मन्त्रीको आपत्तिजनक अभिव्यक्तिमा सरकार किन मौन ?

काठमाडौँ । भौतिक पूर्वाधारमन्त्री रेणु यादवले सार्वजनिक कार्यक्रममा आपत्तिजनक अभिव्यक्ति दिएको विषयमा सरकार अझै बोलेको छैन । मन्त्री यादवले गत बुधबार रौतहटको गौरमा आयाेजित ‘बलिदानी दिवस’काे कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग चिढ्याउँदै भनिन्— ‘गौर नरसंहारको इतिहास राइस मिल जीवित छ । गौरमा फँणा देखाउने प्रयास गानगर । लाठी भाँच्न गौरका मानिसले जानेका छन्, तुफानसँग टक्कर गर्ने प्रयास नगर । तुफानसँग टक्कर लिने प्रयास गरेमा त्यही हुन्छ, जुन गौरको राइस मिलमा भएको थियो । त्यो इतिहासलाई राउतले नभूलून् । नत्र तपाईंको कार्यकर्ता मारिन्छन् र तपाईंलाई पनि घेराबन्दी गरेर मारिदिन्छन् । होस गर्नुस्, हत्या हुनसक्छ ।’

मन्त्रीजस्ताे माथिल्लाे सार्वजनिक पदधारण गरेकाे व्यक्तिले गरेकाे आपत्तिजनक अभिव्यक्तिबारे सरकार भने माैन नै छ । प्रधान मन्त्री माैन छन्, सत्तारुढ गठबन्धनका दलका नेताहरू बाेलेका छैनन् । मन्त्री यादवकाे पार्टी जनता समाजवादी पार्टीले विज्ञप्ति त निकाल्याे तर, रेणुकै वकालत गर्दै । मन्त्री यादवकाे चारैतिर आलाेचना शुरू भएकाे छ ।

जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारी मन्त्री यादवलाई सरकारबाट फिर्ता नबाेलाउने बताउँछन् । अधिकारीले मकालुखबरसँग भने— ‘मन्त्रीजीलाई फिर्ता बाेलाउँदैन पार्टीले ।’ पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधान मन्त्री डा. बाबुराम भट्टराईले गौर घटनालाई आदर्श मान्न नहुने बताएका छन् । ‘जानेर र नजानेर कसैले पनि त्रासदीपूर्ण गौर नरसंहारको आदर्शीकरण नगराैँ । मधेसीका विरूद्ध मधेसी लडाउने र माओवादी जनयुद्ध र मधेस जनविद्रोहलाई एकअर्काका पूरक बनाउनु सट्टा एकअर्का विरूद्ध भड्काएर क्रान्तिकारी शक्ति कमजोर पार्ने सो अप्रिय अध्यायको अन्त्य हुनैपर्छ। जसपालाई त्योसँगै कतै नजाेडाैँ,’ भट्टराईले ट्वीटमार्फत भनेका छन् ।

मान्छे मार्नेसम्मको अभिव्यक्ति दिँदा पनि उनलाई पार्टी र सरकार दुवैले कारबाही गर्न नसकेकोप्रति आलोचना बढ्दै गएको छ । मन्त्री यादव उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) की नेतृ हुन् । उनले तुफानसँग टक्कर लिने प्रयास गरेमा राउतका कार्यकर्ता मारिने र राउतलाई पनि घेराबन्दी गरेर मारिने चेतावनी दिएकी थिइन् ।

सरकार मौन

मन्त्री यादवले सार्वजनिक कार्यक्रममा नै जनमत पार्टीका अध्यक्ष राउत र कार्यकर्तामाथि हिंसात्मक धम्की दिएको भिडिओ सार्वजनिक भएपनि सरकार मौनप्राय: छ । मन्त्री यादवलाई कारबाही त टाढाको कुरा उनलाई स्पष्टीकरणसमेत सोधिएकाे छैन । मन्त्री यादवको चौतर्फी आलोचना, विरोध हुँदा पनि सरकारले स्पष्टीकरण पनि नसाेध्नु आपत्तिजनक भएको भन्दै विरोध भइरहेको छ ।

बर्खास्त गर्न दबाब बढ्दो

हिंसाको पक्षमा अभिव्यक्ति दिएकी मन्त्री यादवलाई पदबाट बर्खास्त गर्नुपर्ने भन्दै दबाब बढेको छ । सामाजिक सञ्जालमा विभिन्न क्षेत्रका नागरिकले प्रधान मन्त्रीले तत्काल मन्त्री यादवलाई बर्खास्त गर्नुपर्ने माग गरेका छन् । विभिन्न सञ्चारमाध्यमले पनि सम्पादकीयमार्फत उनलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन् ।

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मन्त्री यादवका सन्दर्भमा तीन विकल्पहरू दिएका छन् । महामन्त्री शर्माले मन्त्री यादवले कि आत्मालोचना गर्दै क्षमायाचना वा पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । नत्र उनलाई स्पष्टीकरण सोधेर बर्खास्त गर्नुपर्ने शर्माको सुझाव छ । तर उनकै दलका नेता तथा प्रधान मन्त्री देउवाले यसबारे कुनै कदम चालेका छैनन् ।

प्रमुख प्रतिपक्ष दल एमालेका नेताहरूले मन्त्री यादवलाई पदबाट बर्खास्त गर्नुपर्ने बताएका छन् । एमाले सचिव योगेशकुमार भट्टराईले भनेका छन्— ‘प्रधान मन्त्री शेरबहादुर देउवाले हिंसा भड्काउने र संविधानमा बर्खिलाप भाषण दिने मन्त्री रेणु यादवलाई हाटाउनुपर्‍याे या नेपाली कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नुपर्‍याे । अर्को बाटो छैन ।’

मानव अधिकार तथा शान्ति समाजले पनि मन्त्री यादवलाई पदबाट राजीनामा दिन आग्रह गरेकाे छ । वक्तव्य नै जारी गर्दै समाजले मन्त्री यादवलाई यस्ताे आग्रह गरेकाे हाे । ‘मन्त्री पदको अभिव्यक्ति गरिमा र लोकतान्त्रिक मर्यादाविपरीत छ,’ समाजले भनेका छ, ‘उहाँलाई पदबाट बर्खास्त गरियाेस् ।’

त्यसाे त यसअघि बंगलादेशमा एमबीबीएस पढ्न जाने छात्राका बारेमा आपत्तिजनक अभिव्यक्ति दिएपछि तत्कालीन कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई राजीनामा गराइएकाे थियाे ।

यस्तै बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले तत्कालीन प्रधान मन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिबारे चौतर्फी आलाेचना भयाे, यसपछि कांग्रेसले उनलाई आत्मआलोचना गर्न निर्देशन दिएको थियो । उनले आत्मआलोचना गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *