एमसीसी पारित गर्नु गैरकानुनी र असंवैधानिक : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाले गैर कानुनी रुपमा एमसीसी परियोजना पारित गरेको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै ओलीले मृत प्रस्ताबलाई पारित गर्ने गैरकानुनी रअसंवैधानिक काम भएको जिकिर गरेका हुन् ।

संसदको कानुन अनुसार प्रतिनिधिसभाको एक अधिवेशनमा दर्ता भएको प्रस्ताव त्यो अधिवेशनमा पेश नभए स्वत खारेज हुने दाबी गर्दै यसअघि नै दर्ता भएको प्रस्ताव फेरि दर्तै नगरि अहिले सभामुखले पास गरेको र यो गैरकानुनी रहेको ओलीले जिकिर गरे ।

धेरै अघि दर्ता गरिएको अर्थात अहिले मृत भइसकेको प्रस्ताव फेरि दर्तै नगरी सभामुखले पारित गराउने काम गर्नुभयो । यो गैरकानुनी र गैर संवैधानिक छ किनकी एउटा अधिवेशनमा दर्ता भएको प्रस्ताव पेश नभए स्वतः खारेज हुन्छ ’ ओलीले भने ।

तर ओलीको यो भनाइ गलत छ । किनभने विधेयक र सन्धि सम्झौता भने संसदको कार्यकालभर कायम नै रहन्छन्। स‌ंसदमा दर्ता भएका सन्धि सम्झाैता सम्बन्धि प्रस्ताव फिर्ता लिइएमा, पारित नभएमा, दर्ता गर्ने सांसदको निधन भएमा, स‌ंसदको कार्यकाल सकिएमा वा संसद विघटन भएमा मात्र निष्कृय हुने कानूनी प्रावधान छ । संसदमा दर्ता भएका ध्यानाकर्षण प्रस्ताव, संकल्प प्रस्ताव, सार्वजनिक महत्वका प्रस्तावलगायत भने संसदकाे अधिवेशन सकिएपछि स्वतः निष्क्रिय हुन्छन् ।

ओलीले संसदको सबैभन्दा ठूलो दलले अवरोध जनाइरहेका बेला एमसीसीलाई पारित गरिनु पनि गैरकानुनी भएको अध्यक्ष ओलीको भनाई छ । सांसदहरूले वेल घेरिरहेका बेला उनीहरू भन्दा धेरै मर्यादापालक खटाएर जबरजस्ती पारित गरिएको र यो गलत भएको ओलीको भनाई छ ।

‘सांसदहरूले सभामुखतिर पिठ्युँ फर्काएर बस्दैनन्, पिठ्युँ फर्काउने कुरालाई राम्रो मानिँदैन पनि तर सभामुखले मर्यादापालकलाई पिठ्युँ फर्काउन लगाएर एमसीसी पारित गर्नुभयो यो शोभनीय पनि भएन ’ ओलीको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *