‘माओवादी कुनै व्यक्तिको निजी क्लब हाेइन’

काठमाडौँ । नेकपा माओवादी केन्द्रले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेसँगै पार्टीभित्र असन्तुष्टि देखिएका छन् ।

एमसीसी पारित गर्ने पार्टीकाे निर्णयसँग केन्द्रभित्र असन्तुष्टि बढेकाे हाे । नेताहरू नरायणकाजी श्रेष्ठ र लेखनाथ न्यौपाने सार्वजनिकरूपमै पार्टीकाे निर्णयविरुद्ध उभिएका हुन् ।

नेता श्रेष्ठले ट्वीटरमा भनेका छन्, ‘पाँच दलीय गठबन्धनमा अध्यक्ष प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानाकारी गराउनु भएको छ । यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ । आज बिहानको पार्टीको छलफलमा म लगायत केही साथीहरुले मतभेद राखिसकेका छौं । यो महाधिवेशनको बिरुद्ध छ । गलत छ ।’

त्यस्तै, नेता न्यौपानेले माओवादी पार्टी कुनै व्यक्तिको निजी क्लब नभएको र राष्ट्रघात गर्ने पार्टी नभएको टिप्पणी गरेका छन् । उनले एमसीसीबारे निर्णय केन्द्रीय समितिले लिनुपर्ने माग पनि गरेका छन् ।

‘माओवादी केन्द्रको केन्द्रीय समितिको बैंठक पटक पटक स्थगित गरिएको छ । महाधिवेशनपछि पार्टीको केन्द्रीय समिति र अध्यक्ष मात्र बनेको अवस्था छ । एकातिर केन्द्रीय समितिको बैठक बसाल्दै नबसाल्ने अर्कोतिर एमसीसी जस्तो मुलुकलाई दीर्घकालीन असर पार्ने गम्भीर विषयमा अध्यक्षले एकल निर्णय गर्दै पार्टीलाई कांग्रेस, एमाले जस्तै राष्ट्रघाती पार्टीको कित्तामा उभ्याउने ? यसको मारमा देश, जनता, पार्टी र पार्टीका कार्यकर्ता पर्नुपर्ने ?’

यसअघि बिहान खुमलटारमा बसेको सचिवालय बैठकमा नेताहरू कृष्णबहादुर महरा, देव गुरुङ लगायतले पनि व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने प्रस्तावमा असहमति जनाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *