अवराेध हटाएर मात्रै एमसीसीबारे छलफल गर्न सांसदहरूको माग

काठमाडाैँ । बहुचर्चित अमेरिकी परियाेजना एमसीसीबारे आइतबारबाट संसद्‌मा छलफल प्रारम्भ भएकाे छ । फागुन ८ गते प्रमुख प्रतिपक्ष दल एमालेकाे नाराबाजीका बीच नै संसद्‌मा पेश भएकाे एमसीसीबारे आजबाट छलफल प्रारम्भ भएकाे हाे । एमाले सांसदहरूले भने आज पनि आफ्नाे नाराबाजीलाई भने कायम राखेका थिए, तर सभामुख अग्निप्रसाद सापकाेटा राेकिएनन् । उनले बैठक अगि बढाए ।

उनले अर्थमन्त्री जनार्दन शर्मालाई एमसीसीकाे प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न समय दिए, अर्थमन्त्री शर्माले निर्णयार्थ प्रस्तुत गरेपछि छलफल प्रारम्भ भयाे । त्यसपछि दलगत रूपमा सांसदहरूलाई समय दिए । सांसदहरूले आ-आफ्नाे कुरा राख्दै आए ।

शुरूमा छलफलमा भाग लिएका माओवादी संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले एमसीसीमाथि छलफल गर्नका लागि वातावरण बनाइदिन सभामुखलाई आग्रह गरे । एमालेले विराेध गरिरहेकाे बैठकमा छलफल गर्न नमिल्ने उल्लेख गर्दै उनले भने— ‘एमसीसीजस्ताे विषयबारे छलफल हुँदा यहाँ राम्राे वातावरण बनाेस् शुरूमा । अनि मात्रै थप छलफललाई अगि बढाऔँ । छलफल त गरियाे, तर के हाे के हाे जस्ताे हुन्छ ।’

सचेतक गुरुङपछि छलफलमा भाग लिएका एमाले सांसद भीमबहादुर रावलले पनि साेही कुरा सभामुखलाई सम्झाए, भने— ‘यहाँ छलफलकाे वातावरण नै छैन । शुरूमा सहज वातावरणमा छलफल गर्ने वातावरण बनाउँ र अनि मात्रै अघि बढाैँ । प्रमुख प्रतिपक्ष दलले यसरी विराेध गरिरहेकाे छ, हामी बैठकलाई अगि बढाइरहेका छाैँ, छलफल गरिरहेका छाैँ । पहिले संसद्‌मा छलफल गर्न सकिने वातावरण बनाेस् ।’

एकीकृत समाजवादीका सम्मानित नेतासमेत रहेका सांसद झलनाथ खनालले पनि रावलकै भनाइमा स्वर खापे । ‘संसद्‌मा पहिले शान्ति स्थापना गराैँ,’ खनालले भनेका छन्, ‘छलफलकाे वातावरण छैन । पहिले वातावरण बनाेस्, अनि मात्रै हामी छलफलमा जुटाैँ । याे भनेकाे हाम्राे नेपालकाे स्वाभिमानकाे विरुद्धमा छ । हाम्राे नेपालकाे स्वाधीनता र स्वाभिमानलाई शर्त बनाएर दिइएकाे १ पैसा पनि सहयाेग हामीलाई स्वीकार्य छैन । यसबारे थप छलफल गर्न आवश्यक छ । तसर्थ हामी यसमा अझ धेरै नै छलफल तथा बहस गर्न चाहन्छाैँ, तर छलफलकाे वातावरण चाहिँ बनाेस् ।’

यस्तै जनता समाजवादी पार्टीकी सांसद लीलादेवी सिटाैलाले पनि एमसीसीमाथिकाे छलफल एमालेकाे अवराेधका बीच नगर्नुपर्ने बताइन् । ‘सभामुख महाेदय यहाँ छलफल भइरहेकाे हाे कि के भएकाे हाे ? यहाँ छलफल हुनेखाले वातावरण नै छैन,’ सांसद सिटाैलाले भनिन्, ‘त्यसैले बरु पहिले हामीले छलफलकाे वातावरण बनाउँ अनि छलफलमा पुन: जुटाैँ ।’ एमालेकाे हल्लाका बीच छलफल चलाउँदा सबै सांसदहरूलाई सुन्नसमेत गाह्राे भइरहेकाे उल्लेख गर्दै सांसद सिटाैलाले थपिन्— ‘पहिले संसद्‌लाई शान्त बनाउने काम गराेस् सरकारले । तयसपछि मात्रै हामी छलफलमा जुटाैँ ।’

यस्तै नेमकिपाका सांसद प्रेम सुवालले पनि साेही कुरा दाेहाेर्‍याए, भने— ‘छलफल गर्ने वातावरण पहिले बनाउनुपर्‍याे सभामुख महाेदय । यसरी छलफल गर्न सकिँदैन, निष्कर्ष निस्कँदैन । पहिले वातावरण बनाऔँ र छलफललाई अघि बढाऔँ । एमसीसी यत्तिकै पारित गर्ने विषय हाेइन । यसमा अझै गहिराइमा गएर छलफल गर्नुपर्ने छ । सित्तैमा पाएकाे विप पिउँदा के हुन्छ साेचाैँ । एमसीसी यस्तै हाे । त्यसैले पनि एमसीसी संसद्‌बाट यथास्थितिमा पारित हुनुहुँदैन । याे जसरी भएपनि पूर्ण खारेजीकाे बाटाेमा जानुपर्छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सांसद राजेन्द्र लिङ्देनकाे भनाइ पनि त्यही थियाे । उनले भनेका छन्— ‘काेलाहलकाे वातावरण छ । याे भनेकाे राम्राे हाेइन, काेलाहल वातावरणमा यस्ताे विषयमा छलफल नगराैँ । नगर्दै राम्राे हुन्छ । पहिले म सभामुखमार्फत प्रधान मन्त्रीकाे सरकारकाे ध्यानाकर्षण गर्दछु कि संसद् शान्त बनाेस् र मात्रै छलफल अगाडि बढाऔँ  । यसाे भयाे भने निष्पक्ष हुन्छ, राम्राे हुन्छ । सबैले भाग लिन्छन् र निष्कर्षमा पुग्छाैँ । यद्यपि स्मरण रहाेस्— एमसीसीमार्फत पैसा मात्रैचाहिँ नआउन सक्छ ।’

यस्तैगरी एकीकृत समाजवादी पार्टीका सांसद मेटमणि चाैधरीले पनि साेही कुरा दाेहाेर्‍याए । उनले भनेका छन्— ‘याे उपयुक्त समय भएन । विपक्षी दलले नाराबाजी लगाइरहेकाे छ । हामी छलफल गरिरहेका छाैँ । शान्त वातावरणमा छलफल गराैँ । त्यसका लागि पहिले सरकारले संसद्‌मा शान्ति स्थापना गराेस् । अनि मात्रै एमसीसीलगायतका विषयमा छलफल गराैँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *