ठूलो सपना पछ्याउँदै नेपाल, फेरि पनि ब्याटिङकै चिन्ता !

काठमाडौँ । नेपाल टी-ट्वेन्टी विश्वकप क्रिकेट छनोट खेल्न ओमानमा छ । र, शुक्रवारबाट प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा नेपालले शुक्रवार घरेलु टिम ओमानसँग खेल्नेछ । नेपालले भर्खरै भएको चारदेशीय टी-ट्वेन्टी शृङ्खलामा ओमानलाई ६ विकेटले हराएको थियो ।

समूह ‘ए’भित्रको एक समूहमा आयरल्यान्ड, यूएई, बहराइन र जर्मनी र अर्को समूहमा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स छन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टिमबीच सेमिफाइनल खेल हुनेछ । सेमिफाइनल जितेर फाइनल पुग्ने दुवै टिम विश्वकपका लागि छनोट हुनेछन् । त्यसैले नेपाल शुरूवातमा शीर्ष चारको दौडमा हुनेछ । त्यसपछिको एकमात्र खुट्किलोका रूपमा रहने सेमिफाइनल चरण पार गर्नसके अस्ट्रेलिया विश्वकपमा नेपालको सहभागिता पक्का हुनेछ ।

नयाँ टिम
नेपालले सन् २०१४ मा टी-ट्वेन्टी विश्वकप खेलेको थियो । नेपाललाई यो सफलता दिलाएका मुख्य प्रशिक्षक पुबुदु दासानायके संयोगले अहिले पनि त्यही भूमिकामा छन् तर नेपालको टिम भने नयाँ छ । खेलाडीको पुस्तान्तरण भएको छ कप्तान नयाँ छन् । मुख्य प्रशिक्षक दासानायकेले नेपाली टिम पहिले भन्दा पनि बलियो रहेको दाबी गरेका छन् । उनको यो दाबीलाई खेलाडीले मैदानमा पुष्टि गर्नुपर्नेछ । २०१४ को विश्वकप खेलेका मध्ये २ खेलाडीमात्र अहिले टिममा छन् । प्रदीप ऐरी अन्तिम १४ मा पर्न सकेका छैनन् भने करण केसी ढाडको चोटको उपचार गराइरहेका छन् । उनको ठाउँमा गुल्सन झाले खेल्नेछन् । करणको अलराउन्ड प्रदर्शन नेपाललाई पक्कै मिस हुनेछ । अर्कातिर त्यसबेलाका उपकप्तान ज्ञानेन्द्र मल्लले ओमानसँगको खेलमा मौका नपाए आश्चर्य मान्नुपर्ने छैन । चारदेशीय शृङ्खलामा उनको प्रदर्शन सामान्य मात्र रह्यो ।

याे पनिः ओमानमा नेपालको ‘नयाँ टिम’ र विश्वकपको आशा

नेपाली टिम कति बलियो
नेपाली टिम ओमान जाँदै गर्दा नेपाल ब्याटिङमा बलियो रहेको ठानिएको थियो । यसो भन्नुका पछाडि नेपालले केही समयअघि खेलेका शृङ्खला र घरेलु प्रतियोगितामा ब्याटरले देखाएको प्रदर्शन मुख्य आधार थियो । तर ओमानमा नेपाली टिमले ४ देश सम्मिलित टी-ट्वेन्टी अन्तर्राष्ट्रिय शृङ्खलामा गरेको प्रदर्शनका हेर्दा यो विश्लेषण गलत सावित भएको छ । अर्थात् नेपाली ब्याटिङ भरोसायोग्य मान्न सकिने गरी बलियो भएको प्रमाण नेपाली ब्याटरले दिन सकेनन् । बरू केही खस्किएको आँकलन गरिएको बलिङ् ठिकै रहेको पाइयो । उसो त त्यो शृङ्खलालाई नेपालका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले बलिङ र ब्याटिङमा परीक्षणका रूपमा नै लिएका थिए ।

समग्रमा नेपालले यो शृङ्खलामा सधैँ झैँ कहिले अब्बल त कहिले सामान्य प्रदर्शन गर्ने विगतकै अवस्था देखायो । यही प्रदर्शनलाई आधार मान्ने हो भने नेपाल यसपटक विश्वपकमा छनोट हुने नहुने आकलन गर्न सजिलो नरहेको पुष्टि हुन्छ । तर प्रशिक्षक पुवुदु दशानायके प्रतियोगिता अघिको शृङ्खलाले नेपाललाई बलियो बनाएको मान्छन् । उनी भन्छन्, ‘यो सिरिजले हाम्रो तयारीलाई राम्रो गर्न लाभदायक रह्यो । हामीले ब्याटिङ, बलिङ, फिल्डिङ लगायत सबै पक्षमा हाम्रो क्षमता हेर्यौं साथै सुधारको अवसर पनि पायौँ ।’

अन्तिम खेलमा मध्यम लक्ष पनि भेट्टाउन नसक्नु, ब्याटिङमा नेपाली टिम दिपेन्द्र सिंह ऐरी र ओपनर आसिफ शेखमा मात्र भरपर्ने अवस्था आउनु बलिङ सोचेको जस्तो धारिलो नहुनु जस्ता कारणले चिन्ता स्वाभाविक रूपमा बढाएको छ । तर खेलाडीको आत्मविश्वास कम नभएको कप्तान सन्दीप लामिछाने बताउँछन् । उनी भन्छन्, ‘हामीले प्रतियोगिताअघिको सिरिजमा कमजोरीलाई सुधार्ने अवसरको रूपमा लिएका छौँ । अब हाम्रा कमजोरी र बलियो पक्ष केलाएर उत्कृष्ट टिम निर्माण गर्दै विश्वकपको इतिहास दोहोर्‍याउने प्रयास गर्नेछौँ ।’

दासानायकेले अब विगतको प्रदर्शन र शैलीले मात्र पर्याप्त नहुने जनाउँदै भेट्रान खेलाडीहरूले गरेको प्रदर्शनमा चित बुझाएका छैनन् । उनी शृङखलामा कमजोर लयमा पाइएका ज्ञानेन्द्र मल्ल र शरद भेषावकारको विकल्प दिन सक्ने सम्भावनालाई नकार्दैनन् । त्यसो त नवप्रवेशी खेलाडीले पनि गतिलो छाप छोड्न नसकेको अवस्थामा फेरिपनि ब्याटिङको चिन्ता स्वाभाविक रूपमा उठ्छ नै ।

समग्रमा नेपाली खेलाडीले शुक्रवार ओमानसँगको खेलबाट विश्वकप छनोटको यात्रा शुरू गर्दै गर्दा नेपाललाई हार्ने छुट हुनेछैन । यस्तोमा नेपालको ठूलो अवसरको रूपमा रहेको यो प्रतियोगिताको वास्तविक परीक्षामा प्रशिक्षक दासानायके र कप्तान सन्दीप लामिछानेले कसरी आफ्नो टिमलाई प्रस्तुत गर्छन् । त्यसले विश्वकप छनोटसँगै नेपालको आगामी क्रिकेटको बारेमा समेत एउटा चित्र कोर्ने छ ।

यस्तो छ छनोटको संरचना
आइसीसीले यसपटक १६ देशलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’मा ८ टिम छन् । त्यसलाई पनि ४-४ देशको ‘उप समूह’ बनाइएको छ । समूह चरणमा चार देश एकअर्कासँग राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् । उप-समूहमा पहिलो र दोस्रो हुने देशले अर्को समूहको पहिलो र दोस्रो देशसँग सेमिफाइनल खेल्ने छन् ।

जहाँबाट फाइनल पुग्ने दुई टिमले यसै वर्षको नोभेम्बरमा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउँछन् । यसको अर्थ नेपालका लागि समूह चरणको शीर्ष दुईमा रहने पहिलो चुनौती रहँदा सेमिफाइनलको ‘आइरन गेट’ पार गर्नु अर्को चुनौती हुनेछ । समग्रमा नेपालको विश्वकप भविष्य प्रतियोगिताका चार खेलले तय गर्नेछ ।

नेपालको समूहमा कुन-कुन टिम ?
विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोटमा नेपाल रहेको समूहमा ८ देश छन् । जसमा आयोजक ओमानसहित फिलिपिन्स, क्यानडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन् ।

यो समूहलाई पनि दुई समूहमा विभाजन गरिएको छ । जसको नेपाल समूह ‘ए’मा छ । जहाँ नेपालसँगै क्यानडा, फिलिपिन्स र ओमान छन् । यो समूहमा ओमान र क्यानडा नेपालका मुख्य चुनौतीका रूपमा हेरिएको छ । ती देशलाई पछि पारेर नेपाल सेमिफाइनल प्रवेश गर्नुपर्ने छ । यस्तै समूह ‘बी’मा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन् ।

यो समूहबाट युएई र आयरल्यान्डलाई सेमिफाइनलका दाबेदार टिमका रूपमा हेरिएको छ । सेमिफाइनलमा पुगे नेपालले एक खेल जित्नु पर्नेछ । तर, त्यसअघि समूह चरणमा ओमान र क्यानडाको चुनौती पन्छाउनु नै नेपालको पहिलो लक्ष्यका रूपमा रहने छ ।

विश्वकपमा नेपालको इतिहास
नेपालले सन् २०१४ मा बङ्गलादेशमा भएको टी-२० विश्वकपमा पहिलो पटक सहभागिता जनाउँदै इतिहास रचेको थियो । प्रशिक्षक पुवुदु दाशानायके र कप्तान पारस खड्काको नेतृत्वमा विश्वकप पुगेको नेपालले त्यसयता भने उक्त उपलब्धि दोहोर्‍याउन सकेको छैन ।

२०१६ मा भारतमा भएको टी-२० विश्वकपका लागि आयरल्यान्ड र स्कटल्यान्डमा भएको ग्लोबल छनोटमा नेपाल केवल एक खेलमा मात्र जितेको थियो । सात टोली सहभागी प्रतियोगितामा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्दै प्रतियोगिताको सुखद शुरूवात गरेको थियो । तर अर्को खेलमा नामिबियासँग वर्षाका कारण अंक बाँडेको नेपालले त्यसपछि जितविहीन रहँदै अंक तालिकाको पुछारमा रहेर छनोट यात्राको अन्त गरेको थियो ।

२०२० मा अस्ट्रेलिया विश्वकपको आयोजना हुने भनिएपनि कोरोना महामारीका कारण प्रतियोगिता २०२२ मा सारियो । अर्थात् यो वर्ष हुने तय भएको प्रतियोगिताको सेड्युल दुई वर्ष अगाडिको नै हो । २०२१ ले भारतमा विश्वकप आयोजनाको अवसर पाएको थियो । २०२० को अस्ट्रेलिया विश्वकपका लागि भनी गरिएको छनोट खेलमा नेपालले एसिया छनोट नै पार गर्न असफल रह्यो । नेपाल एसिया छनोटमा तेस्रो हुँदै ग्लोबल छनोट पुग्न असफल भयो । अस्ट्रेलिया विश्वकपका लागि छनोट भएका देशले २०२१ को भारत विश्वकप खेले । जसका कारण नेपालले पुनः २०२२ को प्रतियोगिताका लागि छनोटको अवसर पाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *