श्रम र सीपको सोपानमा ‘कार्निभल रेस्टुरेन्ट’

काठमाडाैँ । नितेश चन्दसँग शैक्षिक प्रमाणपत्र त थियो नै त्योसँगै आफूले पढेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने जोश र सपना पनि थियो । नितेशको त्यही सपनाका आधारमा शुरू भएको कार्निभल रेस्टुरेन्टले अहिले विस्तारै पखेटा हाल्दैछ ।

नितेशले होटल म्यानेजमेन्टमा स्नातक तह पूरा गरेका छन् । होटल म्यानेजमेन्टबारे थप कुरा सिक्न उनी ६ महिनाको तालिमका लागि मलेसिया गए ।

अनामनगरबाट थापागाउँतर्फ जाँदा दायाँतर्फ रहेको कार्निभलमा पारिवारिक जमघट मात्र होइन कलाकार र टिकटकर्स भेटघाट र नेता अनि साहित्यकारको सभा र सेमिनार पनि भइरहेको हुन्छ । ‘माउथ पब्लिसीटी’ बाट तानिएका ग्राहकले नै कार्निभल भरिभराउ हुने गरेको सञ्चालक चन्द बताउँछन् । खुलेको ५ वर्ष हुँदा राम्रो चिनारी बनाइसकेको कार्निभल कोभिड महामारीले भने झण्डै बन्द हुने अवस्थामा पुगेको उनको अनुभव छ ।

एकल लगानी भए चलाइरहन सम्भव नै नहुने भएपनि साझेदारी व्यवसाय भएकोले जसोतसो भरथेग गरेर बचाएको नितेशले बताए । कार्निभल रहेको जग्गा भाडामा लिइएको हो । जग्गाको भाडा मात्र प्रतिमहिना डेढ लाख रूपैयाँ छ । रेस्टुरेन्ट निर्माणको खर्च २ करोडभन्दा माथि रहेको नितेशले जानकारी दिए । लगानीकै अवस्थामा हुँदा कोभिड महामारी फैलिएपछि सोचेजस्तो गर्न नसकेको दुखेसाे नितेशको छ ।

खुल्ला भान्छा कार्निभलको मुख्य विशेषता
बाहिर खाना वा खाजा खान जाँदा सरसफाईको कुरा निकै महत्वपूर्ण हुने गर्छ । ग्राहकले पैसा तिरेर खाने खाना कस्तो चुल्हो र भाँडाकुँडामा बन्यो, कस्तो सामान प्रयोग गरियो भन्ने कुरा ग्राहकलाई थाहै हुँदैन । खानेकुरा पकाउनेदेखि पस्कनेसम्म सरसफाईको ग्यारेण्टी रेष्टुरेण्टले लिने अवस्था कम नै हुन्छ । कार्निभलले भने यस्तो दुविधा दूर गरेको छ । यसका लागि कार्निभलले निकै धेरै मेहेनत पनि गरेको छ । कार्निभलमा खुल्ला भान्छा छ ।

ग्राहकले आफूले खाने खानेकुरा कसरी पाकिरहेको छ, कस्ता सामान र भाँडाकुडा प्रयोग भएको छ, जस्ता सबैकुरा प्रत्यक्ष रूपमा हेर्न पाउँछन् । ग्राहकको स्वास्थ्यप्रति कुनै सम्झौता नगर्ने नितेश बताउँछन् । नेपालमा सरसफाईभन्दा पनि स्वाद र मूल्यमा बढी ध्यान दिने ग्राहकको जमात ठूलो हुँदा समस्या भएको नितेशको अनुभव छ । नितेश भन्छन्, ‘खानाको गुणस्तर कायम गर्दा मूल्य अलि बढी नै पर्न जान्छ । तर त्यसमा ध्यान नदिई ग्राहकले मूल्य बढी भएको मात्र नोटिस गर्छन् ।’

आम्दानीसँगै रोजगारीको अवसर दिने सपना साकार
आफूले सिकेको सीप विदेशमा बेच्न मन कहिल्यै नलागेको नितेश बताउँछन् । कहिलेकाही मन बरालिएर भाषा पढ्ने, कन्सलटेन्सी धाउने गरेको तर विदेशिनु आफ्नो पहिलो प्राथमिकतामा नपरेको उनले बताए । होटल चलाउने र केहीलाई रोजगारी दिने आफ्नो सपना पूरा गर्न पाएकोमा उनी खुसी छन् । अहिले कार्निभलमा २७ जनाले रोजगारी पाएका उनले बताए ।

महामारीपछि भने पालैपालो काममा बोलाउने र ‘पेड लिभ’ मा राख्ने गरेको नितेशले बताए । महामारी सकिएपछि सबैभन्दा चल्ने लाईन होटल लाईन नै हुने विश्वासका साथ काम गरिरहेको र त्यसका लागि पनि स्टाफलाई छोड्न नदिएको उनले बताए ।

दक्ष जनशक्ति पलायनले निम्त्याएको समस्या
हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ । यसको नतिजा अहिले छ्यापछ्याप्ती खुलिरहेका रेष्टुरेण्ट र ती होटल तथा रेष्टुरेण्टले दिइरहेका सेवा सुविधाले झल्काउने बताउँछन् नितेश । नितेशसँगै होटल म्यानेजमेन्ट पढेका अधिकांश साथी अहिले विदेशमा काम गरिरहेका छन् । नेपालमा काम गर्ने तालिम प्राप्त जनशक्ति नै छैनन् । उनी भन्छन्, ‘सरकारको केही नीति नै छैन । अस्वस्थ प्रतिस्पर्धा छ । कति दूरीको फरकमा रेष्टुरेण्ट खोल्ने, कस्ता जनशक्ति राख्ने, खानाको गुणस्तरको परीक्षण गर्ने लगायतबारे केही व्यवस्था नहुँदा साँच्चै राम्रो तरिकाले व्यवसाय गर्नेहरू मारमा परेको नितेश बताउँछन् । नितेशले भने बेलाबेलामा आफ्नो भान्छा र खानेकुराको गुणस्तर परीक्षण गर्न आफैँ गएर सरकारी अधिकारीलाई अनुरोध गर्ने गरेको उनले बताए ।

नितेश भन्छन्, ‘आफैँ गएर आग्रह गरेर होला अस्ति एकदिन छड्के गर्न आउनुभएछ । हाम्रो सफा सुग्घर, तेल र खाने कुराको गुणस्तर देखेर तारिफ नै गर्नुभयो । त्यसैमा खुसी छौँ । सन्तुष्टि सबैभन्दा ठूलो कुरा रहेछ । हामी ग्राहकलाई खुसी पार्न पाउँदा सन्तुष्ट छौ । नाफा भन्ने कुरा भविष्यमा हुँदै जान्छ । परिश्रमको फल ढिलो पाए पनि मिठो नै पाइन्छ भन्ने लाग्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =