नेपालमा खेल विश्वविद्यालयको सम्भाव्यताबारे छलफल

काठमाडौँ । नेपालमा खेल विश्वविद्यालयको सम्भावना र आवश्यकताबारे छलफल गरिएको छ । त्रिभुवन विश्वविद्यालयको नेपाल तथा एशियाली अनुसन्धान केन्द्र सिन्यासले आयोजना गरेको छलफलमा प्रा. विधान आचार्यले नेपालमा खेलकुदलाई प्राथमिकता नदिइएको र यसबारेको अध्ययन त झनै हुनै नसकेको भन्दै खेलकुदलाई सामाजिक, आर्थिक, विकास, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योगलगायत अनेक हिसाबले जोड्न सकिने भएकाले खेलकुद विश्वविद्यालय खोल्न आवश्यक रहेकोमा जोड दिए ।

नेपालमा तत्काल खेलकुद विश्वविद्यालय खोलि हरेक प्रदेशमा एक/एक वटा क्याम्पसबाट अध्यापन शुरु गरी थप विस्तारित गर्नुपर्ने उनको भनाइ थियो । खेलकुद क्षेत्र र खेलाडीलाई नेपालमा सत्ता र राजनीतिक दलले आफ्नो स्वार्थ पूरा गराउने काममा लगाएको र खेल्ने भनेको कुरा अध्ययनसँग सम्बन्धि नभएको भन्ने मानक स्थापित गराउन खोजिएको भन्दै खेलकुदलाई प्रज्ञासँग जोडेर यो क्षेत्रमा धेरैभन्दा धेरै अनुसन्धान गर्न जरुरी रहेको उनले बताए ।

कोरीयामा खेलकुदमै विद्यावारिधी गरी अहिले अध्यापन गराइरहेका डा. सिद्धार्थविक्रम पाण्डेले नेपालमा खेलकुद विश्वविद्यालय खोल्नुपर्छ कि पर्दैन भनेर अनुसन्धान गर्न वा सोधखोज गर्न नै जरुरी नरहेको तर विश्वविद्यालय खोल्नुअघि त्यसको लक्ष्य, दृष्टिकोण र उद्धेश्य भने स्पष्ट हुनुपर्नेमा जोड दिए । विश्वमा धेरै देशले खेलकुदलाई आफ्नो तरिकाले विकाश गरिरहेको र यसका लागि धेरै रकम पनि लगानी गरिरहेको उदाहरण दिँदै उनले खेललाई स्वास्थ्य, पर्यटनका, पदक, अन्तराष्ट्रिय उपस्थिती, आर्थिक विकाश, औद्योगिकरण वा केका लागि विकास गर्न चाहिरहेका छौँ त्यसै अनुसारको पुर्वाधार, पाठ्यक्रम, लगानी, जस्ता कुरामा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

सिनासका कार्यकारी निर्देशक प्रा. मृगेन्द्रबहादुर कार्कीले युवा तथा खेलकुद मन्त्रालयसँग मिलेर यसबारेमा सिनासले अध्ययन तथा अनुसन्धान गरिरहेको र अनुसन्धानको निष्कर्षका आधारमा थप निर्णय गर्न सरकारलाई सहज हुने धारणा राखे । सिनासले भावना वा आग्रह पुर्वाग्रहभन्दा माथि उठेर विस्तृत अध्ययन गरी त्यसकै आधारमा रिपोर्ट पेश गर्ने उनले बताए । सह प्राध्यापक तथा अनुसन्धानका टिम लिडर रत्नमणी नेपालले खेलकुद विश्वविद्यालयको आवश्यकता, सम्भावना, औचित्य आदि विषयमा प्रश्नावली, अन्तर्वार्ता , विश्लेषण र विवेचना तथा छलफल मार्फत निष्कर्षमा पुग्ने गरी विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *