अमेरिकाले नेपाली नेतालाई धम्की दिएको भन्ने सूचना गलत : राजदूत र्‍यान्डी बेरी

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले एमसीसी विषयलाई लिएर अमेरिकाले नेपालका नेताहरूलाई कुनै किसिमको धम्की नदिएको बताएका छन् । नेपालका कूटनीतिक मामिला हेर्ने पत्रकारहरूसँगको कुराकानीमा राजदूत बेरीले यस्तो बताएका हुन् ।

एमसीसी विषयलाई लिएर नेपाली नेताहरूलाई धम्की दिएको भन्ने सूचना गलत भएको उनको दाबी छ । ‘हामीले नेपाली नेताहरूलाई धम्की दिएका छैनौँ । यो कुरा असत्य हो’ राजदूत बेरीले भने ।

दक्षिण तथा मध्यएसियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले माघ २७ गते प्रधान मन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, अर्को सत्ताघटक दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका थिए ।

उक्त संवादमा माओवादी केन्द्रका अध्यक्ष दाहालले सार्वजनिक रूपमै आफूलाई चेतावनीको भाषामा मन्त्री लुले कुराकानी गरेको बताएका थिए । त्यसपछि सञ्चार माध्यममा अमेरिकाले नेपाली नेताहरूसँग गरेको संवादलाई लिएर टिका–टिप्पणी भएको थियो । राजदूत बेरीले टेलिफोन कुराकानीका क्रममा सहायक विदेशमन्त्री लुले नेपाली नेताहरूले गरेको प्रतिबद्धता पूरा गर्न भनेको जिकिर गरे ।

अमेरिका र नेपालबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो भएको तर हस्ताक्षर भएको सम्झौताबाट पछि हट्दा सम्बन्धमा असर पर्नेसमेत टिप्पणी उनले गरे । ‘नेपाललाई विकास सहयोग, विपद् प्रतिकार्य र पूर्वतयारी सहायता प्रदान गर्नुका साथै स्वास्थ्य, शिक्षा र अन्य कार्यक्रममा पनि सहयोग गर्दै आइरहेको छ । तर, सामान्य रूपमा दुई देशबीच हस्ताक्षर भएको सम्झौताबाट पछि हट्दा यी देशको सम्बन्धमा असर पर्न सक्दछ ।’

तर, सम्बन्धमा कस्तो असर पर्छ भन्ने उनले खुलाएनन् । एमसिसी विकास कार्यक्रम भएको र यो भ्रामक सूचनामा फसेको उनको टिप्पणी थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *