वीरेन्द्रनगर: कर्फ्यु उल्लङ्घन भए गोली चलाउन आदेश

सुर्खेत । एमसीसीविरोधी आन्दोलन चर्कँदै गएपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्फ्यु आदेश जारी गरिएको छ । सोमबार बिहानैदेखि प्रदर्शनकारीले एमसीसीविरुद्ध नारा लगाउँदै सुरक्षाकर्मीलाई समेत सास्ती दिएकाे र आन्दोलन नियन्त्रण बाहिर गएपछि कर्फ्यु आदेश जारी गर्न परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कर्फ्यु आदेश उल्ल‌ंघन गरि सुरक्षाकर्मीमाथि आक्रमण गर्नेलाई गोली सम्म हान्ने आदेश दिइएकाे जानकारी दिए । ‘कर्फ्यु आदेशलाई उल्लङ्घन गर्नेलाई गोलीसमेत हान्न सकिने आदेश जारी गरिएको छ’ मकालुखबरसँग उनले भने ‘हामी सुरुमा सम्झाई बुझाई गर्छौँ । यदि आदेशको वास्ता नै नगरी आदेश उल्लङ्घन गरेको खण्डमा गोली समेत हान्न सकिने आदेश जारी छ ।’

नेपाल बन्दकर्ताले सोमबार साँझ विभिन्न राजनीतिक दलका कार्यालयका बाेर्ड र ब्यानर जलाउनुका साथै भौतिक क्षति समेत पु-याएका छन् । प्रदर्शनकारीले विभिन्न चोकमा रहेका प्रहरीका अस्थायी विटमा समेत बन्दकर्ताले क्षति पु-याएका छन् । प्रजिअ रिजालले भने ‘बन्दकर्ताहरु अहिलेपनि लुकिछिपी प्रहरीमाथि ढुङ्गा हान्नेक्रम जारी राखेका छन् मंगलबार बिहान प्रहरीमाथि ढुङ्गा हान्न प्रयास गर्ने तीन जनालाई पक्राउ गरिएको छ ।’नेपाल बन्दकर्ताहरु उग्र बन्दै गएपछि वीरेन्द्रनगरका मुख्य चोक मंगलगढी, यरीचोक, वीरेन्द्र चोक, बसपार्क चोक र एरपोर्ट चोकमा प्रहरी परिचालन गरिएको थियो । तर, केही सुरक्षाकर्मी घाइते भएको र आन्दोलनले झन् उग्ररुप लिएको थियो । साँझ पाँच बजेपछि बन्दकर्ता झन् उग्र बन्दै बजारमा ढुंगामुढा गर्नुका साथै विभिन्न राजनीति दलका कार्यालयमा समेत तोडफोड गरेका थिए ।प्रहरीकाअनुसार सोमबार बिहानदेखि अहिलेसम्म २० जना आन्दोलनकर्तालाई प्रहरीले पक्राउ गरेको छ । झडपमा ७ जना प्रहरी घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यु लगाइएको छ । सोमबार बन्दकर्ता र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियो । भीड नियन्त्रणका लागि प्रहरीले तीन दर्जन भन्दा बढी राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले नेपाल बन्द घोषणा गरेका थिए ।

यो पनि : एमसीसीविरूद्धको प्रदर्शन नियन्त्रण बाहिर गएपछि वीरेन्द्रनगरमा कर्फ्यू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *