पुलिसलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको सेमिफाइनलमा

काठमाडौँ । मनाङ मर्स्याङदी क्लब आहा रारा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको क्वाटरफाइनलमा नेपाल पुलिसलाई २-० ले पराजित गर्दै मनाङ अन्तिम चारमा प्रवेश गरेको हो ।

मनाङ र पुलिसबीचको पहिलो हाफ निराश भएपनि दोस्रो हाफमा भने दुबै टीमले गोलका केही राम्रा अवसर सिर्जना गरेका थिए । ६४ औं मिनेटमा पुलिसका डिफेन्डर अजित भण्डारीले गरेको गम्भिर गल्तीको फाइदा उठाउँदै रुपेश केसीले मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए । भण्डारीलाई दिएको ब्याग पासमा उनले बललाई सहज क्लियर गर्न नसकेपछि रुपेशले बललाई नियन्त्रणमा लिंदै मनाङलाई अग्रता दिलाए।

मनाङका लागि दोस्रो गोल भने ओलावाले आफिजको नाममा रह्यो । आफिजले दुई डिफेन्डरलाई बिट गर्दै ८८ औं मिनेटमा आफिजले सानदार गोल गरेका थिए । इन्जुरी समयमा पनि आफिजले गोलको राम्रो अवसर चुकाएका थिए । आफिज म्यान अफ दि म्याचसमेत घोषित भए ।

अब मनाङले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ । आहा रारा गोल्डकपमा मनाङ र पुलिस सर्वाधिक सफल टिम हुन् । जहाँ मनाङ अब पुलिस भन्दा अघि निस्किने प्रयासमा हुनेछ । यस अघि एपीएफ बीवाईएससी मिनेसोटा युएसएलाई ३-१ गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगिसकेको छ ।

प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाका विजेतालाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *