फुटबलर खड्कामाथिको आरोप पुष्टि भए ६ वर्ष जेल !

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा प्रशिक्षक हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । नक्कली प्रमाणपत्र पेस गरी प्रहरीमा जागिर खाएको भन्दै पूर्वकप्तान खड्काविरुद्ध आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पूर्वकप्तान खड्काले माध्यमिक शिक्षा परिषद्, वाराणसीबाट जारी भएको प्रवीणता प्रमाणपत्र तह (आईए)को नक्कली प्रमाण-पत्र पेस गरेर २०५५ कात्तिक १ मा प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएको अख्तियारले दाबी गरेको छ ।

पूर्व कप्तान खड्काविरुद्ध साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम दण्ड सजायको माग दाबी लिई मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

अख्तियारले दण्ड सजाय माग दाबी गरेको कसुर पुष्टि भएमा खड्कालाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ अनुसार कसूरको मात्रा अनुसार २ वर्षदेखि ६ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुन सक्ने छ।

‘राष्ट्रसेवकको ओहदाको निमित्त योग्यता, नाम इत्यादि ढाँट्ने व्यक्तिलाई दण्ड सजायस् कुनै व्यक्तिले राष्ट्रसेवकको ओहदा पाउने वा सो ओहदामा बहाल रहने उद्देश्यले प्रशासन सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०३९ द्वारा थप । शिक्षा सम्बन्धी कुनै योग्यता, नाम, तीनपुस्ते, उमेर, जात थर, वतन, नागरिकता वा अयोग्यता ढाँटेमा निजलाई कसूरको मात्रा अनुसार २ वर्षदेखि ६ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुनेछ।’, साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ मा उल्लेख छ ।

यस्तै, साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २९ अनुसारको कसुर पुष्टि भए उनलाई रु ५००० जरिवाना हुन सक्नेछ ।

यस्तै अख्तियारको दाबी अनुसार प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) को दाबी पुष्टि भएको खण्डमा उनलाई ६ महिनादेखि एक वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि बीस हजार रुपैयाँसम्म जरिबाना हुन सक्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *