विभेद भएको भन्दै संस्कृत विश्वविद्यालयका विद्यार्थीहरूद्वारा आन्दोलनको तयारी

काठमाडाैँ । नेपाल संस्कृत विश्वविद्यालयमा विद्यावारिधि अध्ययरत विद्यार्थीहरूले विश्वविद्यालय अनुदान आयोग संस्कृत विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरूलाई विभेद गरेको भन्दै तत्काल यसलाई नसच्चाइए आन्दोलनमा जाने बताएका छन् ।

आयोगले आव्हान गरेको छात्रवृत्ति तथा अनुदानका प्रस्ताव लिएर कार्यालयमा पुगेका विद्यार्थीहरूलाई आयोगका कर्मचारीहरूद्वारा नेपाल संस्कृत विश्वविद्यालयबाट आधुनिक विषय (स्नातकोत्तर तहमा ५ वर्ष अध्ययन नभएका) मा अनुसन्धान कार्यमा सहभागी शोधार्थीहरूले विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने विद्वतवृत्ति प्राप्त गर्न नसक्ने र हासिल गरेको विद्यावारिधि पनि मान्य नहुने जस्ता अभिव्यक्तिले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उनीहरूले जनाएका छन् ।

उनीहरूले शिक्षामन्त्री, कुलसचिव, नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङका शिक्षाध्यक्ष, नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङका अनुसन्धान केन्द्र निर्देशक, विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरका अध्यक्षलाई ध्यानाकर्षण पत्रसहित यसको वास्तविकता विद्यार्थीलाई जानकारी दिन माग गरेका छन् ।

उनीहरूले विश्वविद्यालय अनुदान आयोगमा विद्वतवृत्तिका लागि आवेदन दिने व्यवस्था मिलाउन, आयोगद्वारा शोधार्थीलाई प्रदान गरिने विद्वतवृत्ति तथा अन्य छात्रवृत्तिहरूमा विभेदपूर्ण व्यवहार नगर्न र यसरी प्राप्त गर्ने विद्यावारिधि अन्य विश्वविद्यालयद्वारा प्रदान गरिने विद्यावारिधि सरह मान्यता प्रदान गर्ने व्यवस्था सुनिश्चित गर्न माग गरेका छन् ।

विश्वविद्यालय अनुदान आयोगद्वारा पहिलेदेखि प्रदान गर्दै आएको विद्वतवृत्ति अनुदान कार्यक्रम हाल हटाइएको र नेपाल संस्कृत विश्वविद्यालयका आधुनिक विषयका पूर्ववर्ती अध्येताहरूले विद्वतवृत्ति अदालतको आदेशअनुसार न्यायसंगत रूपमा हासिल गरेको परिप्रेक्ष्यमा विश्वविद्यालय अनुदान आयोगको यस अन्यायपूर्ण व्यवहारले मर्माहत बनाएको उल्लेख गर्दै पत्रमा ५ दिनभित्र माग पूरा नभए आन्दोलनमा जान बाध्य हुने र त्यसको जिम्मेवारी आयोग नै हुनपर्ने जनाइएको छ ।

पत्रमा भनिएको छ, ‘०७८/०९/२३ गते विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरद्वारा उच्च शिक्षाको विकास, विस्तार र समग्र गुणस्तर अभिवृद्धि गर्न विद्यार्थीहरूलाई छात्रवृत्ति तथा अनुदानको लागि प्रस्ताव आव्हानसम्बन्धी सूचना प्रकाशन गरेकोमा विश्वविद्यालय अनुदान आयोगमा नेपाल संस्कृत विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका शोधार्थीहरूले आवेदन पेश गर्न जाँदा आयोगका कर्मचारीहरूद्वारा नेपाल संस्कृत विश्वविद्यालयबाट आधुनिक विषय (स्नातकोत्तर तहमा ५ वर्ष अध्ययन नभएका) मा अनुसन्धान कार्यमा सहभागी शोधार्थीहरूले विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने विद्वतवृत्ति प्राप्त गर्न नसक्ने र हासिल गरेको विद्यावारिधि पनि मान्य नहुने जस्ता अभिव्यक्तिहरू आएकाले यसतर्फ ध्यानाकर्षण गराएको शिक्षामन्त्रीलाइ ज्ञापनपत्र बुझाउन पुगेका एक विद्यार्थी लक्ष्मण पन्थीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *