कांग्रेस कैलाली अधिवेशन : सभापतिमा संस्थापनबाटै तीन उम्मेदवार मैदानमा

धनगढी । पटक-पटक स्थगित हुँदै आएको कांग्रेस कैलालीको जिल्ला अधिवेशन आइतबारदेखि शुरू हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार आज मनोनयन दर्ता हुँदैछ ।

जिल्ला सभापतिका लागि आकांक्षी देखिएका नेताहरू प्रचार-प्रसार सक्रिय छन् । सभापतिका लागि चार जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । संस्थापन पक्षबाट मात्रै तीन जनाले उम्मेदवारी घोषणा गरेका छन् । सभापतिका लागि वर्तमान उपसभापति प्रकाशबहादुर बम, पूर्व उपसभापति नारायणदत्त भट्ट र भीम बडूवालले उम्मेदवारी घोषणा गरेर प्रचार-प्रसारमा जुटेका छन् ।

यस्तै संस्थापन इतर अर्थात् काँग्रेसभित्रको शेखर कोइराला समूहबाट नेता रामबहादुर कलेलको नाम चर्चामा छ । संस्थापन पक्षका नारायणदत्त भट्टले संस्थापनको आधिकारिक उम्मेदवार आफू भएको दाबी गर्दै आएका छन् । उनले जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको समर्थन पनि आफूलाई रहेको बताए ।

शुक्रबार भट्टको उम्मेदवारी घोषणा कार्यक्रममा पनि धनगढी उपमहानगरपालिकाका मेयरसमेत रहेका कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड, उपमेयर तथा केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट, केन्द्रीय सदस्य जीवन राना, ईश्वरी न्यौपाने, डा. रणबहादुर रावल लगायतको सहभागिता रहेको थियो ।

राष्ट्रियसभा सदस्यमा विजयी नारायणदत्त मिश्र पनि भट्टको घोषणा सभामा सहभागी भएका थिए । उनी कांग्रेसभित्र पौडेल पक्ष मानिन्छन् । कांग्रेस सुदूरपश्चिमका महामन्त्री तथा दुईपटक कैलाली जिल्ला सभापति भइसकेका नरनारायण शाह ‘मनु’ले भने जिल्ला सभापतिमा बमलाई अगाडि सारेका छन् । शाहको जिल्लामा राम्रो प्रभाव रहेको मानिन्छ ।

महामन्त्री शाहले जिल्लाका वर्तमान उपसभापति बमलाई सभापतिमा अगाडि सारिएको बताए । उनले बमलाई आफूले सभापतिको आश्वासन पनि दिएको र उनी अनुभवी पनि भएकाले आफ्नो साथ रहेको बताए ।

जिल्ला सभापतिका उम्मेदवार बमले पनि संस्थापनको आधिकारिक प्यानल आफ्नै भएको दाबी गरेका छन् । उनले केन्द्रीय सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाको सहयोग रहेको बताए ।

जिल्ला सभापतिका अर्का उम्मेदवार भीम बडूवालले पनि शेरबहादुर देउवाबाट सहयोगको आश्वासन पाएको बताए । उनले कार्यकर्ताको साथले पहिलो चरणमै जित्ने विश्वास व्यक्त गरे । नेतृत्वका लागि मैदानमा उत्रिएका उम्मेदवारले औपचारिक रूपमा प्यानल भने घोषणा गरिसकेका छैनन् । कैलाली क्षेत्र नम्बर ५ पार्टी सभापति शेरबहादुर देउवा पत्नी आरजुको निर्वाचन क्षेत्र हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *