इजिप्टलाई पराजित गर्दै सेनेगल पहिलो पटक च्याम्पियन

काठमाडौँ । अफ्रिकन कप अफ नेशन्न्समा सेनेगल पहिलो पटक च्याम्पियन बनेको छ । आइतबार राति भएको फाइनलमा सेनेगलले इजिप्टलाई पेनाल्टी सुटआउटमा ४-२ पराजित गर्दै ६० वर्षे प्रतीक्षाको अन्त गरेको हो ।

सेनेगलको जितमा साडियो मानेले निर्णायक पेनाल्टी प्रहार गर्दै टीमको जित निश्चित गरेका थिए । त्यसअघि निर्धारित समयको सुरुवातमानै सेनेगल पेनाल्टीमा गोल गर्न चुकेको थियो । सातौँ मिनेटमा नै सालिओउ सिसलाई पेनाल्टी बक्समा मोहम्मेद एब्डेलमोनेमले फल गरेपछि रेफ्रीले सेनेगललाई पेनाल्टीको अवसर दिएका थिए । मानेले गरेको पेनाल्टी प्रहारलाई इजिप्टका गोलरक्षक गाबास्कीले बचाउँदै टीमको सुरुवाती संकट टारेका थिए ।

त्यसपछि पनि प्रतिस्पर्धात्मक भएको खेलमा दुवै टोलीले निर्धारित तथा अतिरिक्त समयमा गोल गर्न सकेनन् । पेनाल्टी सुटआउटमा भने सेनेगल भाग्यमानी रह्यो । उसका कालिडोउ काउलीवेली, एब्डोउ डियालो, एहमाडोउ बाम्वा र साडियो मानेले गोल गरेका थिए । इजिप्टका जिजो र मारवान हान्डीले गोल गरेपनि अन्य खेलाडी भने असफल रहे ।

अफ्रिकन कपमा सेनेगल तेस्रोपटक फाइनलमा पुग्दै पहिलो उपाधि जित्यो । सन् २००२ मा क्यामरुनसँग पेनाल्टी सुटआउटमा ३-२ ले पराजित भएको सेनेगल २०१९ मा पनि अल्जेरियासँग १-० ले स्तब्ध भएको थियो । तर यो पटक भने उसले जित आत्मासाथ गर्‍यो ।

सेनेगलसँगको हारसँगै इजिप्टको भने रवाफिलो इतिहासमा ब्रेक लागेको छ । आठौंपटक च्याम्पियन बन्ने सपना बोकेको इजिप्ट १० पटक फाइनलमा पुगेर ७ पटक च्याम्पियन बनिसकेको छ । पछिल्लो पटक २०१० मा इजिप्ट च्याम्पियन बनेको थियो ।

सेनेगल प्रशिक्षक अलिओउ सिसेले सेनेगलका जन्ताले ६० वर्ष देखिको प्रतीक्षा पूरा भएको बताए । कडा मिहिनेत र लगावले खेलाडीले उपाधि जितेको भन्दै उनले आफू भावविह्वल भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *