यवस्था यही छ । यसरी हेर्दा अर्ली ईलेक्सनकाे सम्भावना अहिले छैन । वैशाखमा स्थानीय तहकाे निर्वाचन गर्ने भनेपछि हामीसँग समय नै हुँदैन । त्यसाे हुँदा स्वत: कात्तिक-मंसिर जान्छ । यद्यपि कानूनी रूपले, व्यवहारिक रूपले, संवैधानिक रूपले, परम्पराकाे रूपले मंसिरपछि ५ वर्ष संघीय सदन पुग्छ, त्यसपछि संसद् विघटन गर्न नमिल्ने हाेइन । तर, सम्भावना हुँदैन,’ नेता पुनले भनेका छन् ।
नेपालकाे भाैगाेलिक र माैसमी अवस्थाले पनि अब अर्ली ईलेक्सनकाे सम्भावना टरेकाे नेता पुनकाे भनाइ छ । ‘यसरी हेर्दाखेरी २ वटा सिजनबाहेक हामी निर्वाचन गर्न सक्दैनाैँ । अब अर्ली भनेर असार, साउन, भदाैतिर गर्न हामी सक्दैनाैँ । त्यसाे हुँदा पनि अब अर्ली ईलेक्सनकाे कुनै चान्स नै छैन,’ नेता पुनले भनेका छन् ।
पुनभन्दा अघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने अर्ली ईलेक्सनमा जानपर्ने हुनसक्ने बताएका थिए ।








