कुराकानी

स्थानीय चुनावलाई दलीय नबनाऔँ : गनेस पौडेल

गनेस पौडेल उस्तै तर अलि बेग्लै लेखक हुन् । उनी जे गर्छन् अलि बेग्लै गर्छन् वा अलि बेग्लै तरिकाले गर्छन् भन्छन् उनलाई नजिकबाट चिन्नेहरू । कहिले पोखरामा र्यान्डम रिडर्स खोल्दा होस् वा पोखरा विमानस्थल जनसरोकार समितिको नेतृत्व गर्दा होस् वा मझेरी सहकारीको स्थापना गर्दै गर्दा होस्, उनी केही फरक गरिरहेका भेटिए पनि । कहिले मिठो गीतको लिंक पठाइदिनेलाई त कहिले कुनै क्विजमा उत्तर मिलाउनेलाई पुस्तक उपहार पठाइदिने गनेसले धेरै कृति लेखेका छैनन् तर एउटै उपन्यास ‘पैताला’बाट उनी मानिसको मनमा बसेका छन् । ‘पैताला’ले मस्तिष्क हल्लायो भन्नेहरू धेरै भेटिन्छन् । उनी पछिल्लो समय पुस्तक सम्पादनको काममा व्यस्त थिए । मान्छेलाई यस्तै लाग्थ्यो । अल्लि अघि त उनले अब आफू फेसबुकबाट बिदा भएको भन्दै साथीहरूलाई खिन्न बनाए ।

तर त्यस्तो घोषणा गरेको केही दिनमै उनी फेसबुकमै फर्किए र घोषणा गरे कि अब म पोखरा महानगरको मेयरमा उठ्छु । अनि पो मान्छेले थाहा पाए उनी त फेसबुकबाट हराएका वा सम्पादनमा मात्र सीमित भएका होइन रहेछन् । मनमनै गजब तयारी पो गरिरहेका रहेछन् । मूलधारको भनिने राजनीतिबाट वाक्क दिक्क प्याक्क भएपछि र भएकाहरूका पक्षबाट उनी मेयरको उम्मेदवार बन्ने निष्कर्षमा पुगेको बताउँछन् । उम्मेदवारी घोषणासँगै उनले अटेरी अभियान पनि सञ्चालन गर्ने तयारीमा छन् । आफूजस्तै अटेरीहरू आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा उम्मेदवार बनाउनु र मूलधारको नाममा मनमौजी गर्दै आएका दल र तिनका अगुवाको राजनीतिक जरोकिला हल्लाउनु मुख्य ध्येय रहेको उनी बताउँछन् । लेखकसँगै अब पोखरा महानगरको मेयर बन्ने उद्घोष गरेका पौडेलसँग मकालुखबर का लागि लक्ष्मण कार्कीले गरेको कुराकानी :-

पोखराको मेयरमा उम्मेदवारी दिने घोषणा गर्नुभयो । घोषणा गर्नुअघि कतिदिन घोत्लिनुभयो ? कि यसै फ्याट्ट दिमागमा आयो र पोस्ट गरिदिनुभयो स्टाटस् ?
उम्मेदवारी घोषणा योजनाबद्ध नै हो । अघिल्लो पटकको चुनावमै पनि मैले उम्मेदवार बन्ने भनेर केही साथीहरूसँग छलफल गरेको थिएँ । त्यसबेला एक प्रकारको ‘गट’ आएन । विविध कारणले उम्मेदवारी दिने साहस आएन भन्छु म । साथीहरूले खर्च बढी हुने, नजित्ने लडाइँ किन लड्ने भन्नेजस्ता डर पनि देखाउनुभयो । त्यसैले उम्मेदवारी आएन । अहिले चाहिँ मैले केही समयदेखि नै मनमनै तयारी गरेको थिएँ । स्थानीय तहमा वा प्रदेशमा वा संघीय कुनमा उठौँ भनेर पनि सोचेँ । तर स्थानीय नै ठिक हो भन्ने लाग्यो । यसपटक चाहिँ मैले कसैसँग सल्लाह गरिनँ । सल्लाह बल्ल अब गर्छु, जित्ने कसरी भन्ने विषयमा सल्लाह गर्छु । अब कसरी चुनावी अभियानलाई प्रभावकारी बनाउने, कसरी चुनाव जित्ने, कसरी आफ्ना मुद्दाहरू स्थापित गर्ने भन्ने कुरामा उहाँहरूसँग सल्लाह गर्छु । सहयोग, हौसला, शुभेच्छा लिँदै अघि बढ्ने हो ।

उम्मेदवारी घोषणा प्राविधिक कुरा भयो । उम्मेदवारीको अन्तर्य त जित्ने भन्ने नै हो । जित्नका लागि तपाईँ कुनै दलमा आबद्ध हुने सम्भावना छ कि छैन ? अथवा कुनै दलले तपाईँ हाम्रो उम्मेदवार बनिदिनुहोस् भने भने तपाईँले त्यो स्विकार्ने सम्भावना कत्तिको छ ?
(हाँस्दै) तपाईँले भने जस्तो केही दलहरूले त यस्तो संकेत गर्न थालिसक्नुभयो । तपाईँ जत्तिको उम्मेदवार भए हामी सहयोग गर्न तयार छौँ भन्ने तरिकाले कुरा गर्न थालिसक्नुभयो । तर म त्यसरी फस्दिनँ , कम्तीमा यो चुनावमा म कुनै दलबाट उम्मेदवार बन्दिनँ । त्यसपछिको राजनीतिक यात्रा के हुन्छ भन्ने कुराको ठोकुवा अहिले नै गर्दिन तर यो चुनावमा म कुनै दलमा जान्नँ । स्वतन्त्र भएरै लड्ने हो । म यसपटकको मेरो उम्मेदवारी राजनीति दल प्रतिको जन-वितृष्णाको प्रतिफल हो । म उनीहरूलाई सचेत गराउन पनि उठेको हुँ ।

नेपालका राजनीतिक दल निर्वाचन आयोगमा होइन, कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका झैँ गरेर चलेका छन् । राजनीति गर्ने तरिका भनेको राजनीतिक दलले उम्मेदवार दिने प्रक्रियाबाटै खराब भएर गएको छ । लोकतान्त्रिक अभ्यासको प्रारम्भ बिन्दुमै भड्खालो छ ।

हामीलाई जबरजस्ती खाए खा, नखाए घिच भन्ने प्रकारले राजनीतिक दलले उम्मेदवारहरू पठाएका छन् । राजनीतिक दलले उम्मेदवारीको टिकट दिने प्रावधान के के छन् हेर्नुस् त ? एक: राजनीति त्याग (जो खासमा त्याग नभएर लगानी थियो भन्ने कुरा अहिले प्रमाणित भएको छ), दुई: दलमा संलग्न भएको समयावधि (जसले युवालाई माथिल्लो पदमा पुग्न सधैँ बन्देज लगाउँछ), तीन: चुनावमा खर्च गर्न वा जुटाउन सक्ने वा पार्टीलाई चन्दा दिन सक्ने क्षमता (जसले गर्दा विचार र मुद्दा बोकेर चुनाव लड्नु सामान्य जनको क्षमताभन्दा बाहिरको विषय भैसकेको छ) । यस्तो मापदण्डबाट कसरी डेलिभरी दिनसक्ने उम्मेदवार पाउँछौँ हामीले ?

यसकै कारणले राजनीति ठेकेदारीमा वा कम्पनीमा परिणत भएको छ । नेपालका राजनीतिक दल निर्वाचन आयोगमा होइन, कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका झैँ गरेर चलेका छन् । राजनीति गर्ने तरिका भनेको राजनीतिक दलले उम्मेदवार दिने प्रक्रियाबाटै खराब भएर गएको छ । लोकतान्त्रिक अभ्यासको प्रारम्भ बिन्दुमै भड्खालो छ ।

विकास भनेको बाटो, पुल, अस्पताल, स्कुल आदि होइनन् । ती त विकासका पूर्वाधार हुन् । तिने दिने सेवा बल्ल विकास हो । तिनले मेट्ने आर्थिक असन्तुलन बल्ल विकास हो । तिनले तोड्ने असमानताको जन्जिर बल्ल विकास हो । अहिले सार्वजनिक संस्थाहरूको गुणस्तर र डेलिभरी कस्तो छ ? ती प्रतिको जनविश्वास कस्तो छ ? नेपालको एउटा सार्वजनिक संस्था देखाउनुस् जसप्रतिको जनविश्वास अझै कायम छ ?मेरो उम्मेदवारी यसैप्रतिको प्रतिरोध हो ।

घिनलाग्दो राजनीतिले जे अवस्था हामीमाथि लादेको छ, जुन बाध्यतामा हामीलाई पारिएको छ र वाक्क बनाइएको छ । त्यसप्रतिको अटेरीपना कति छ त भन्ने कुरा म हेर्न चाहन्छु । मेरो उम्मेदवारी फोहोरी राजनीतिबाट आजित भएका पोखरेली जनसङ्ख्या कति भन्ने कुराको तथ्यांक संकलनको अवसर पनि हो ।

त्यसैले म कुनै राजनीतिक दलबाट उठ्ने वा यही उम्मेदवारीबाट पछि हट्ने सम्भावना छैन ।

पक्कै पनि ‘मूलधार’का दलप्रति नागरिकको आक्रोश बढेको देखिन्छ । यसैलाई लिएर खुलेका वैकल्पिक राजनीति बोकेका विवेकशील साझा, विवेकशील दल छन् । यी दलबाट लड्दा अलि सहज हुन्छ होला नि तपाईँलाई ?
संसारभर अहिले वैकल्पिक राजनीतिको उभार छ । तर संसारभरका वैकल्पिक राजनीतिमा एकरूपता छैन । वैकल्पिक राजनीति देशको भूगोल, अर्थ-राजनीति, जनसङ्ख्याको बनोट, आदिजस्ता धेरै कुराले प्रभावित गरेको हुन्छ । नेपालमा पनि यसप्रकारको राजनीति गर्ने अभ्यास भइरहेकै छ । कुनै बेला म आफैँ पनि स्वयम एक समय वैकल्पिक राजनीति गर्नुपर्छ भनेर लागेको थिएँ । पछि म संलग्न दलबाट त्यो सम्भव नहुने देखेँ र बाहिरिएँ ।

नेपालको वैकल्पिक राजनीतिलाई दुई जना व्यक्तिले गिजोले । पहिलो बाबुराम भट्टराई । उहाँले वैकल्पिक राजनीतिको अभ्यासको नाममा शक्ति संचयनकै परम्परावादी खेल खेल्नु भयो । यसले गर्दा वैकल्पिक राजनीतिप्रतिको जनअनुराग नै घटाइदियो ।

दोस्रो रवीन्द्र मिश्र । विवेकशील र साझा पार्टीहरू एकीकरण भइसकेपछि ठूलो सम्भावना सिर्जना भएको हो । तर जुन खालको वैचारिक विचलन र राजनीतिक अभ्यास त्यहाँ सिर्जना भयो, त्यसले संगठित वैकल्पिक राजनीतिलाई स्यावोटेज नै गर्‍यो । ‘विचारभन्दा माथि देश’को मुद्दाले ‘संगठनभन्दा माथि वैकल्पिक राजनीति’ भन्ने मोडलमा पुगिसक्यो ।

खासका कम्युनिष्टहरू अर्थात् मार्क्सवादीहरू एमालेमा वा माओवादीमा भन्दा बाहिर बढी छन् । लोकतन्त्रवादीहरू कांग्रेसमा भन्दा बाहिर धेरै छन् । जुन देशमा खासमा त्यही विचार भएकाहरू संगठनमा भन्दा स्वतन्त्र धेरै बसेका हुन्छन् त्यहाँ किन दलको समर्थनमा उम्मेदवारी दिनु ?

उहाँहरू दुवैको कारणले अहिले वैकल्पिक राजनीतिमा विश्वास गर्नेहरूको तादात संगठित भन्दा असंगठित ठूलो छ । वैकल्पिक राजनीतिको मुख्य आधार भनेको संविधानवाद हो । संविधान र व्यवस्था फेरे (भलै संविधानले नै यसो गर्न सकिने प्रावधान किन नराखेको होस्) मात्रै अवस्था फेरिन्छ भन्ने खालको राजनीतिले वैकल्पिक राजनीति हुँदैन । वैकल्पिक राजनीतिको प्रस्थानबिन्दु विद्यमान व्यवस्थाकै उन्नत प्रयोगबाट क्वालिटी डेलिभरी दिनु हो ।

नेपालमा वैकल्पिक राजनीतिको सम्भावना सकिएको छैन । अझ प्रकाशित भएको छ । किनकि वैकल्पिक राजनीतिमा विश्वास गर्नेको राजनीतिक सौन्दर्य के हो भने उनीहरू अन्य दलझैँ सधैँ दलप्रति वफादार हुँदैनन् । व्यक्तिप्रति वफादार हुँदैनन् । यस्ता व्यक्ति जुनसुकै दलमा पनि हुन्छन् । एमाले वा कांग्रेसमा पनि हुन्छन् । जनमतबारे वैकल्पिक राजनीतिको मूलभूत विश्वास के हो भने, अरू दलमा जस्तो लौरो उठाए पनि जिताउने भन्ने हठ त्यहाँ हुँदैन ।

स्वतन्त्र उम्मेदवारी आफैँमा विकल्प हो । वैकल्पिक राजनीतिको एउटा अकाट्य अभ्यास हो । त्यसैले वैकल्पिक भनिएका कुनै दलबाट प्रस्ताव आउँदैमा म कुनै उक्त दलको उम्मेदवार बन्दिनँ । कुनै दलले दलीय स्वार्थभन्दा माथि उठेर मलाई नि:सर्त सहयोग गर्छ भने त्यो बेग्लै कुरा हो ।

मूलधारकै दलले प्रस्ताव राखे के गर्नु हुन्छ ?
एक त मूलधारका राजनीतिक दलको उम्मेदवार छनौटको न्यूनतम क्राइटेरियामा नै म पर्दिनँ । माथि नै भनिसकेँ तिनका क्राइटेरिया । अर्को कुरा जसरी वैकल्पिक राजनीतिमा विश्वास गर्नेहरू संगठितभन्दा असंगठित बढी छन्, अरू दलको हाल पनि त्यही हो ।

खासका कम्युनिष्टहरू अर्थात् मार्क्सवादीहरू एमालेमा वा माओवादीमा भन्दा बाहिर बढी छन् । खासका लोकतन्त्रवादीहरू कांग्रेसमा भन्दा बाहिर धेरै छन् । जुन देशमा खासमा त्यही विचार भएकाहरू संगठनमा भन्दा स्वतन्त्र धेरै बसेका हुन्छन् त्यहाँ किन दलको समर्थनमा उम्मेदवारी दिनु ?

तपाईँ पोखरा महानगरको मेयरका लागि कसरी योग्य हुनुहुन्छ ? उम्मेदवारको दाबेदारी कसरी पुष्टि गर्नुहुन्छ ?
स्थानीय निकायका जनप्रतिनिधिको चयन दलीय प्रतिस्पर्धाबाट नभई स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धाबाट छानिने अभ्यास विश्वका धेरै ठाउँमा छ । तीन तहको सरकार हामीले अभ्यास गरिरहेको भए पनि स्थानीय तहमा ‘दलीय भोट’ अर्थात् समानुपातिक मतको प्रावधान छैन । दलकै नामबाट उठेका भए पनि खासमा सबै स्थानीय जनप्रतिनिधिहरू ‘स्वतन्त्र’ उम्मेदवार पनि हुन् ।

कुनै वाद वा विचार बोकेको राजनीतिक दलभन्दा पनि स्थानीय मुद्दाहरूसँग भिजेको, स्थानीय समस्या बुझेको, टोल छिमेकलाई बुझेको, नागरिकका गुनासा र चासोका पक्षमा काम गरेको व्यक्तिलाई जनप्रतिनिधिका रूपमा जिताउने स्थानीय निर्वाचनको मूल आशय हो । संसारभर यही प्रचलन छ ।

पोखराको कुरा गर्दा पोखराको मौलिक पहिचानलाई तहसनहस बनाउने काम भइरहेको छ । पोखरा पोखरी र चौताराको शहर हो । अहिले यहाँ पोखरी र चौतारा पाइँदैनन् । पोखरीको शहर भएकाले नाम पोखरा भएको हो । तर अहिले सबै मासिए । सांस्कृतिक सम्पदाहरू तहसनहस छन् । सांस्कृतिक, शैक्षिक, आर्थिक, सामाजिक पक्षहरूबारे बहस पनि भएन, काम भएन । मेयरका उम्मेदवारका अति नै ठुला महत्वकांक्षाका कुरा हुने तर काम नहुने देखियो । धेरै जनालाई थाहा नहुन सक्छ पोखरामा सार्वजनिक जग्गा हजारौँ रोपनी छ । ती सबै अतिक्रमणमा परेका छन् । नदी तटीय क्षेत्रका सबैजसो जग्गा अतिक्रमण गरिएका छन् । पर्यावरणमैत्री विकासका बारेमा केही थाहा छैन । हिमाल जम्मा ३३ किलोमिटर मात्र टाढा भएकाले यहाँको प्रदूषणले गर्दा हिमाल सिधै प्रभावित भइरहेका छन् । यी विषय प्राथमिकतामै छैन ।

धेरैले याद नगरेको हुन सक्छ । पोखरा आफैँमा प्राकृतिक रूपमा पनि अति संवेदनशील शहर हो । यो त मादी, मोदी र आँधी खोलाको बिचको ठाउँ हो नि । यसलाई बुटिक शहरका रूपमा विकसित गर्न सकिन्छ । गर्नुपर्ने यही नै हो । तर जबरजस्ती राजनीतिले यसरी खतम बनाइरहेको छ कि कुरै नगरौँ । अहिले लेकसाइट मात्र पोखराको पहिचान भनेजस्तो भएको छ । लेकसाइड पुगेपछि पोखरा पुगियो जस्तो । तर त्यही तालमाथिको जग्गाबारे अदालतले गरेको फैसला नै कार्यान्वयन हुन नसकेको अवस्था छ । आठवटै ताल अतिक्रमणमा परेका छन् । बाटो अतिक्रमणमा छ । तपाईँहरूले समाचार लेखेको लेख्यै हुनुहुन्छ तर रोकिएको छैन । अवस्था कस्तो पनि छ भने अदालतले फैसला गरिसकेको जग्गा पनि फिर्ता ल्याउन सकेको अवस्था छैन । किनभने एकातिर कांग्रेसको नेताको जग्गा छ अर्कातिर एमालेको र अर्कातिर माओवादीका व्यापारीका जग्गा छन् । जबसम्म दलका उम्मेदवारले चुनाव जित्छन् फेवातालको समस्या कहिल्यै समाधान हुँदैन । न त अन्य ठाउँको सार्वजनिक जग्गा महानगरको मातहत नै आउन सक्छ । उनीहरूले त्यो काम गर्नै नसक्ने रहेछन् ।

‘लाहुरेले बनाएको नयाँ’ सहर भएकोले होला पोखरामा अझै पनि खुला ठाउँहरू छन् । धेरै गिजोलिइसहेको छैन । गर्न सकिने धेरै सम्भावनाहरू छन् । पोखरा र यहाँको सम्पदा मास्ने क्रम चलेको छ तर मासिइसकेको छैन । यसलाई प्राकृतिक र सांस्कृतिक हिसाबले बुटिक सहरको रूपमा विकसित गर्न सकिन्छ । र यो काम दलका उम्मेदवारले गर्न सक्ने अवस्था किन छैन भने उनीहरू कुनै न कुनै स्वार्थ समूह, व्यापारी, दलालको चँगुलमा पुगिसकेका छन् ।

त्यसैले पनि मैले अगाडि नै उम्मेदवारी घोषणा गरेको हुँ । यसले गर्दा मलाई पनि तीन महिनाको समय मिल्ने भयो । पर्याप्त तयारी गर्न सक्ने भएँ । अर्कातिर ‘अटेरी युवा आन्दोलन’का रूपमा हाम्रो उपस्थितिले दलहरूभित्र पनि दबाब बढाउने छ । उनीहरूले अब जोसुकै उम्मेदवार उठाएर जितिँदैन भन्ने दबाब त बढ्छ नि । मेरै डरले कथित मूलधारका पार्टीले असल उम्मेदवार उठाए भने मैले हारुँला तर पनि पोखराले जित्नेछ । खराब उठाए भने मैलेँ जितुँला र त्यो बेला पनि पोखराले अवश्य जित्नेछ ।

दलीय उम्मेदवारीका विरुद्धमा आउने जोकोहीको स्वतन्त्र उम्मेदवारी लोकतन्त्रको सुरक्षार्थ चलाइने अन्तिम हतियार हो । यो हतियार पनि असफल भयो भने समग्र राजनीति नै असफल भयो, समाज नै असफल भयो भन्ने निष्कर्ष निकाल्नु पर्ने हुन्छ । म चाहन्नँ कि त्यस्तो निष्कर्ष निस्कोस् ।

अरूको फैसला चुनावपछि हुन्छ तर मेरो फैसला उम्मेदवारी दर्ताको दिनमा नै थाहा हुन्छ । चल्तीका दलले कस्ता उम्मेदवार उठाउँछन् भन्ने हिसाबले थाहा हुन्छ । ‘अगतिलो उम्मेदवार उठायौँ भने गनेसले भोट काट्छ’ भन्ने भय दिनु नै मेरो पहिलो उद्देश्य हो । र, त्यो उद्देश्य शानदार रूपले स्थापित भएको छ । म चाहन्छु देशै भर यस्तो माहौल खडा होस् ।

मेरै कारणले चल्तीका दलबाटै मभन्दा पनि असल व्यक्ति उम्मेदवार बने भने त राम्रो भयो नि । त्यो बेला म हरुँला तर पोखराले जित्नेछ नि ! तिनले खराब उम्मेदवार उठाए भने मैले जित्नेछु, र त्यो बेला पनि पोखराकै जीत हुनेछ । व्यक्तिको जीत गौण हो, देशको जीत प्रधान हो ।

त्यसैले हामी पोखराको सबै वडामा मात्रै होइन देशका सबै स्थानीय तहमा पनि जतिसक्दो धेरै स्वतन्त्र उम्मेदवार उठाउने तयारीमा छौँ । यसले कथित ठुला दलभित्र दबाब बढ्छ । यसले नागरिकहरू दलप्रति कति दिक्क भएका छन् त भन्ने पनि देखाउने भयो । जीत हारको कुरा एक ठाउँमा रह्यो तर दलहरूलाई दबाब दिने वा मनपरी गर्न नदिने दबाब त अवश्य यसले बढाउने छ । दलभित्र पनि असल इमानदार व्यक्ति उठाऊँ भन्ने दबाब त बढ्छ । यो पनि त राम्रै कुरा भयो । त्यसैले ‘अटेरी युवा अभियान’लाई विस्तार गर्ने योजनामा पनि छौँ हामी ।

तपाईँको घोषणापत्र चाहिँ कहिले आउला त ?
चाँडै आउँछ । म घोषणापत्रलाई कार्ययोजनामा सीमित गर्ने पक्षमा छैन । लोकतन्त्रमा दलहरूले जथाभाबी गर्न थाले भने स्वतन्त्र उम्मेदवारीले त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ र गर्नु पर्छ भन्ने विषयको सैद्धान्तिक मेरो घोषणापत्रको ध्येय हुनेछ । दलीय उम्मेदवारीका विरुद्धमा आउने जोकोहीको स्वतन्त्र उम्मेदवारी लोकतन्त्रको सुरक्षार्थ चलाइने अन्तिम हतियार हो । यो हतियार पनि असफल भयो भने समग्र राजनीति नै असफल भयो, समाज नै असफल भयो भन्ने निष्कर्ष निकाल्नु पर्ने हुन्छ । म चाहन्नँ कि त्यस्तो निष्कर्ष निस्कोस् ।

तपाईँ साहित्यमा एउटा बेग्लैखाले प्रभाव पारेको मान्छे अब राजनीति तिर लाग्ने रहर गर्नुभयो । यसले गर्दा तपाईँ यतै रत्तिने र साहित्यानुरागीलाई खिन्न बनाउने खतरा कत्तिको छ ?
होइन त्यस्तो हुँदैन । मैले छापा लेखन छोडेको दुई तीन वर्ष भो । पोहोर मात्रै एउटा एक लेख आउनुबाहेक दुई तीन वर्षदेखि लेखेको छैन छापामा । तर अरू चाहिँ लेखिरहेकै छु । एक आख्यान र एक गैरआख्यान तयारी अवस्थामा छन् । प्रकाशन गर्ने तयारीमा छु ।

लेखन र राजनीति प्रतिस्पर्धी विधा होइनन् । अलग विधा मात्रै हुन् । बीपी कोइरालाले राजनीति र साहित्य दुबैतिर सफल हुनु भएको थियो । त्यसैले यो एकातिर लाग्दा अर्कोलाई चटक्कै माया मार्नुपर्छ भन्ने हुँदैन । कम्तीमा म त्यसो गर्दिनँ । म आफ्नो खुसीको लागि लेखूँ, समाजको खुसीका लागि राजनीति गरूँ ! ध्येय यत्ति हो ।

याे पनि : पोखराको मेयरमा उम्मेदवार बन्ने साहित्यकार गनेस पौडेलको घोषणा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *