बर्नलीसँग युनाईटेड रोकिँदा वेस्टह्याम चौथो स्थानमा

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा मंगलबार भएका खेलमा म्यानचेस्टर युनाईटेड लिग अंक तालिकाको पुछारमा रहेको बर्नलीसँग १९१ गोलको बराबरीमा रोकिँदा वेस्टह्यामले भने वार्टफोर्डलाई १-० ले पराजित गरेको छ।
त्यस्तै रेलिगेशन जोनमा रहेको न्युक्यासलले एभर्टनलाई पराजित गर्दै रेलिगेशन जोन छाडेको छ। म्यानयूको बराबरीको फाइदा भने वेस्टह्याम युनाईटेडले लिएको छ। वेस्टह्यमले वार्टफोर्डलाई १-० ले पराजित गर्दै चौथो स्थानमा उक्लियो। बराबरीले युनाइटेड भने पाँचौँ स्थानमा धकेलियो।
रेलिगेशन जोनमा संघर्षरत बर्नलीलाई भने जे रोड्रिगेजले महत्त्वपूर्ण एक अंक दिलाएका थिए। खेलमा अग्रता भने म्यानचेस्टर युनाईटेडले लिएको थियो। पाउल पोग्बाले सिजनको पहिलो गोलमा युनाईटेडले १८ औँ मिनेटमा अग्रता लियो। तर दोस्रो हाफको सुरुवातमा नै बर्नलीले बराबरी गोल फर्कायो। रोड्रिगेजले वेगजर्स्टको पासलाई सदुपयोग गर्दै ४७ औ मिनेटमा खेल बराबरीमा ल्याए।त्यसपछि दुवै तर्फबाट थप गोल हुन सकेन।
मंगलबार राति नै भएको अर्को खेलमा वेस्ट ह्यामले वार्टफोर्डलाई १-० ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक हासिल गर्यो। वेस्टह्यामको जितमा जरोड बोउनले गरेको एकमात्र गोल निर्णायक बन्यो।
पहिलो हाफमा गोलरहित बराबरी सकिएको खेलमा वेस्टह्यामले ६८ औँ मिनेटमा बोउनको गोलमार्फत अग्रता लिएको थियो। उक्त अग्रतालाई कायम राख्दा वेस्टह्यामले शीर्ष चारमा उक्लिन सफल भयो।
मंगलबार नै भएको अर्को खेलमा फ्र्न्याक लाम्पार्डको एभर्टन भने न्युक्यासल युनाईटेडसँग ३-१ ले पराजित हुन पुग्यो। पछिल्लो समय राम्रो लयमा देखिएको न्युक्यासलविरुद्व खेलमा एभर्टनले लेससेल्सको आत्मघाती गोलमार्फत ३६ औँ मिनेटमा अग्रता लियो। तर एक मिनेट नबित्दै न्युक्यासले पनि मसन होलगेटको आत्मघाती गोलमार्फत खेललाई बराबरीमा ल्यायो। पहिलो हाफ बराबरी भएको खेलमा न्युक्यासलले दोस्रो हाफमा थप दुई गोल गरेको थियो।
टीमलाई अग्रता दिलाउने क्रममा न्युक्यासलका लागि र्यान फ्रेसरले ५६ औँ मिनेटमा खेलमा टीमलाइ अग्रता दिलाए। उसका लागि तेस्रो गोल भने ८० औ मिनेटमा केइरन ट्रिपियरले २५ यार्डबाट आकर्षक फ्रिकिक गर्दै गोल गरेका थिए।
जितपछि वेस्टह्यामको २४ खेलमा ४० अंक भएको छ। युनाईटेड ३९ अंकका साथ पाँचौँ स्थानमा रहँदा लिगमा म्यानचेस्टर सिटी ५७ अंकका साथ शीर्ष स्थानमा छ। त्यस्तै लिभरपुल ४८ अंकका साथ दोस्रो र चेल्सी ४७ अंकका साथ तेस्रो स्थानमा रहेका छन्।
त्यस्तै आफ्नो राम्रो लयमा रहेको न्युक्यासलले जितसँगै अन्तिम तीन स्थान छाड्दै १७ औँ स्थानमा उक्लिएको छ। उसको २२ खेलबाट १८ अंक भएको छ। पराजित एभर्टन १९ अंकका साथ १६ औ स्थानमा छ।








