कोरोना संक्रमण नियन्त्रण

जोर बिजोर प्रणाली सास्ती मात्रै कि सहयोगी पनि ?

काठमाडौँ । पछिल्लो समय कोरोना संक्रमण बढ्दो छ । परीक्षण गरिएकामध्ये आधाजसोमा कोरोना संक्रमण पुष्टि हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा दैनिक १० हजारभन्दा धेरै संक्रमण थपिने गरेकोमा त्यसको आधाभन्दा धेरै काठमाडौँ उपत्यकाका रहेको पनि मन्त्रालयले सार्वजनिक गर्ने तथ्यांकबाट थाहा हुन्छ । संक्रमण कम गर्न सरकारले विभिन्न निर्णय र नियम लागू गरिरहेको छ ।

काठमाडौँ उपत्यकामा बढ्दै गएको संक्रमण दर कम गर्न भन्दै सार्वजनिक र निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । शुक्रबार रातीदेखि शुरु हुने यो नियम अनुसार जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरमा गाडी तथा मोटरसाइकल मात्र चलाउन पाइनेछ ।

उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले बिहीबार यस्तो निर्णय गरेको हो । तर यो नियमले संक्रमण घट्न सघाउँछ कि नागरिकलाई सास्ती मात्र थप्छ भन्ने प्रश्न उठेको छ । जोरबिजोर प्रणाली लागू भएपछि सडकमा सवारी साधन कम हुने भएकाले मानिसको आवतजावत पनि केही कम हुने अनुमान गर्न सकिन्छ । तर, सरकारी तथा निजी कार्यालय, कल कारखाना, बजारलगायत खुला रहेकाले यी क्षेत्रका कर्मचारी, कामदार तथा सेवाग्राही काममा निस्कनै पर्ने बाध्यता हुन्छ । नजिकै घर वा कोठा भएका केही कर्मचारी वा सेवाग्राही पैदलै हिँडेर जाने भए पनि धेरैजसोलाई त्यो सम्भव हुँदैन ।

उनीहरू सार्वजनिक गाडीमा चढ्नुपर्छ। यसले गर्दा सार्वजनिक गाडीमा यात्रुको चाप बढ्छ । यसै पनि खाँदाखाँद गरेर चढ्नुपर्ने अवस्थामा सवारी साधन कम भएपछि यात्रुको चाप झनै बढ्न पुग्छ । यसले गर्दा कोरोना संक्रमण कम हुने नभएर झन् बढ्न सक्ने खतरा रहन्छ ।

साधन हुनेले पनि कि बिजोर कि जोर गते मात्र चलाउन पाउने भएकाले सार्वजनिक सवारीमा यात्रुको चाप बढ्छ । जसले गर्दा कोरोना संक्रमणको डर घट्नुको साटो बढ्ने यातायात व्यवसायीको दाबी छ । सिटभन्दा बढी यात्रु राख्न नपाइने नियम भए पनि जोर बिजोर प्रणाली लागू भएपछि गाडी कम भएपछि स्वतः यात्रु बढ्ने व्यवसायीको भनाइ छ ।

ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासका अनुसार सामान्य अवस्थामा काठमाडौँ उपत्यकामा झण्डै ११ देखि १२ लाखसम्म सवारी साधन चल्ने गरेका छन् । यद्यपि कोरोना महामारीको प्रकोप फेरि बढेसँगै सडकमा सवारीको संख्या केही दिनदेखि घटेको प्रवक्ता शर्मा दासले बताए ।

हाल दैनिक ४ देखि ५ लाखसम्म दैनिक सवारी चलिरहेकोमा जोर बिजोर प्रणाली लागू हुँदा ५० प्रतिशत सवारी सडकबाट घट्ने उनले जनाए । यसो हुँदा जोर बिजोर प्रणालीमा पनि २ देखि तीन लाख चलिरहने प्रवक्ता शर्मा दासको अनुमान छ । यात्रु संख्या भने यकिन गर्न नसकिने उनले बताए । ‘सडकमा सवारी चले पनि कुनै खाली हिँडिरहेका हुन्छन्, कुनै यात्रु बोकेर । त्यसो हुँदा यात्रुहरूको आँकलन गर्न सकिँदैन ।’, उनले भने

सवारीसाधनमा जोर बिजोर प्रणालीले मात्रै भिड कम हुने र कोरोना संक्रमण घट्ने कुरा वैज्ञानिक नभएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । उनी भन्छन्, ‘सवारीमा जोर बिजोर प्रणाली मात्र लागू गर्दा झन् भिड बढ्न सक्ने सम्भावना देखिन्छ, यसले संक्रमण घट्दैन । तर कार्यालयहरुमा समेत आलोपालो प्रणाली अपनाउने हो भने भिड कम हुने सम्भावना हुन्छ । यसो गर्न सकियो भने बरु राम्रो हुन्छ ।’ अत्यावश्यक बाहेकका सेवामा सबैले एकै दिन कार्यालय आउनु नपर्ने नियम केही समयलाई लागू गर्न सके भिड कम हुने उनको भनाइ छ ।

तर, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी सिडिओ रुद्रादेवी शर्मा सवारी साधनको जोर बिजोर प्रणालीसहितको निर्णय कोरोनाको संक्रमण दर घट्ने दाबी गर्छिन् । प्रशासनले जोर बिजोर प्रणाली मात्रै लागू नगरी भिडभाड हुने क्षेत्रमा थप कडाइ समेत गरेको भन्दै मकालुखबरसँग सिडिओ शर्माले भनिन्, ‘प्रशासनले चाहिने कुरामा आदेश जारी गर्छ, अहिले कोरोना संक्रमण नियन्त्रण गर्नु हामी सबैको दायित्व हो । कोरोना संक्रमण रोक्न यी सबै जरुरी निर्णय हुन् । हामीले जोर बिजोरका साथै भिडभाडजन्य थुप्रै गतिविधिमा कडाइ गरेका छौँ, स्वास्थ्य प्रोटोकल पूर्ण पालना गर्दै सर्वसाधारण नागरिक पनि पनि सचेत भइदिनुपर्‍यो ।’

उनले सकेसम्म अनलाइन प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताइन् । केही अन्योल रहेको विषयमा थप स्पष्ट आदेश जारी गर्न लागिएको बताउँदै सिडिओ शर्माले अत्यावश्यक सेवामा भने जोर बिजोर प्रणाली लागू नहुने जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *