शीर्ष नेताहरू तारनतार छलफलमा, के निस्केला निकास ?

काठमाडौँ । एमसीसीका कारण राजनीतिक वातावरण बिग्रदै गएपछि ठूला दलका शीर्ष नेताहरूबीच भेटघाट बाक्लिएको छ । एमसीसीबारेको प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकमा छलफलका लागि प्रस्तुत गर्ने तयारी भएपनि अन्तिम समयमा बैठक नै भोलीसम्मका लागि स्थगित गरि नेताहरू छलफलमा जुटेका हुन् ।

बैठक स्थगित गरेलगत्तै प्रधान मन्त्री तथा नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच छलफल भएको थियो । प्रधान मन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूबीच सामूहिक छलफल भएको थियो भने देउवा र ओलीबीच एक्लाएक्लै पनि छलफल भएको थियो ।

त्यसपछि प्रधान मन्त्रीको तर्फबाट गृह मन्त्री बालकृष्ण खाँणले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेका थिए ।

त्यसको केही बेरमा अध्यक्ष ओलीसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन् । नेताहरूबीच लिरहेको बहुपक्षीय छलफलमा एमसीसीको विषय र यसका कारण बढ्दै गएको राजनीतिक ध्रुवीकरण र यसको निकासका बारेमा छलफल भएको नेताहरूले बताएका छन् ।

एमसीसीबारे दुईथरी कुरा गरिरहेको भन्दै कांग्रेसका नेताहरूले अब यहि अडानमा कायम रहे सत्ता गठबन्धन अघि बढ्न नसक्ने निष्कर्ष निकालेको बताउन थालेका छन् । एमालेले एमसीसीमा समर्थन गर्नुपर्ने भए एमालेले कारबाही गरेका १४ जना सांसदलाई कारबाही भएको सूचना टाँस्नुपर्ने वा सभामुख सापकोटालाई पदमुक्त गर्नुपर्ने अडान राख्दै आएको छ । भोलिको बैठकमा पनि एमसीसी छलफलका लागि प्रस्तुत गर्ने र टुंग्याउनेगरि अघि बढ्नेबारे छलफल अघि बढृको नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *