अमेरिकाले गर्‍यो एमसीसी अनुमोदनको स्वागत

काठमाडौँ । अमेरिकाले एमसीसी सम्झौता अनुमोदनको स्वागत गरेको छ । संसद्‍बाट ५० करोड अमेरिकी डलरको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को नेपाल कम्प्याक्ट अनुमोदनलाई अमेरिकाले स्वागत गरेको हो ।

आइतबार अनुमोदन भएको केही घण्टामै काठमाडौंस्थित अमेरिकी राजदूतावासले विज्ञप्ति जारी गर्दै अब नेपाली जनतामा थप रोजगारी सिर्जना हुने, विद्युत् सेवाको आपूर्ति बढ्ने र ढुवानी खर्च घट्ने जनाएको छ । ‘एमसीसी कम्प्याक्टलाई अनुमोदन गर्ने या नगर्ने भन्ने निणर्य सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा सधैँ नेपाल सरकारको हातमा थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘हस्ताक्षरित प्रतिबद्धतालाई पूरा गर्दै कम्प्याक्टलाई अनुमोदन गर्ने संसद्को निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनेछ, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुनेछ र ढुवानीको खर्च घट्नेछ ।’

झन्डै २० वर्षअघि एमसीसीको स्थापना भएयता एमसीसी कम्प्याक्टहरूले विश्वभर नै गरिबी निवारणमा मद्दत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘आर्थिक स्वतन्त्रता, आफ्ना नागरिकमाथिको लगानी र लोकतान्त्रिक सिद्धान्तको प्रवर्द्धन तथा भ्रष्टाचारविरुद्धको लडाइँसहितको सुशासनप्रति कतिबद्ध विकासोन्मुख राष्ट्रहरूसँग साझेदारी गर्दै एमसीसीले कम्प्याक्ट सम्झौता गर्दछ,’ विज्ञप्तिमा अगाडि भनिएको छ ।

नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धका ७५ वर्षमा नेपालमा भएका विशाल र अपत्यारिला परिवर्तनमा अमेरिका नेपालको साथमा उभिएको पनि दूतावासले उल्लेख छ । ‘अमेरिका र नेपालबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो छ । हामी नेपाल र नेपालको लोकतान्त्रिक मूल्यमान्यता तथा दीर्घकालीन आर्थिक समृद्धिलाई निरन्तर रूपमा समर्थन गर्नेछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + thirteen =