धनगढीलाई ‘मोडेल’ बनाउने हमालको सपना, मेयर बन्न त्यागे पार्टी

धनगढी । प्रायः मानिस राजनीति मार्फत लाभको पदमा पुग्न कुनै न कुनै राजनीतिक दल समात्ने गर्छन् । कुनै पदमा चुनाब लड्दा जित हात पार्न दलबाट बनेका उम्मेदवारलाई सहज हुन्छ भन्ने बुझाइ छ । यथार्थमा यो सत्य नै सावित पनि हुँदै आएको छ । तर धनगढीका व्यवसायीसमेत रहेका गोपाल हमालले भने धनगढी उपमहानगरपालिकाको मेयर बन्न  राजनीतिक दलबाट विदा लिएका छन् । त्यो पनि एकपटक होइन दुई दुई पटक ।

विवेकशील साझा पार्टीका सुदूरपश्चिम प्रदेश संयोजकसमेत रहेका हमालले मङ्गलबार पार्टीबाट राजीनामा दिँदै  पुनः स्वतन्त्र रूपमा धनगढीको मेयरमा उम्मेदवार बन्ने बताएका छन् ।  उनले पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई राजीनामा पत्र बुझाएका हुन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा धनगढीको मेयरका लागि स्वतन्त्र उम्मेदवार बनेका हमाल निकटतम प्रतिद्वन्द्वी भएर कांग्रेसका उम्मेदवार नृप वडसँग पराजित भएका थिए । वडले १४ हजार ३२४ मत ल्याउँदा हमालले ११ हजार ५२७ मत पाए । हमाल वडसँग २ हजार ७९७ मतले पछि परे । त्यसबेला उनी नेपाली कांग्रेस त्यागेर स्वतन्त्र उम्मेदवार बनेका थिए ।  अहिले दोस्रो पटक मेयरको उम्मेदवार बन्ने तयारीमा आफू लागिसकेको उनी बताउँछन् । र यसपटक पनि स्वतन्त्र रूपमा नै उम्मेदवार बन्ने उनको योजना छ । कारण, स्वतन्त्र रूपमा लड्दा सबै दलका व्यक्तिको मत पाउने उनको बुझाइ छ ।

आफू मेयरको चुनाबको तयारीमा जुट्दै धनगढीका टोल-टोल जान थालेदेखि नै धेरैले स्वतन्त्र रूपमा लड्न सुझाव दिएकाले त्यसैलाई आत्मासाथ गर्दै राजनीति दलबाट राजीनामा गर्ने निर्णय गरको उनले मकालुखबरलाई बताए । ‘अघिल्लो निर्वाचनमा बिना तयारी अप्रत्याशित रूपमा चुनाब लड्दा पनि थोरै मतले चुनाव हार्नु परेको थियो’, उनी भन्छन्, ‘बिचमा जता लागेपनि अब फेरि स्वतन्त्र रूपमा चुनाव लड्छु । सबैको सहयोग पाउनेमा ढुक्क छु ।’

सपना ‘धनगढी मोडेल’
हमाल आफूलाई एक राम्रो ‘म्यानेजर’ मान्छन् । आफ्नो त्यही क्षमतालाई प्रयोग गरेर धनगढीलाई विकसित सहर ‘धनगढी मोडल’ बनाउने सपना रहेको उनी बताउँछन् । ‘मसँग व्यस्थापनको राम्रो ज्ञान छ, म गुड म्यानेजर हुँ’, उनी भन्छन्, ‘आफूमा भएको ज्ञान सीपलाई उपयोग गरेर धनगढीलाई ‘धनगढी मोडल’का रूपमा विकास गर्ने मेरो सपना हो ।’

सुन्दर सुदूरपश्चिमका अभियान्तासमेत रहेका हमालले विगत र वर्तमानमा नेतृत्व गरेका हरेक सङ्घसंस्था अग्रपंक्तिमा नै छन् । विकासका लागि समाजमा परेको आफ्नो छाप नै निर्वाचनमा मत पाउने बलियो आधार रहेको उनी मान्छन् ।

उनी धनगढीमा दिनेश यातायात, दिनेश एफएम, दिनेश कटेज लगायत स्थापित कम्पनीहरूका सञ्चालक हुन् ।

अन्य पार्टीको अफर
स्थानीय तहको निर्वाचनको मिति तोकिएसँगै धनगढीको अबको मेयर बन्ने भन्ने चर्चा शुरू भैसकेको छ । जसका लागि दलहरू पनि उपयुक्त उम्मेदवारको खोजी गर्न थालिसकेका छन् । कांग्रेसको बर्चस्व रहेको धनगढीमा अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवार हमालले कांग्रेसकै उम्मेदवारलाई टक्कर दिएका थिए । जबकी एमाले र माओवादी तेस्रोरचौथोमा सीमित बन्न पुगे ।

अहिले चुनावको मिति तोकिएसँगै कांग्रेसबाहेकका दलहरूले हमाललाई आफ्नो पार्टीबाट मेयरको चुनाव लड्न अफर गरिरहेका छन् । तर उनी भने स्वतन्त्र भएर नै चुनाव लड्न चाहन्छन् । ‘विगतमा स्वतन्त्र भएर लड्दा नै राम्रो मत पाएको थिएँ’, उनी भन्छन्, ‘मेरो राजनीति गर्ने उद्देश्य पनि होइन । स्वतन्त्र भएर नै लड्दा बढी माया पाउँछु र विजयी भएपछि पनि काम गर्न सजिलो हुन्छ ।’

उनी मेयरमा जितेर गए पनि राजनीतिक दलमा आवद्ध नहुने बताउँछन् । ‘स्वतन्त्र भएर विजयी भएका केही मानिसहरू पछि राजनीतिक दलमा पनि प्रवेश गर्छन् तर म त्यो पक्षमा छैन’, उनले भने, ‘स्वतन्त्र भएर काम गर्न जति दलमा आवद्ध भएर काम गर्न सजिलो छैन । कार्यकर्ता पाल्न पनि पर्दैन, न कसैको दवाव सहनुपर्छ ।’

धनगढीलाई नमुना सहर बनाउने आफ्नो सपना रहेको भन्दै उनी भन्छन्, ‘धनगढी मोडलको सिको गर्दै अरू सहर पनि विकासको बाटो अवलम्बन गरून् । तर त्यो भन्दा पहिले त्यो काम गर्ने अवसर मलाई मिल्नुपर्छ ।’

उनले कुनै दलमा आवद्ध हुँदा भन्दा स्वतन्त्र रुपमा चुनाब लड्दा बढी मत आउने ठानेर नै आफू कुनैपनि दलबाट उम्मेदवार नबनि स्वतन्त्र रुपमा उम्मेदवारी दिन चाहेको उनी बताउँछन् ।

सम्बन्धितः

स्थानीय चुनावलाई दलीय नबनाऔँ : गनेस पौडेल

पोखराको मेयरमा उम्मेदवार बन्ने साहित्यकार गनेस पौडेलको घोषणा

प्रतिक्रिया

One thought on “धनगढीलाई ‘मोडेल’ बनाउने हमालको सपना, मेयर बन्न त्यागे पार्टी

Leave a Reply

Your email address will not be published. Required fields are marked *