भन्सार सहजीकरण गर्न नवनियुक्त महानिर्देशकसँग नाडाको अनुरोध

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले भन्सार सहजीकरण गर्न भन्सार विभागका नवनियुक्त महानिर्देशकसँग अनुरोध गरेको छ ।

नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको ७ सदस्यीय प्रतिनिधि मण्डलले भन्सार विभागका नवनियुक्त महानिर्देशक कमल भट्टराईलाई स्वागत गर्दै भन्सारसम्बन्धी नीतिगत सुझावसमेत पेश गरेको नाडाले जनाएको छ ।

भेटमा अध्यक्ष थापाले नाडाले स्वच्छ व्यवसायमा विश्वास राख्दै आएको भन्दै भन्सार मूल्याङ्कनमा देखिएका विभिन्न समस्याबारे छलफल गरे ।

छलफलमा अध्यक्ष थापाले नेपाल विश्व व्यापार संगठनको सदस्य भएकोले भन्सार मूल्याङ्कन सन्दर्भसूची नै खारेज गर्नुपर्ने बताए । भन्सारमा माल वस्तुको यथार्थ घोषणा र सही वर्गीकरण गराई भन्सार मूल्याङ्कन पद्धतीलाई यथार्थ र कारोबार मूल्यमा आधारित बनाउन आवश्यक पहल गर्न उनले आग्रह गरे ।

छलफलमा उपाध्यक्ष राजनबाबु श्रेष्ठले सरकारले गरेको एम्बुलेन्सको वर्गीकरणमा परिमार्जन गरिनुपर्ने बताए । आयातित सवारी साधनको भन्सार जाँचपासमा पनि ढीलाई भइरहेको भन्दै त्यसको समाधान गर्न अनुरोध गरे ।

त्यसैगरी अर्का उपाध्यक्ष सुनिल रिजालले एलसी खोलेर सामान आयात गर्दा परिरहेको समस्याबारे जानकारी गराए । एउटै वस्तुमा भिन्नभिन्न भन्सार कार्यालयमा एचएस कोडको परिभाषामा फरक पर्ने गरेको, ब्रेक लाइनिङ्ग जस्ता अत्यावश्यकीय वस्तुमा पनि शतप्रतिशत नगद मार्जिन राखी एलसी खोल्नुपर्ने नियमले व्यवसायीलाई समस्या परेकोले त्यसको समाधान गर्न आग्रह गरे । त्यसैगरी उपाध्यक्ष रिजालले न्यून बिजकीकरण र अनधिकृत आयातबाट हुने समस्याको निराकरण गर्न अनुरोध गरे ।

छलफलकै क्रममा महासचिव सुरेन्द्र उप्रेतीले २०७३ असार २६ गते भन्सार विभाग र नाडाबीच भएको सहमति एमओयु जानकारी गराए । उनले विभागले अनलाइन पेमेण्टलाई मान्यता दिएसँगै नेपाल राष्ट्र बैङ्कको चेकलाई पनि मान्यता दिने व्यवस्था गर्न आग्रह गरे ।

त्यसैगरी महासचिव उप्रेतीले नेपालमा व्याट्री उत्पादनका संभावना बढ्दै गएको क्रममा सबै किसिमका सवारी साधनमा प्रयोग हुने ब्याट्रीको उत्पादनलाई प्रोत्साहित गर्न आवश्यक हुने सबै प्रकारका कच्चा पदार्थमा १ प्रतिशत मात्र भन्सार महशुल लाग्ने व्यवस्था गर्न आग्रह गरे ।

छलफलको अन्त्यमा महानिर्देशक भट्टराईले भन्सार विभागसँग विगतमा भएको सहमतिमा केही विषय संशोधन गर्नु परे दुवै पक्षको सहमतिमा संशोधन गर्न सकिने छ भनी थप गरिनुपर्ने सुझाव दिए । नाडाबाट प्राप्त सुझावका विषयमा आवश्यक पहल गरिने बताए ।

भेटघाटमा सचिव विक्रम सिंघानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधानसमेतको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *