ओमानमा नेपालको ‘नयाँ टिम’ र विश्वकपको आशा

काठमाडौँ । नेपाली क्रिकेट टिम टी-ट्वेन्टी विश्वकप छनोट खेल्न मंगलबा राती ओमान गएको छ । नेपाल यसपटक कप्तान र धेरै नयाँ खेलाडीसहित विश्वकप छनोटको चुनौती पार गर्ने महत्वाकांक्षाका साथ ओमान उडेको हो । विश्वकप खेलेको ८ वर्षपछि पुनः टी-ट्वेन्टी विश्वकपमा छनोट हुने नेपालको लक्ष्य छ । सन् २०१४ को विश्वकपमा छनोट गराएका र खेलेका ४ खेलाडीमात्र टिममा रहँदा संयोगले प्रशिक्षक भने उनै पुबुदु दसानायके छन् । जसले त्यो उपलब्धिसँगै नेपाल छोडेका थिए ।

विश्वकप छनोटका लागि राम्रो अवसर
टी-ट्वेन्टी विश्वकप छनोटका लागि नेपाललाई यसपटक निकै राम्रो अवसर छ । पहिलो पटक सोझै ग्लोबल छनोट खेल्ने मौका नेपालका लागि विरलै प्राप्त हुने अवसर हो । अघिल्लो पटक एसिया छनोटबाटै बाहिरिएको नेपालका लागि प्रतियोगितात्मक संरचनाले गर्दा यो पटक छनोट चरणमा पुग्न सहज बनेको छ । एसिया छनोट नखेली ग्लोबल छनोटको अवसर पाएको नेपालले ग्लोबल छनोटमा पनि सबै देशसँग खेल्नुपर्ने छैन । यसका फाइदा बेफाइदा दुवै छन् । थाेरै टिमसँग राम्रो नतिजा निकाल्न सके नेपालले विश्वकप छनोट सम्भव बनाउने छ । ग्लोबल छनोटको राउण्ड रोविन हुँदा १,२ खेलको हारलाई रिकभर गरेर पुनरागमनको अवसर हुन्थ्यो तर ययपटक भने एक जित या हार नै टर्निङ प्वाइन्ट बन्ने अवस्था रहने छ ।

यस्तो छ छनोटको संरचना
आइसीसीले यसपटक १६ देशलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’मा ८ टिम छन् । त्यसलाई पनि ४-४ देशको ‘उप समूह’ बनाइएको छ । समूह चरणमा चार देश एकअर्कासँग राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्ने छन् । उप-समूहमा पहिलो र दोस्रो हुने देशले अर्को समूहको पहिलो र दोस्रो देश सँग सेमिफाइनल खेल्ने छन् ।

जहाँबाट फाइनल पुग्ने दुई टिमले यसै वर्षको नोभेम्बरमा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउँछन् । यसको अर्थ नेपालका लागि समूह चरणको शीर्ष दुईमा रहने पहिलो चुनौती रहँदा सेमिफाइनलको ‘आइरन गेट’ पार गर्नु अर्को चुनौती हुने छ । समग्रमा नेपालको विश्वकप भविष्य प्रतियोगिताका चार खेलले तय गर्ने छ ।

नेपालको समूहमा कुन-कुन टिम ?
विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोटमा नेपाल रहेको समूहमा ८ देश छन् । जसमा आयोजक ओमानसहित फिलिपिन्स, क्यानडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

यो समूहलाई पनि दुई समूहमा विभाजन गरिएको छ । जसको नेपाल समूह ‘ए’मा छ । जहाँ नेपालसँगै क्यानडा, फिलिपिन्स र ओमान छन् । यो समूहमा ओमान र क्यानडा नेपालका मुख्य चुनौतीका रूपमा हेरिएको छ । ती देशलाई पछि पारेर नेपाल सेमिफाइनल प्रवेश गर्नुपर्ने छ । यस्तै समूह ‘बी’मा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन् ।

यो समूहबाट युएई र आयरल्यान्डलाई सेमिफाइनलका दाबेदार टिमका रूपमा हेरिएको छ । सेमिफाइनलमा पुगे नेपालले एक खेल जित्नु पर्नेछ । तर, त्यसअघि समूह चरणमा ओमान र क्यानडाको चुनौती पन्छाउनु नै नेपालको पहिलो लक्ष्यका रूपमा रहने छ ।

विश्वकपमा नेपालको इतिहास
नेपालले सन् २०१४ मा बङ्गलादेशमा भएको टी-२० विश्वकपमा पहिलो पटक सहभागिता जनाउँदै इतिहास रचेको थियो । प्रशिक्षक पुवुदु दाशानायके र कप्तान पारस खड्काको नेतृत्वमा विश्वकप पुगेको नेपालले त्यसयता भने उक्त उपलब्धि दोहोर्‍याउन सकेको छैन ।

२०१६ मा भारतमा भएको टी-२० विश्वकपका लागि आयरल्यान्ड र स्कटल्यान्डमा भएको ग्लोबल छनोटमा नेपाल केवल एक खेलमा मात्र जितेको थियो । सात टोली सहभागी प्रतियोगितामा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्दै प्रतियोगिताको सुखद सुरुवात गरेको थियो । तर अर्को खेलमा नामिबियासँग वर्षाका कारण अंक बाँडेको नेपालले त्यसपछि जितविहीन रहँदै अंक तालिकाको पुछारमा रहेर छनोट यात्राको अन्त गरेको थियो ।

२०२० मा अस्ट्रेलिया विश्वकपको आयोजना हुने भनिएपनि कोरोना महामारीका कारण प्रतियोगिता २०२२ मा सारियो । अर्थात् यो वर्ष हुने तय भएको प्रतियोगिताको सेड्युल दुई वर्ष अगाडिको नै हो । २०२१ ले भारतमा विश्वकप आयोजनाको अवसर पाएको थियो । २०२० को अस्ट्रेलिया विश्वकपका लागि भनी गरिएको छनोट खेलमा नेपालले एसिया छनोट नै पार गर्न असफल रह्यो । नेपाल एसिया छनोटमा तेस्रो हुँदै ग्लोबल छनोट पुग्न असफल भयो । अस्ट्रेलिया विश्वकपका लागि छनोट भएका देशले २०२१ को भारत विश्वकप खेले । जसका कारण नेपालले पुनः २०२२ को प्रतियोगिताका लागि छनोटको अवसर पाएको हो ।

ओमानी क्रिजमा नेपालको आशा
ओमानी भूमि नेपाली टिमका लागि नयाँ भने होइन । नेपालले ओमानमा पछिल्लो तीन वर्षमा तीन वटा शृङ्खला खेलेको छ । नेपालले सन् २०१९ मा भएको चार देशीय टी-२० शृङ्खला, २०२१ मा पपुवा न्यू गिनीसँग दुईवटा एकदिवसीय मैत्रीपूर्ण खेल र त्यसपछि आइसीसी एकदिवसीय विश्वकप क्रिकेट लिग-टु को शृङ्खला खेलेको थियो । अघिल्लोपटक सन् २०२१ मा नेपाली टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर र कप्तान ज्ञानेन्द्र मल्ल थिए ।

नेपालले छनोटअघि चार देशीय प्रतियोगिता खेल्ने छ । जसमा २८ माघमा ओमानसँग, २९ माघमा युएईसँग र २ फागुनमा आयरल्यान्डसँग खेल्ने तालिका छ । नेपालमा पर्याप्त तयारी गर्न नपाएको टिमका लागि यी तीन खेल निकै नै अर्थपूर्ण र प्रतियोगिताको तयारीका लागि महत्त्वपूर्ण हुने छन् ।

के भन्छन् प्रशिक्षक
नेपाललाई २०१३ मा युएईमा भएको ग्लोबल छनोट मार्फत २०१४ को बङ्गलादेश विश्वकपमा छनोट गराएका प्रशिक्षक पुवुदु दशानायके ९ वर्षपछि पुनः नेपाली टिमलाई सोही उपलब्धि दिलाउने प्रयासमा हुने छन् । उनी पहिलाभन्दा नेपाली टिममा ठूलो परिवर्तन आएको र नेपाल विश्वकपमा छनोट हुन सक्ने क्षमता विकास गरेको बताउँछन् । तर थाेरै प्रतियोगितामा रिजल्ट निकाल्नुपर्ने चुनौतीका रूपमा रहेको उनको भनाइ छ । उनी भन्छन्– ‘स्वाभाविक रूपमा आठ टिमबिच राउन्ड रोबिनका आधारमा खेल हुँदा विश्वकप यात्रा केही सहज हुन्छ नै तर केवल ३, ४ खेलबाटै निर्णयमा पुग्नुपर्दा स्वाभाविक रूपमा दबाब हुन्छ । धेरै खेलमा एक दुई गल्तीलाई रिकभर गर्न सकिन्छ तर थाेरै खेलमा एक मात्र खेलको हार या जित नै निर्णायक भइदिन्छ ।’

यद्यपि, उनी आत्मविश्वासी देखिएका छन् । ‘मलाई पूर्ण विश्वास छ, हामीसँग धेरै ट्यालेन्ट खेलाडी छन् । र हामी पूर्ण रूपमा तयार भइसकेका छौँ । हामीले धेरै मिहिनेत गरेका छौँ । र मलाई विश्वास छ हामी दोस्रो पटक विश्वकप खेल्नेछौँ ।’

२०१४ को मोमेन्टम फर्काउने कप्तानको आशा
छोटो समयमा नै आफ्नो जादुयी बलिङ मार्फत विश्वका अधिका‌ंश फ्रेन्चाइज खेलिसकेका नेपाली युवा स्टार सन्दीप लामिछाने नेपाली राष्ट्रिय टिमको कप्तानको जिम्मेवारीमा छन् । उनी २०१४ को विश्वकपको लिगेसीलाई निरन्तरता दिने बताउँछन् ।

नेपालको तर्फबाट सर्वाधिक ४७ अन्तर्राष्ट्रिय टी-२० विकेट लिएका लामिछाने भन्छन्- ‘म मात्र होइन हामी सबैजना पुनः एकपटक २०१४ को त्यो मोमेन्टम फर्काउन चाहन्छौँ । उक्त विश्वकपको लिगेसी कायम राख्दै थप अघि बढ्ने प्रयास हाम्रो हुने छ । विश्वकप छनोटमा ध्यान केन्द्रित गर्न सबै जना उत्तिकै लागेका छौँ । सबै नेपालीको चाहना पनि त्यही हो । पछिल्ला केही वर्षमा हामीले गरेको प्रदर्शनले हाम्रो छनोट सम्भावना बलियो रहेको देखेको छु । त्यसैले छनोटका लागि हामी सबै आत्मविश्वासका साथ मैदानमा हुनेछौँ ।’

के भन्छन् खेलाडी ?
पहिलो पटक राष्ट्रिय टिममा परेका लोकेश बमले २०१४ को विश्वकप क्रेज पछि क्रिकेटमा दिलोज्यान दिएर लागेका थिए । उनी अहिले विश्वकप छनोटको अनुभवका लागि पहिलो पटक टिममा छन् । उनी भन्छन्- ‘विश्वकपमा नेपालको क्रेज देखेर नै क्रिकेटमा लगाव बढेको थियो ।’ अब फेरि त्यो अवस्थामा पुर्‍याउन आफू पनि टिममा भएकोमा उनी खुसी छन् । भन्छन्- ‘टिमलाई विश्वकपमा छनोट गराउन आफ्नो तर्फबाट शतप्रतिशत प्रयास गर्छु ।’

२०१४ मा विश्वकप खेलेकामध्ये चार खेलाडी ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, प्रदीप ऐरी र जितेन्द्र मुखियामात्र अहिले टिममा छन् । त्यसमा पनि ऐरी र मुखिया लामो समयपछि टिममा पुनरागमन गरेका हुन् । अहिले टिममा नयाँ खेलाडीको बाहुल्यता छ । २०१४ को विश्वकप छनोटमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका शरद भन्छन्- ‘खेलाडीहरू अहिले योङ छन् र उनीहरू खेल्न तयार छन् । पहिला र अहिलेको तुलना गर्ने हो भने हामी अहिले अझ धेरै तयार छौँ । थप आत्मविश्वासी छौँ । पहिला टिममा त्यति पावर हिटरहरू थिएनन् । तर अहिले चिन्ता गर्नुपर्ने अवस्था छैन हाम्रो ओपनिङ पनि अहिले धेरै भरपर्दो बन्दै गएको छ ।’

नेपालको खेल तालिका
६ फागुनः ओमानसँग (ओमान क्रिकेट एकेडेमी)
७ फागुनः फिलिपिन्ससँग (अल अमेरात क्रिकेट ग्राउन्ड)
९ फागुनः क्यानडासँग (ओमान क्रिकेट एकेडेमी)
१० फागुनः सेमिफाइनल
१२ फागुनः फाइनल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *