लिड्सको पोस्टमा लिभरपुलको आधा दर्जन गोल

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लिड्स युनाइटेडमाथि ६-० को जित निकाल्दै लिगको उपाधि होडमा फर्किएको छ । बुधबार राति भएको खेलमा लिभरपुलले लिड्समाथि गोल वर्षा गरेको थियो ।
लिभरपुलको जितमा मोहम्मद सलाहले पेनाल्टी मार्फत दुई गोल गर्दा साडियो मानलेले पनि समान २ गोल गरे त्यस्तै मटीप र भान डाइकको नाममा समान १-१ गोल रह्यो । लिड्सविरुद्ध १५ औं मिनेटमा सलाहले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए ।
त्यस्तै लिभरपुलका लागि दोस्रो गोल ३० औ मिनेटमा जोएल मटीपले गरे । उनले १४ महिना पछि गोल गरेका थिए । लगतै सलाहलेनै ३५ औँ मिनेटमा पेनाल्टीमार्फत नै व्यक्तिगत दोस्रो तथा टीमको लागि तेस्रो गोल सम्भव बनाए ।
पहिलो हाफमा ३-० को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा पनि आफ्नो अग्रता फराकिलो पार्ने क्रम जारी राख्यो । साडियो मानेले ८० औँ मिनेटमा चौथो गोल गर्दा मानेले नै अन्तिम अर्थात् ९० औँ मिनेटमा तेस्रो गोल गरे । भान डाइकले अतिरिक्त समयमा लिभरपुलका लागि छैटौँ गोल गरे ।
जितसँगै लिभरपुलले २६ खेलबाट ६० अंक बनाएको छ । समान खेलबाट शीर्ष स्थानको म्यानचेस्टर सिटीको ६३ अंक रहेको छ। त्यस्तै चेल्सी ५० अंकका साथ तेस्रो स्थानमा रहँदा म्यानचेस्टर युनाईटेड ४६ अंकका साथ चौथो स्थानमा रहेको छ ।








