फिफा र युईएफएद्वारा रसियाको राष्ट्रिय टिम र क्लबमाथि प्रतिबन्ध

काठमाडाैँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको नियामक निकाय युईएफएले रसियाको राष्ट्रिय टीम र क्लबहरूमाथि अनिश्चितकालीन प्रतिबन्धको घोषणा गरेको छ । यो सँगै रसियाले अब कुनैपनि अन्तराष्ट्रिय फुटबल प्रतियोगिताहरू खेल्न पाउने छैन् ।
फिफा र युईएफएले संयुक्त विज्ञप्ति जारी गर्दै रसियाको राष्ट्रिय फुटबल टीम र क्लबहरूलाई अर्को सचूना नभएसम्मका लागि प्रतिबन्ध लगाएको उल्लेख गरेको छ । उसले युक्रेनको साथमा रहेको भन्दै विश्व फुटबलको हितका लागि र शान्ति स्थापनाका लागि प्रतिबन्ध लगाउनु परेको उल्लेख गरेको छ ।
रसियाको फुटबलको नियामक निकाय आरएफयु (द रसियन फुटबल युनियन) ले भने यो निर्णयको चर्को विरोध गरको छ । उसले फिफा र युइएफएले अन्तराष्ट्रिय खेलकुद कानुनको गम्भिर उल्लंघन गरेको आरोप लगाएको छ ।
फिफाले आइतबार मात्र रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गान बिना अन्तराष्ट्रिय फुटबल खेल्न निर्देशन दिएको थियो । उसले न्युट्रल भेन्युमा फुटबल खेल्न पाउने तर राष्ट्रको नाम, झन्डा र राष्ट्रिय गान प्रयोग गर्न नपाउने निर्णय गरेपनि विश्वकप छनोट खेल्ने विपक्षी देशहरू पोल्यान्ड, स्वीडेन, लगायतले कुनेपनि हालतमा नखेल्ने निर्णय गरेको उनीहरूलाई सिंगो युरोपियन देशले सपोर्ट गरेपछि फिफा प्रतिबन्धका लागि बाध्य भएको हो । फिफा माथि समग्र पश्चिमा राष्ट्रहरूले सुरुवातबाटै प्रतिबन्धन लगाउन चर्को दबाब दिँदै आएका थिए ।
फिफाको प्रतिबन्धसँगै रुसले मार्चमा पोल्याण्डविरुद्ध हुने विश्वकप छनोट अन्तर्गत प्ले अफ खेल गुमाउने भएको छ । त्यस्तै महिला टीमले समरमा हुने युरो(२०२२ को प्रतियोगिता गुमाउने छ । यस्तै रुसी क्लब स्पार्टक मस्कोले पनि युरोपा लिग खेल्न पाउने छैन् । जसका कारण अन्तिम १६ मा उसको प्रतिद्वन्द्वी रहेको आरबी लेइपजिङले वाकओभर पाएर सीधै क्वाटरफाइनलमा स्थान बनाउने छ ।
साथै युएईएफले रसियाको इनर्जी जाइन्ट जाजप्रोमसँगको स्पोन्सर सम्झौता समेत रद्द गरेको छ । फिफा र युईएफले संयुक्त विज्ञप्ति जारी गर्दै भने, ‘फुटबलले सधैँ सबैलाई एकताबद्ध बनाउने विश्वास हामीलाई छ, त्यसैले हामी युद्धबाट प्रभावित युक्रेनी नागरिकको साथमा एकाताबद्ध भएका छौँ ।’ फिफा र युइएफएका दुबै अध्यक्षले चाँडै अवस्था सुधार हुने र फुटबलले पुनः जित हासिल गर्ने विश्वास गर्दै जनताले एकता र शान्तिको महसुस गर्ने विश्वास व्यक्त गरेका छन् ।








