प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध एक उजुरी, दुई आयुक्तविरुद्ध उजुरी परेन

काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध एउटा उजुरी परेको छ ।

मंगलबार बसेको संसदीय सुनुवाइ समितिको संयुक्त बैठकले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीविरुद्ध परेको उजुरी खोलेको हो ।

समिति सभापति वोधनारायण श्रेष्ठले प्रस्तावित निर्वाचन आयुक्तद्वय गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाविरुद्ध भने कुनै उजुरी नपरेको जानकारी दिए ।

उनका अनुसार संवैधानिक व्यवस्थाअनुसार सार्वजनिक सूचना जारी गरी १० दिनभित्र उजुरी आह्वान गरिएकोमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित कार्कीविरुद्ध एउटा मात्र उजुरी प्राप्त भएको हो । समितिलाई सुनुवाइ प्रक्रियासम्बन्धी एउटा सुझाव पनि प्राप्त भएको उनले बताए ।

समितिले संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८३ को दफा १६ बमोजिम कार्कीविरुद्ध प्राप्त उजुरी खोल्ने प्रस्ताव अनुमोदन गर्दै सदस्यहरूलाई वितरण गरेको छ ।

सभापति श्रेष्ठका अनुसार पाल्पाको तानसेन–९ निवासी भेषराज भुइँटेलले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन नगर्न, सिफारिस अस्वीकृत गर्न तथा विस्तृत छानबिन गर्न माग गर्दै उजुरी दर्ता गराएका हुन् । उजुरीकर्ताले आफ्नो परिचय गोप्य नराख्न आग्रह नगरेको पनि उनले बताए ।

यस्तै, ललितपुरका उज्वलकृष्ण श्रेष्ठले सुनुवाइ प्रक्रियामा बहुमत–अल्पमतको सट्टा गोलाप्रथाबाट निर्णय गर्न सुझाव दिएका छन् । तर, प्रस्तावित पदका लागि आवश्यक संख्याअनुसार मात्रै नाम सिफारिस भएकाले उक्त सुझाव सान्दर्भिक नभएको सभापति श्रेष्ठले बताए ।

समितिले प्राप्त उजुरीमाथि छलफल गर्ने, आवश्यक परे उजुरीकर्तालाई बोलाउने तथा प्रस्तावित व्यक्तिहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका तीनै प्रस्तावित व्यक्तिको संसदीय सुनुवाइका लागि साउन १२ र १३ गतेको समय निर्धारण गरिएको छ ।

सभापति श्रेष्ठका अनुसार साउन १२ गते प्रस्तावित दुई निर्वाचन आयुक्तको र साउन १३ गते प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ हुनेछ ।

असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको नाम संसदीय सुनुवाइका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 3 =