अनन्त क्लब इस्ट बंगालमा अनुबन्धित

काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ भारतको प्रतिष्ठित फुटबल प्रतियोगिता इन्डियन सुपर लिग (आइएसएल) का लागि अनुबन्धित भएका छन् । अनन्तले जारी सिजनका लागि इस्ट बंगालसँग सम्झौता गरेका हुन् ।

यद्यपि जारी सिजनका अब चार खेलमात्र बाँकी रहँदा अनन्त अनुबन्धित भएका हुन् । आइएसएलमा अनुबन्धन हुने उनी पहिलो नेपाली खेलाडी समेत हुन् । इस्ट बंगाल अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । अब मुख्य प्रशिक्षक मारियो रिभेराका लागि अनन्त डिफेन्समा महत्त्वपूर्ण विकल्पका रूपमा रहने छन् ।

नेपाली ए डिभिजन क्लब रुस्लान थ्री स्टारमा अनन्त अनुबन्धित रहेका थिए । थ्री स्टारले उनलाई विदेशी क्लबमा खेल्ने भएपछि रिलिज गरेको छ । जसका कारण उनी फ्रि ट्रान्सफरमानै इस्ट बंगालमा आबद्ध हुने छन् ।

राष्ट्रिय टीमबाट ४३ खेलमा उनले २ गोल गरेका अनन्तले यसअघि २०१७-१८ मा स्पेनको मार्बेला युनाइटेडमा प्रशिक्षण गरेका थिए । उनी सन् २०१६ को बंगबन्धु गोल्डकप, १२ औँ दक्षिण एसियाली खेलकुद र सोलिडारिटी कपको उपाधि जित्दा टोलीका महत्त्वपूर्ण सदस्य थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 7 =