एमसीसीविरूद्धको प्रदर्शन नियन्त्रण बाहिर गएपछि वीरेन्द्रनगरमा कर्फ्यू 

सुर्खेत । एमसीसीविरूद्धको प्रदर्शनले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ । सोमबार साँझ ८ः१५ बजेदेखि मंगबार बिहान ७ः१५ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा सोमबार एमसीसीविरूद्ध आन्दोलनमा उत्रिएका बन्दाकर्ताले नेकपा एमाले र नेपाली कांग्रेसको पार्टी कार्यालयमा ढुंगामुढा गर्दै आगजनी गरेपछि प्रदर्शन नियन्त्रण बाहिर गएको हो ।

केही बन्दकर्ताहरु प्रहरीको नियन्त्रणमा रहे पनि आन्दोलन नियन्त्रण बाहिर गएको भन्दै कर्फ्यू  लगाएको जिल्ला प्रशासनले जनाएको छ । उक्त प्रदर्शनका क्रममा एमाले र कांग्रेसको पार्टी कार्यालयमा रहेका भौतिक सामानमा समेत क्षति पुगेको छ ।

यसअघि प्रदर्शनकारीहरूले वीरेन्द्रनगरका मुख्य चोक मंगलगढी र यरीचोकमा आन्दोलन गर्दै सुरक्षामा खटिएका प्रहरीमाथि समेत ढुंगामुढा गरेका थिए ।  प्रहरी र बन्दकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अश्रुग्यास समेत हानेको थियो भने केही बन्दकर्तालाई नियन्त्रणमा लिएको छ । नेकपा  विप्लवसहित ६ राजनीतिक दल र दुई मोर्चाले गरेको बन्दका कारण सुर्खेत दिउँसो केही समय तनावग्रस्त बनेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *