एमसीसी : ‘हेर्दा राम्रो तर चपाउन मुस्किल पार्ने मासु’ : चीन

काठमाडौँ । चीनले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पुनः टिप्पणी गरेकाे छ ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङलेले एमसीसी हेर्दा राम्राे तर चपाउन मुस्किल पार्ने मासुमा परिणत हुने डरमा नेपाली रहेकाे बताएकी हुन् ।
उनले चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पहारसँगै अल्टिमेटमको पोको आउने हो भन्दै प्रश्न समेत गरेकी छन् । ‘उपहार अल्टिमेटमको प्याकेजसहित कहिलेबाट आउन थाल्यो, मलाई आश्चर्य लागेको छ’, उनले भनिन् ।
‘अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले यसअघि एमसीसी सम्झौता पारित नभए द्विपक्षीय सम्बन्धमा प्रभावित हुने चेतावनी दिएका थिए,’ प्रवक्ता हुआले भनेकी छन्, ‘नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी जनताको तर्फबाट नेपालीलाई ५० करोड अमेरिकी डलरको उपहार भनेका थिए । त्यस प्रकारको उपहार कसरी स्वीकार्न सक्छ ? यो उपहार कि ‘पान्डोराज बक्स’ हो ? यो हेर्दा राम्रो छ तर चपाउन मुस्किल पार्ने मासु हो भनेर नेपालीले भन्ने हुन् कि भन्ने डर छ ।’
त्यस्तै, चीनले नेपालको सार्वभौमसत्ता र जनताको चाहनालाई पूर्ण सम्मान हुनुपर्ने भन्दै कुनै आन्तरिक मामिलामा कुनै हस्तक्षेप र राजनीतिक स्वार्थ जोड्न नहुनेमा समेत खबरदारी गरेको छ ।








