मैत्रीपूर्ण खेल ‘खल्लो’ बनेको दिन !

काठमाडौँ । भनिन्छ, फुटबल आवेगभन्दा माथि रहेर खेलिन्छ । धेरै राम्रा खेलाडी पनि मैदानमा ‘इगो’ कन्ट्रोल गर्न नसक्दा करिअर टुंग्याउन बाध्य भएका छन् ।

अझ मैत्रीपूर्ण खेलमा त सम्बन्ध हार्नु र जित्नु भन्दा टिमहरूबीचकाे सम्बन्धलाई महत्वपूर्ण रूपमा लिइन्छ ।

दशरथ रंगशालामा पाहुना टोली मरिसस करिब ६ हजार १ सय १२ किलोमिटर दूरी तय गर्दै फुटबल सम्बन्ध विस्तारका लागि नेपाल उत्रिएको थियो । पहिलोपटक अफ्रिकन टीमलाई स्वागत गर्दै गर्दा नेपाल जस्तो फुटबल विकासमा बामे सर्दै गरेको देशका लागि पक्कै पनि यो ठूलो अवसर थियो ।

करिब साढे दुई वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको मरिसस नियमित अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको दक्षिण एसियाली मुलुक नेपालमा आउँदै गर्दा उसका लागि जित भन्दा महत्वपूर्ण खेलाडी मैदानमा फर्किनुले राख्थ्यो । कुनै टीमविरुद्ध लामो समय पछि मैदानमा उत्रिँदै गर्दा स्वाभाविक रूपमा खेलको लय र आगामी दिनमा टिमप्रतिको समन्वय नै महत्वपूर्ण हुन्थ्यो ।

मैदानमा मरिसस र नेपाली खेलाडीबीच विवाद नहुनु पर्थ्यो तर खेलाडीबीच मैदानमा कहिलेकाहीँ तनाव हुनु सामान्य मानिन्छ । तर, मैत्रीपूर्ण खेलमा नेपाल १० र मरिसस ९ खेलाडीमा सीमित भयो । यसले फुटबल तनावपूर्ण बन्न पुग्याे ।

पहिलो खेलमा नेपालसँग १-० ले पराजित हुँदै गर्दा मरिससले आफ्नो टीमका कमजोरीहरू आत्मसाथ गर्‍यो । उसले कोभिडका कारण राम्रा खेलाडी स्वेदशमा नै छाडेर लामो यात्रामा नेपाल उत्रिँदै गर्दा स्वाभाविक थकान र कोभिडको महामारीलाई बाहिर राखेर आफ्नो फुटबल कल्चरलाई बित्याउन चाहन्थ्यो । पहिलो मैत्रीपूर्णको नतिजाले मरिसस दुखी भएन उत्साही नै रह्यो ।

तर नेपाली टीमको जितको खुसी भने अस्वाभाविक थियो । किनकि अहिलेसम्म साफ च्याम्पियनसिप जित्न नसकेको नेपाल पहिलोपटक मैत्रीपूर्ण खेल खेल्न आएको कुनै नौलो देश विरुद्धको १-० को जित मामुली थियो । कुनै विश्वकप दाबेदार टीमलाई हराएको थिएन । तर, नेपाली टीमको जितको चर्चा साफ जितेभन्दा कम भएन । यद्यपि यसलाई स्वाभाविकै मान्न सकिएला तर मंगलबारको मैत्रीपूर्ण खेलमा ६९ औँ मिनेटमा अञ्जन विष्टमाथि भएको फलपछि नेपाली अफिसियलले जुन व्यवहार देखाए त्यो क्षम्य पक्कै पनि छैन् । राष्ट्रिय टीमको म्यानेजरको जिम्मा पाएका मधुसुदन उपाध्याय र गोलरक्षक प्रशिक्षक विकास मल्लको व्यवहारले जोकोही नेपालीको शिर झुकाएको छ ।

दुई वर्षदेखि राष्ट्रिय टीमको म्यानेजर रहेका उपाध्यायले एउटा मैत्रीपूर्ण खेलमा पाहुना टोलीविरुद्ध मैदानमा नै पुगेर देखाएको हर्कतले उनी म्यानेजरका रूपमा नै रहन लायक छैनन् साथमा नेपाली फुटबलले मरिसससँग माफी माग्नु पर्ने छ । किनकि नेपालको आतिथ्यता स्विकारेर आएको अफ्रिकन टीमको पहिलो अनुभव साँच्चिकै अकल्पनीय रह्यो ।

यसले नेपाली समर्थक र एउटा फुटबललाई माया गर्ने दर्शकले रुचाउने छैनन् । फुटबल त्यसमा पनि मैत्रीपूर्ण खेलमा म्याच रेफ्री नवीन्द्र महर्जनले अफिसियललाई नै रातो कार्ड देखाउनुपर्ने अवस्था पक्कै पनि क्षम्य हैन र छैन् । यद्यपि म्याच कमिसनर उपेन्द्रमान सिंहले यो विषयमा आफ्नो धारणा पक्कै बुझाउलान साथमा रेफ्री महर्जनको पनि लिखित विवरण बुझाउलान् तर जे भयो । यसले नेपाली फुटबल समर्थकको शिर निहुराएको त छैन साथमा मैत्रीपूर्ण खेलको धज्जी उडाएको छ ।

एकापट्टि अफिसियलको खराब व्यवहारले शिर निहुरिएको नेपाल अर्कोतर्फ खराब व्यवस्थापनको सिकार बन्यो । एन्फाले फ्रड लाइटमा खेलाउँदै गर्दा लाइन जाँदा ८ मिनेट खेल रोक्नु परेको थियो । एन्फाले वैकल्पिक व्यवस्था नगर्दा नेपालको खराब व्यवस्थापनको पाटो उदाङ्गो बनेको थियो । फ्रड लाइट मधुरो भएपछि दर्शकले मोबाइल बालेर नेपाली फुटबलको लाज ढकाउन गरेको प्रयास हेर्न लायक थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + seven =