पुनःस्थापित नहुँदा चिसो छल्न जोखिमपूर्ण घरमै फर्किए पहिरोपीडित

घर नरहेकाहरु सडकमा कठ्यांग्रिँदै, सहयोग नपाएको गुनासो

धनगढी । कैलालीको पहाडी क्षेत्र चुरे गाउँपालिकाको वडा नम्बर ५ बेल्चाप्लानस्थित सडकमा लहरै त्रिपाल लगाइएका छन् । झण्डै २४ वटा त्रिपाल सडक छेउमा टाँगिएका छन् । भदौ ९ र १० गते आएको वर्षाका कारण त्यस आसपासका गाउँमा बाढीबाट विस्थापित परिवारहरु आएर यसरी त्रिपाल टाँगेर सडकमा पुगेका हुन् । तर अहिले त्यहाँ टाँगिएका अधिकांश त्रिपाल खाली छन् । त्रिपाल छन्, तर अधिकांश बन्द गरिएको अवस्थामा छन् । कारण हो, वर्षातका बेला पहिरोले गाउँ जोखिममा परेपनि घर बचेकाहरु अहिले चिसो छल्न घर गएर बसहेका छन् । वर्षातको बेला घर जोखिममा परेको भएपनि घर नभत्किएका परिवारहरु अहिले घरमै गएर बसिरहेका हुन् । वर्षातका बेला बाढीपहिरोको जोखिम हुने र फेरि सडकमै आउनुपर्ने भएकाले उनीहरुले सडकमा टाँगेका त्रिपाल नलिकालेका हुन् ।

अहिले चिसो छल्न र बस्न सजिलो होस् भनेर बाढीपहिरोबाट जोखिममा परेको घरमै गएर बस्नुपरेको सोही वडाको गोपालेकी जमुना रानामगरले बताइन् । ‘बचेको जमिनमा बाली लगाउन र चिसोबाट बच्न पहिरोबाट घर बचेकाहरु अहिले गाउँ फर्केका हुन्,’ उनले भनिन्, ‘वर्षातको मौसम लाग्यो भने फेरि सडकमै दौडिनुपर्नेछ । त्यही भएर सडकमा लगाइएको त्रिपाल पनि त्यसै छोडेर आएका छौं ।’ उनले कहिलेकाँही रेखदेखका लागि बेल्चाप्लान पुग्ने गरेको उनले बताइन् ।

उनका अनुसार गोपालेका तीन घर बाढीपहिरोबाट विस्थापित भएर सडकमा पुगेका थिए । अहिले उनीहरु सबै चिसो छल्न घर फर्किएका छन् । ‘गाउँको तल माथिबाट पहिरो गइसकेको छ,’ उनले भनिन्, ‘वर्षातमा जोखिमका कारण यो ठाउँमा बस्न सकिँदैन, चिसो छल्न र बचेको केही जग्गामा बाली लगाउनका लागि मात्रै अहिले यहाँ आएर बसिरहेका छौं ।’ पहिरोबाट विस्थापित भएपनि कुनैपनि निकायले मतलव नगरेपछि न्यानोका लागि चिसो छल्न गाउँकै जोखिमपूर्ण घरमा आउनुपरेको उनले दखेसो पोखिन् ।

यसैगरि पहिरोबाट विस्थापित भएका सोही वडाको काफल गैराका आठ परिवार पनि अहिले घरमै फर्किएका छन् । गाउँमा वरिपरि पहिरो गएपनि सडकको चिसो छल्नका लागि उनीहरु पहिरोको बीचमा रहेको घरमै फर्किएका हुन् । यसरी बेल्चाप्लानस्थित सडकमा पुगेका काफलैरा र गोपालेसहित सल्लेरी, माल,निग्लाडीलगायतका बाढीपीडितहरु अहिले घर फर्किका हुन् । तर बाढीपहिरोले जग्गाजमिनसहित घरबार नै नबचेका केही परिवार भने अहिले पनि सडकमै छन् ।

सरकारले पुनःस्थापनका लागि अर्को व्यवस्था नगरिदिएपछि सोही वडाको सल्लेरीका पाँच परिवार त्रिपाल तथा छाप्रो हालेर सडक किनारमै बसिरहेका छन् । त्यसमध्ये दुई परिवार भने बस्ने अर्को व्यवस्थाका लागि ठाउँ खोज्दै तराईको जंगलमा पुगिसकेका छन् । तीन परिवार अझै सडकमा छन् । जुन अघिल्लो वर्षकै वर्षातको बेला पहिरोले विस्थापित भएर सडकमा पुगेका थिए । ‘अघिल्लो वर्ष नै विस्थापित भएका भएपनि सरकारले बस्ने अर्को विकल्प दिएन,’ अहिले सडकमै बसिहरेका स्थानीय देबहादुर रोकामगरले भने, ‘घर बचेकाहरु घर फर्किए हाम्रो अन्त जाने बाटो नै छैन ।’ उनले तराईतिरको जंगलमा जग्गा पाइन्छ भनेर त्यहाँसम्म पुगेपनि नभेटाएपछि पुनः सोही ठाउँमा फर्किएको बताए । उनले आफूहरु चार दाजु भाईका सबै घर पहिरोले लिएपछि सडकमा पुगेको बताए ।

‘सरकारले न पुनःस्थापनका लागि विकल्प ल्यायो न काम गरिखाने बाटो दियो,’ सोही ठाउँका गोपाल रोकामगरले भने, ‘यही सडक किनारमा त्रिपालमुनि बस्नुको विकल्प रहेन । सडक खन्नेलगायतका काम गरेर परिवार पालिरहेका छौं ।’ उनका अनुसार चिसोबाट बच्नका लागि उनीहरु कसैले पनि सहयोग पाएका छैनन् । चिसोकै कारण घर बचेकाहरु घर गाउँ फर्किए पनि आफूहरु भने सडकमै कठ्यांग्रिँदै बस्नुपरेको उनीहरुको दुखेसो छ ।

चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगरले कोरोना संक्रमणका कारण केही दिनदेखि कार्यालयनै बन्द भएपछि बाढीपीडितलाई न्यायो कपडा बाँड्न नपाएको बताए । ‘त्यहाँ भएकाहरु गाउँ फर्किए, भएकाहरुलाई पनि बाँड्ने भनेर कम्बल किनेका छौं,’ उनले भने, ‘आफूसहितलाई कोरोना पुष्टि भएपनि कार्यालय नै बन्द भएपछि बाँड्न पाएका छैनौं । अब बाँड्न पर्ला ।’ उनका अनुसार अहिले बेल्चाप्लानमा बसेकासहित अन्य ठाउँमा बसिरहका गरेर गाउँपालिकामा साढे ३ सय बाढीपीडित छन् । उनीहरुका कसैका लागि पनि पुनःस्थापनाको अर्को विकल्प खडा भएको छैन । गाउँपालिकाकामा अन्यत्र ठाउँ नहुँदा कहाँ लिएर राख्ने भन्ने कुनै टुंगो लाग्न नसकेको अध्यक्ष रोकामगरले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *