च्याम्पियन्स लिग : लिसबनमाथि सिटीको ५ गोलको फराकिलो जित

काठमाडौँ । इंग्लिस क्लब म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल यात्रा लगभग पक्का गरेको छ। अन्तिम १६ को पहिलो लेगमा सिटीले पोर्चुगिज क्लब स्पोर्टिङ लिसबनलाई ५-० ले पराजित गर्दै क्वाटरफाइनल यात्रा बलियो बनाएको हो।
लिसबनको मैदानमा भएको खेलमा सिटीले रियाद महारेजको गोलमार्फत ७ औँ मिनेटमा नै खेलमा अग्रता लिएको थियो। बर्नान्डो सिल्भाले १७ औँ मिनेटमा टीमको अग्रता दोब्बर बनाउँदा फिल फोडेनले ३२ औँ मिनेटमा सिटीलाई ३-० को अवस्थामा पुर्याएका थिए। पहिलो हाफमा नै ४ गोलको अवस्थामा पुर्याउने क्रममा सिल्भालेनै ४४ औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टीमको लागि चौथो गोल गरे।
पहिलो हाफमा ४ गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा भने एक गोल मात्र गरेको थियो। यद्यपि टीमको फराकिलो जितमा रहिम स्ट्रलिङले ५८ औँ मिनेटमा टीमका लागि पाँचौँ गोल गरेका थिए। अब १० मार्चमा लिसबनले दोस्रो लेगमा सिटीको घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने छ।








