टी-ट्वेन्टी विश्वकप छनोट

नेपाल भर्सेस युएई : कसले मार्ला बाजी ?

काठमाडाैँ । टी ट्वेन्टी विश्वकप छनोटको अन्तिम खुट्किलोमा रहेको नेपाल मंगलबार युएईसँग खेल्दैछ । समुहको विजेता बनेको नेपाल र अर्को समुहको उपविजेता युएई फाइनल प्रवेशका लागि खेल्न लागेका हुन् । फाइनल पुग्ने टिम विश्वकपका लागि छनोट हुने भएकाले दुबै टिमका लागि आजकाे खेल अत्यन्तै महत्वपूर्ण छ ।  खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे  ओमानमा सुरु हुनेछ ।

ग्लोबल छनोट ए मा समूहचरणमा एकमात्र अपराजित टीमका रूपमा सेमिफाइनल प्रवेश गरेको नेपाल निकै आत्मविश्वासी छ । नेपाल समूह ‘ए’ र ‘बी’ दुबैमा अपराजित रहने एकमात्र टिम हो । नेपाल अपराजित मात्रै रहेन हरेक खेलमा आफ्नो रवाफ देखायो पनि।

कम स्कोर भएको खेलमा बलरहले जादुयी प्रदर्शन गरे । चुनौतीपूर्ण लक्ष्यमा गज्जब ‘ब्याट’ चल्यो । एउटा टिम प्रतियोगतामा राम्रो फर्ममा हुन टीमका कुनै न कुनै खेलाडीले कुनै कुनै खेलमा आफूलाई प्रमाणित गर्नु पर्छ । यस्तोमा नेपालले त्यस्तै टीमको ‘कम्बिनेशन’ पाएको छ ।

ब्याटिङमा कुशल भुर्तेलको उच्च फर्ममा दीपेन्द्रसिंह ऐरीको साथ अनि आरिफ शेखको भरोसा  पाएको नेपाली टिमले तीव्र र स्पिन बलिङको ‘कम्बिनेशन’ पाएको छ । जसले नेपालको  बलिङको लिगेसीलाई कायम मात्र राखेन विश्वकपमा सबैभन्दा बलियो दाबेदारका रुपमा उभ्याएको छ ।

यस्तै दाबेदारीको महत्त्वपूर्ण खेलमा नेपालले आज दिउँसो पौने ४ बजे युएईसँग प्रतिस्पर्धा गर्दै गर्दा स्वाभाविक रूपमा नेपाल भन्दा बढी युएई दबाबमा हुनेछ । बहराइनसँगको हारका बाबजुद भाग्यमानी साबित हुँदै सेमिफाइनल पुगेको युएई उच्च फर्ममा रहेको नेपालविरुद्ध स्वाभाविक रूपमा ‘ब्याकफुट’ मा हुनेछ । तर नेपाललाई केही दिन अघिमात्र चारदेशीय सिरिजमा युएईसँगै ब्यहोरेको हारले झस्काउनेछ ।

याे पनि : विश्वकपमा पुग्न नेपालले युएईलाई हराउनैपर्ने

यो खेल दुबैका लागि ‘गर या मर’ का रूपमा रहने छ । किनकि यो जितले विश्वकपको ढोका खुल्ने छ । अझ नेपाल २०१४ पछि टी-ट्वेन्टी विश्वकपको त्यो प्लेटफर्ममा पुग्ने छ जहाँ उसले पुन एकपटक विश्व क्रिकेटको ध्यान केन्द्रित गर्न सक्नेछ । त्यसैले सेमिफाइनलको युएईविरुद्धको यो खेल फाइनलभन्दा महत्त्वपूर्ण रहेको छ । फाइनलमा पराजित भएपनि विश्वकपको ढाेका खुल्ने भएकाले फाइनलभन्दा महत्वपूर्ण खेल सेमिफाइनल बन्न पुगेको छ ।

हेड टु हेड
टी-ट्वेन्टी अन्तर्राष्ट्रियमा नेपाल र युएईबीच चार खेल भएका छन् । २०१९ मा भएको तीन टी-ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिज नेपालले २-१ ले जितेको थियो । नेपाल पहिलो खेलमा २१ रनले पराजित हुँदा दोस्रो खेलमा ४ विकेट र तेस्रो खेलमा १४ रनले विजयी भएको थियो । त्यसपछि नेपालले केही दिन अघि चार देशीय सिरिजमा युएईसँग प्रतिस्पर्धा गरेको थियो । जहाँ नेपाल २५ रनले पराजित हुन पुगेको थियो । यसको अर्थ ४ खेलमा दुबै देशले दुई दुई खेल जितेका छन् । यसले पनि दुबै देशबीच कडा टक्कर हुने अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *