एमसीसीबारे छलफल गर्न झलनाथकाे नेतृत्वमा कार्यदल गठन

काठमाडौँ । सत्तारूढ गठबन्धनले अमेरिकन सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोसन (एमसीसी)मा छलफल गर्न कार्यदल बनाएकाे छ ।

गठबन्धनले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हाे ।

एमसीसी संघीय संसदबाट अनुमोदन गराउने विषयमा दलहरूबीच मत मतान्तर देखिएपछि गठबन्धनले कार्यदल बनाएकाे हाे । कार्यदलमा खनालसँगै नारायणकाजी श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् । कार्की एमसीसी सम्झौतामा हस्ताक्षर गर्ने तत्कालीन अर्थमन्त्री हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले एमसीसी सम्झौता गरेको भए पनि सदनबाट अनुमोदन गराउन नसक्दा लागू हुन सकेकाे छैन ।

अमेरिकाले एमसीसी सदनबाट अनुमोदन गराउन दबाब दिँदै आएको छ । तर, सत्तारुढ दलभित्र एमसीसीबारे फरकफरक विचार आइरहेकाले संघीय संसदमा दर्ता भए पनि टेबुल हुन सकेको छैन ।

सरकार नेतृत्वकर्ता दल कांग्रेस र जनता समाजवादी पार्टी नेपाल एमसीसी सदनबाट अनुमोदन गराउन तयार छ । माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) संशोधनपश्चात मात्रै एमसीसी पारित गर्नुपर्ने पक्षमा छ ।

त्यस्तै, सत्तारूढ गठबन्धनकाे अर्काे दल राष्ट्रिय जनमोर्चा एमसीसी पारित गराउन नहुने अडानमा छ । प्रमुख प्रतिपक्षी दल एमाले भने एमसीसी पारित गराउनुपर्ने पक्षमा देखिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *